२०८१ बैशाख १८ मंगलवार

मेची क्याम्पसमा ‘खामबन्दी’ एउटा मतको विवाद, छलफल जारी

भद्रपुर । मेची बहुमुखी क्याम्पस भद्रपुरमा खामबन्दी रहेको एउटा मतलाई लिएर विवाद उत्पन्न भएको छ । क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको अन्तिम मतगणना नतिजा सार्वजनिक गर्ने क्रममा खुला सदस्य पदका उम्मेदवार अनेरास्ववियुका प्रन्सल मगर र नेवि संघका विवेक तामाङको मत बराबरी आएको छ । दुवै जनाले ९१४/९१४ मत ल्याएका छन् । नतिजा बराबरी भएपछि त्यसलाई टुङ्गाएर स्ववियु निर्वाचन समितिले अहिलेसम्म विजयी भएका उम्मेदवारहरूको नाम घोषणा गर्न पाएका छैन । घटना अनुसार हिजो मतदानको क्रमको अमृतबहादुर थापा नाममा दुई पटक मतदान भएको थियो ।

उनको नाममा पहिलो मतदान कुन विद्यार्थी गएर खसाल्यो कसैले थाहा नै पाएनन् । पछि अमृतबहादुर आफै मतदान स्थल पुगेर मतदान गर्न खोज्दा उनको नामको मत खसिसकेको थियो । त्यस क्रममा केही विवाद भएपछि आन्तरिक छलफल गरी उनलाई मतदान गर्न दिइएको थियो । तर, उनको मत निर्वाचन समितिले खामबन्दी गरेर छुट्टै राखेका थिए । अहिले सदस्य पदमा बराबरी आएपछि अनेरास्ववियुले त्यो खामबन्दी खोल्नुपर्छ भन्दै आएका छन्, भने नेवि संघले खोल्न पाइँदैन, गोला प्रथाबाट यसलाई टुङ्गाउनु पर्छ भनेपछि विवाद उत्पन्न भएको बताइएको छ । बेलुका ५ बजेदेखि भएको सो विवाद अझै पनि समाधान भएको छैन । दुवै पक्ष आआफ्नो अडानमा रहेको छ । विवादलाई मध्यनजर गरी यो समाचार तयार पारुन्जेल क्याम्पस परिसरभित्र सशस्त्र र नेपाल प्रहरी व्यापक परिचालन गरिएको छ ।

यता मतगणना अनुसार अनेरास्ववियुका सन्देश धमलाले सभापति पद जितेका छन् । उनले नेपाल विद्यार्थी संघका किशोर ढुङ्गानालाई १३० मतको अन्तरले पराजित गरेका हुन् । धमलाले ९६० मत ल्याउँदा ढुङ्गानाले ८३० मत पाएका छन् । त्यस्तै सचिवमा अनेरास्ववियुकै विदन राई विजयी भएका छन् । राई १ हजार १३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेविसंघका भीष्म घिमिरेले ९३३ मत पाएका छन् । कोषाध्यक्षमा भने नेविसंघका निलम कार्की विजयी भएका छन् ।

उनले १ हजार १५० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका अनिल चौहानले ७२७ मत पाएका छन् । त्यस्तै अनेरास्ववियुले दुई वटा सदस्य जित्दा नेविसंघले पाँच वटा सदस्य पद जितेको छ । अनेरास्ववियुका तर्फबाट अनुषा भण्डारी ९३६ , उद्देश्य भण्डारी १०७७ , नेविसंघका तर्फबाट सौरभ ओस्ती ९७२ , प्रजिन खतिवडा १००४ , भीमार्जुन गिरी ९४३ , प्रतीक शाह रौनियार १००१ र विवेक ढकाल ९६५ मत ल्याई निर्वाचित भएका छन् । मेची बहुमुखी क्याम्पसमा त्रिपक्षीय भिडन्त भएको हो ।

कम्युनिस्ट पार्टीनिकट विद्यार्थी सङ्गठनलगायतले दुई वटा प्यानल बनाउँदा नेपाली काँग्रेसनिकट नेविसंघ एक्लै निर्वाचनमा होमिएको थियो । नेकपा एमालेनिकट अनेरास्ववियु र राप्रपानिकट राप्रविसंले संयुक्त प्यानल बनाएका थिए । अनेरास्ववियु प्रगतिशील संयुक्त सङ्गठन नाम दिइएको सो प्यानलबाट धमलाले अध्यक्षमा निर्वाचन लडेका थिए ।

त्यस्तै नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादीनिकट अनेरास्ववियुले अर्को प्यानल बनाएका थिए । नेविसंघले सिङ्गल उम्मेदवारी दिएको थियो ।  सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका सन्देश धमलाले सभापति पद जितेका छन् । उनले नेपाल विद्यार्थी संघका किशोर ढुङ्गानालाई १३० मतको अन्तरले पराजित गरेका हुन् । आधिकारिक घोषणा हुन चाहिँ बाँकी छ ।

२०७९ चैत्र ६, सोमबार प्रकाशित 0 Minutes 234 Views

ताजा समाचार