२०८१ बैशाख १६ आईतवार

कांग्रेसमा मन्त्रीका आकांक्षी नै आकांक्षी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहँदा कांग्रेसमा भने मन्त्रीका आकांक्षीको लर्को छ । राष्ट्रपति निर्वाचनसँगै कांग्रेस सत्ता गठबन्धनमा फर्किएपछि धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा मन्त्री बन्न चाहनेको दिनहुँ घुइँचो लागिरहेको छ । सांसदहरू आफैं मन्त्री बन्न सभापति देउवालाई भेटिरहेका छन् भने कतिपयले आफूलाई मन्त्री बनाउन आग्रह गर्दै कार्यकर्ताको लावालस्कर लगाएका छन् ।

केही सातायता सभापति देउवा, नेता शेखर कोइराला, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापालगायत नेताको निवासमा कार्यकर्ताको भीड छ । गठबन्धनमा मन्त्रालय बाँडफाँटको टुंगो नलाग्दा कांग्रेसमा क–कसलाई मन्त्री बनाउने भन्नेबारे छलफल भएको छैन । तर, आकांक्षीले आफ्नो पक्षमा दबाब बनाउन नेताको घरदैलो गरिरहेका छन् ।

उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनमा मन्त्रालयको बाँडफाँट टुंगिएपछि मात्रै पार्टीमा छलफल हुने बताए । ‘अहिले गठबन्धनमा छलफल भइरहेको छ, हामी निरन्तर छलफलमै छौँ,’ उनले भने, ‘गठबन्धनमा कुन-कुन मन्त्रालय पाउने भन्ने सहमति भएपछि पार्टीमा सल्लाह गरेर सभापतिजीले नाम दिनुहुन्छ ।’ गठबन्धनमा कांग्रेसले गृह वा अर्थसहित १० मन्त्रालय दाबी गरेको छ । तर, प्रधानमन्त्री दाहालले भने ७/८ वटा मन्त्रालयको प्रस्ताव गरेका छन् ।

कांग्रेसबाट मन्त्रीमात्रै होइन, उपप्रधानमन्त्रीकै आकांक्षीसमेत आधा दर्जनभन्दा बढी छन् । जसमा गुमाइसकेको सत्ता फर्काएर ल्याउन भूमिका खेलेका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा स्वाभाविक दाबेदार छन् । दुवैले मन्त्री नबन्ने घोषणा गरेका छन् । तर, पार्टीका तर्फबाट उपप्रधानसहित सरकारमा नेतृत्व गरेर जान पाए दुवै जना सरकारमा तयार छन् ।

त्यस्तै, चाहेजस्तो मन्त्रालय पाएको अवस्थामा नेता शेखर कोइराला, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र प्रकाशमान सिंह पनि कांग्रेसकातर्फबाट नेतृत्व गरेर जान प्रयासरत छन् । तर कांग्रेसकातर्फबाट सरकारमा नेतृत्व गरेर जानेमा उपसभापति खड्का र पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्रबल सम्भावना छ ।

मन्त्री नबन्ने घोषणा गरेका खड्का उपप्रधानमन्त्रीसहित कांग्रेसको नेतृत्व गरेर सरकारमा जान प्रयासरत छन् । उनको नजर भने गृह मन्त्रालयमा छ । मन्त्रालय बाँडफाँटका संवादमा पार्टीकातर्फबाट देउवाको सहयोगीका रुपमा रहेका खड्का यसअघि पनि गृहमन्त्री भइसकेका हुन् । तर, यसपटक पनि खड्का आफैँले सरकारमा जान नचाहेको अवस्थामा बाहेक उनलाई कसैले रोक्ने अवस्था नरहेको नेताहरू बताउँछन् ।

त्यस्तै, पाँच पटक सांसद, पटक–पटक मन्त्री र उपप्रधानमन्त्रीसमेत भइसकेका नेता सिंह फेरि उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गर्न लालायित छन् । गत वर्ष पार्टीको महाधिवेशनमा सभापति देउवाको सहयोगी बनेका उनी अहिले त्यही आडमा देउवासँग बार्गेनिङ गरिरहेका छन् । उनले बिहीबार बिहानमात्रै पनि सभापति देउवालाई भेटेका छन् ।

कांग्रेसबाट सरकारको नेतृत्वमा गर्नेमा खड्का र सिंहपछिमात्रै निधि, कोइराला र थापाको नाम आउने निश्चित छ । निधि पटक–पटक मन्त्री र उपप्रधानमन्त्री भइसकेका नेता हुन् भने कोइरालाद्वय भने अहिलेसम्म मन्त्री बनेका छैनन् । निधि फेरि उपप्रधानमन्त्री बन्न चाहन्छन् । सभापति देउवासँगै विद्रोह गरेर महाधिवेशनमा प्रतिस्पर्धी बनेका निधिलाई देउवाको मन जितेर अवसर मिलाउन त्यति सहज भने छैन ।

चार पटक चुनाव जितेर सांसद बनेका पूर्वमहामन्त्री कोइराला पनि उपप्रधानसहित पार्टीकातर्फबाट सरकारमा नेतृत्व गर्न इच्छुक छन् । उनले यसअघि पनि मन्त्री बन्न इच्छा जाहेर गरेका थिए । तर अहिलेसम्म उनी मन्त्री बनेका छैनन् । अर्का नेता कोइराला भने महाधिवेशनमा देउवाको प्रतिस्पर्धी भएका कारण आफैँले मौका पाउनेमा कम आशावादी छन् ।

यत्तिका वरिष्ठ नेताहरू आफैँ सरकारमा नेतृत्व गर्न चाहिरहेको अवस्थामा महामन्त्री थापाले मौका पाउने स्थिति निकै कमजोर छ । राष्ट्रपति निर्वाचनका बेला भएका संवादमा प्रधानमन्त्री दाहालले नै महामन्त्री थापालाई अर्थमन्त्री बन्न प्रस्ताव गरेका थिए । त्यसयता नयाँ अर्थमन्त्रीमा थापाको चर्चासमेत चल्यो । तर, पार्टीको संसदीय दलको नेतामा सभापति देउवासँग प्रतिस्पर्धा गरेका महामन्त्री थापाले आफू सरकारमा नजाने घोषणा गरेका छन् । थापाको त्यस्तो स्वघोषणामा सभापति देउवाले आफूलाई सरकारमा नेतृत्व गरेर नपठाउने र संसदीय दलको चुनाव लडेका हिसाबले मन्त्रीमात्रै बनेर जान नैतिकरुपमा अफ्ठ्यारो पर्ने बुझाइ मुख्य कारण देखिन्छन् ।

कांग्रेसकातर्फबाट उपप्रधानसहित सरकारमा सहभागी हुन जानेमा उपसभापति खड्का र नेता सिंहको बढी चर्चा छ । ‘पूर्णबहादुरजीले चाहेको अवस्थामा कसैले हुन्न भन्ने अवस्था छैन, उहाँले नचाहेको खण्डमा सभापतिजीले प्रकाशमान वा शेखरलाई अघि सार्ने हुनसक्छ,’ एक पूर्वपदाधिकारीले भने ।

उपप्रधानमन्त्री बन्ने दौडमा रहेका नेताहरू मन्त्रीका आकांक्षी छैनन् । तर यीबाहेक सबै मन्त्री बन्न दौडधुप गरिरहेका छन् । तर, नयाँ र परिणाम दिन सक्ने नेताहरूलाई मन्त्री बनाउन सभापति देउवामाथि दबाब छ । केन्द्रीय कार्यसम्पादन समितिले योगदान र योग्यतालाई प्रमुख आधार बनाई समावेशिता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर मन्त्री चयन गर्ने निर्णय गरिसकेको छ । पार्टीभित्र नेताहरूले क्षमता भएका, युवा र नयाँ अनुहारलाई मौका दिन दबाब बनाइरहेका छन् ।

पटक–पटक अवसर पाएर पनि पार्टी र आफ्नै राजनीतिक करिअरमा समेत प्रभावकारी काम गर्न नसकेकाहरूलाई फेरि मौका दिन नहुने नेताहरूको भनाइ छ ।

केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले योग्यता, क्षमता र समावेशिताका आधारमा मन्त्री चयन गर्नुपर्ने बताए । ‘मैले सभापति र पदाधिकारीहरूलाई भेटेरै मन्त्री छान्दा विशेष मापदण्ड अपनाउन आग्रह गरेको हुँ, अहिले पनि त्यसैकालागि पहल गरिरहेको छु,’ उनले भने, ‘पार्टीमा दशकौँदेखि संघर्ष गरेका नेता, कार्यकर्ता छन् । तर, फेरि पनि सरकारमा जाने भनेको काम गर्नका लागि हो, काम गर्न नसक्नेलाई मन्त्री बनाउनुको कुनै अर्थ छैन ।’

प्रतिनिधिसभामा हाल बहाल रहेका कांग्रेसका ८७ सांसदमध्ये पहिलो पटक सांसद बनेका ३६ जना छन् । त्यस्तै, एक पटक मन्त्री भइसकेका १३ जना र दुई पटक मन्त्री भइसकेका ६ जना सांसद छन् भने दोहोरिएर सांसद भए पनि मन्त्री नबनेका १४ जना र तेस्रो पटक सांसद बन्दासम्म पनि मन्त्री नबनेका ७ जना छन् । तर, कांग्रेसमै त्यस्ता नेताहरू पनि छन् जसले नेताको प्रिय पात्र बनेकै कारण पटक–पटक अवसर पाएका छन्, तर परिणाम दिन सकेका छैनन् ।

‘अहिले अनुभवीलाई फेरि अवसर दिने कि नयाँलाई मौका दिने भन्ने विवाद छ,’ एक पदाधिकारीले भने, ‘हामीले दुवैलाई सम्मिश्रण मिलाएर राम्रो टिम पठाउनुपर्छ भनिरहेका छौँ ।’

ती नेताले मन्त्री चयन गर्दा कांग्रेसले मुख्यगरी पार्टीभित्रको सन्तुलन, समावेशिता र प्रादेशिक प्रतिनिधित्वलाई ध्यान दिनुपर्ने बताए । ‘सकेसम्म पहिले मन्त्री भइसकेकालाई नदोहोर्‍याउन सभापतिमाथि दबाब छ । पटक–पटक मन्त्री भइसकेकालाई अवसर दिन नहुने भन्नेमा सबैको एकमत छ,’ ती नेताले भने ।

सभापति देउवालाई मन्त्री छान्दा पार्टीभित्रको सन्तुलन मिलाउन भने कठिन छ । देउवाले खड्कालाई उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्वमा पठाए शेखर कोइरालालाई मात्रै होइन, प्रकाशमान सिंह, शशांक कोइराला, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालाई अलग–अलग भाग दिनुपर्ने अवस्था छ । सिंह, कोइराला र निधिले आफूलाई नभए आफ्ना मान्छेलाई बनाउन सिफारिस गरिरहेका छन् भने राष्ट्रपतिका दाबेदार रहेका नेता सिटौलाले पनि आफूलाई एउटा मन्त्री दिनुपर्ने दाबी गरेका छन् ।

‘पार्टीभित्र सबैलाई सन्तुलन मिलाउनुपर्ने अवस्था छ, सभापतिले सबैलाई मिलाउँदा आफू रित्तो हुने अवस्था पनि हुन सक्छ,’ ती नेताले भने, ‘फेरि महिला, दलित र मधेसीलाई यसपटक छुटाउन मिल्ने अवस्था छैन ।’

नेताहरूका अनुसार सभापति देउवाले सुदूरपश्चिमबाट एनपी साउदलाई मन्त्री बनाउने सूचीमा राखेका छन् । त्यस्तै, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री किशोरसिंह राठोर र जीवन परियार, महिलाबाट सीता गुरुङ र मधेसबाट तेजुलाल चौधरीको नाम मन्त्रीका लागि चर्चामा छ । कोशी प्रदेशबाट रामहरि खतिवडा, डिकबहादुर लिम्बू र सुनिल शर्मा पनि मन्त्रीका लागि लबिङमा छन् । कोइरालाले आफ्नो भागबाट लिम्बू र शर्मामध्ये एकलाई मन्त्री बनाउने तयारी गरेका छन् भने उपसभापति खड्काले उपप्रधान नलिएको अवस्थामा खतिवडाले अवसर पाउने नेताहरूको भनाइ छ ।

कांग्रेसले अर्थ मन्त्रालय लिएको अवस्थामा प्रकाशशरण महत वा विनोद चौधरीमध्येबाट अर्थमन्त्री बनाउने तयारी छ । उदयशमशेरले पनि अर्थ मन्त्रालयमा दाबी गरेका छन् । इ-कान्तिपुरबाट

२०७९ चैत्र ९, बिहीबार प्रकाशित 1 Minute 195 Views

ताजा समाचार