२०८१ बैशाख १७ सोमबार

झापामा सहकारी सदस्य जागरण अभियान

झापा, ६ चैत । झापा जिल्ला सहकारी संघले जिल्लामा सदस्य जागरण अभियान शुरु गरेको छ ।

सहकारी संघ-संस्था एवम् वित्तीय संस्थाविरुद्ध कुप्रचारसहित आक्रमण भइरहेकाले हालको असहज परिस्थितिमा सहकारी, सहकारीकर्मीलाई सक्षम बनाउने उद्देश्यले झापामा सदस्य जागरण अभियान शुरु गरिएको झापा जिल्ला सहकारी संघ झापाका सचिव भवानीप्रसाद दंगालले जानकारी दिए ।
अभियान अन्तरगत झापा विभिन्न चार स्थानमा चैत ५ देखि ८ गतेसम्म ‘सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी’ सञ्चालन गरिएको उनले बताए । अभियान अन्तरगत चैत ५ गते बिर्तामोड, चैत ६ गते धुलाबारी, चैत ७ गते दमक र चैत ८ गते दुर्गापुरमा गोष्ठी गरिने उनले बताए ।

सहकारी अभियानलाई जोगाउन सहकारीका सदस्यहरु र संस्थाका सञ्चालकहरु नै जागरुक हुनुपर्ने आवश्यकता महसुस गरी गोष्ठीको आयोजना गरिएको संघका अध्यक्ष गणेश ढकालले बताए । “जानी-जानी गल्ती गर्नेहरुका लागि हाम्रो केही लाग्दैन, पछि उनीहरु नियमानुसार दण्डित हुनुहुन्छ”, उनले भने, “तर, अरुको लहैलहैमा लागेर कर्जा छुट हुन्छ, ब्याज छुट पाइन्छ भनेर हल्लाका कारण अहिले साँवा ब्याज तिर्न नचाहनेहरुका हकमा संस्था जागरण तथा संरक्षण गोष्ठी फलदायी हुनेछ ।” सहकारी ऐन २०७४ मा भएको व्यवस्था सरकार र मातहत विभागले कार्यान्वयन गरिदिने हो भने आजका समस्याहरु स्वतः किनारा लाग्ने उनी बताउँछन् ।

बचत तथा ऋण सहकारी केन्द्रीय संघका पूर्व प्रमुख कार्यकारी अधिकृत कुवेर निरौलाले अहिले सिङ्गो सहकारी अभियान अप्ठ्यारोमा परेको नभई बचत तथा ऋणको कारोबारमा मात्र समस्या सिर्जना भएको बताउनुभयो ।

“नेपालमा तरलता संकुचनको कारणलाई अन्तर्राष्ट्रिय सन्दर्भ जोडिनु किमार्थ सुहाउँदैन”, उहाँले भन्नुभयो, “आर्थिक संकट छिमेकी भारतमा नै छैन ।” हरेक सहकारी संस्थाले आफ्ना सदस्यहरुसँग आत्मीय सम्बन्ध बनाउने, उनीहरुलाई आफ्नो संस्थाप्रति विश्वस्त राख्ने, भविष्यको सुरक्षातर्फ ध्यानाकर्षण गराउने, सदस्यहरुमाझ कल्याणकारी कार्यहरु विस्तार गर्नु नै आजको समयमा सदस्य जागरणका लागि पर्याप्त हुने सहजकर्ता उहाँको भनाइ छ ।

२०७९ चैत्र ६, सोमबार प्रकाशित 1 Minute 206 Views

ताजा समाचार