२०८१ बैशाख १७ सोमबार

रास्वपाले रमेश खरेललाई उपचुनावमा उम्मेदवार बनाउने

काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पूर्व डीआईजी समेत रहेका सुशासन पार्टीका अध्यक्ष रमेश खरेललाई उपचुनावमा उम्मेदवार बनाउने भएको छ । वैशाख १० गते हुने उपनिर्वाचनमा रास्वपाले खरेललाई बारा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीले प्रकाशित गरेको प्रारम्भिक उम्मेदवारको सूचीअनुसार बारा २ मा रमेश खरेल र युवराज न्यौपानेको नाम उल्लेख छ ।

खरेल यसअघि गएको मङ्सिर ४ गते भएको चुनावमा काठमाडौं क्षेत्र नम्बर १ बाट पराजित भएका थिए । तनहुँ १ मा रास्वपाले बिहीबार मात्रै कांग्रेस छाडेका डा। स्वर्णिम वाग्ले र ईश्वर लामिछानेको नाम सार्वजनिक गरेको छ । तर त्यहाँ वाग्लेले टिकट पाउने निश्चित छ । उता चितवन २ मा सभापति रवि लामिछानेको नाम मात्रै रास्वपाले सार्वजनिक गरेको छ । चितवन २ मा सभापति लामिछानेको मात्रै नाम सार्वजनिक भएपछि अब उनै उठ्ने छन् ।

बैशाख १० गते चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन हुँदैछ । यसैबीच पार्टीका सभापति रवि लामिछानले उपनिर्वाचन हुने तीन वटै क्षेत्रमा आफ्ना उम्मेदवार विजयी हुने दाबी गरेका छन् । सामाजिक सञ्जालमा उनले अब स्वर्णिम दिनहरू आउने र देश आफ्नो पुस्ताले हाँक्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले एकको बदला तीन सांसद लिएर संसद छिर्ने सपना रहेको बताएका हुन् । नागरिकता सम्बन्धी मुद्दा हारेपछि चितवन २ बाट निर्वाचित रविको सांसदसँगै उपप्रधान तथा गृहमन्त्रीको पद गुमेको थियो । उनी चितवनबाट फेरि उम्मेदवार बन्दैछन् ।

२०७९ चैत्र १७, शुक्रबार प्रकाशित 1 Minute 169 Views

ताजा समाचार