२०८१ बैशाख १६ आईतवार

झापामा ‘कोशी’नाम विरूद्ध आन्दोलन : दुई दर्जन बन्दकर्ता प्रहरी नियन्त्रणमा

झापा । कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै बन्द गराउँदै हिँड्ने करिब दुई दर्जन बन्दकर्तालाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको मेचीनगर, चाराआली, बिर्तामोड, दमकलगायत क्षेत्रबाट करिब दुई दर्जन बन्दकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए ।राजमार्ग र मुख्य बजार क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरी बन्दकर्तालाई नियन्त्रण लिइरहेको डीएसपी रिजालले बताए । प्रहरी नियन्त्रणमा लिनेहरूमा जनता समाजवादी पार्टीका प्रदेश सदस्य गौरीमान राई, सङ्घीय लिम्बुवान पार्टीका अध्यक्ष सन्जुहाङ पालुङ्वाका छोरा साम पालुङ्वा, आदिवासी जनजाति महासंघका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, पवन मेचेलगायत रहेका छन् ।

बन्दका कारण लामो दुरी यातायातका सवारीसाधन ठप्प बनेको छ । छोटो दुरीका सवारीसाधन सञ्चालन भइरहेको डीएसपी रिजालले बताए । शैक्षिक संस्था पूर्ण रुपमा बन्द छ । बन्दकर्ताहरूले जबरजस्ती पसलहरू बन्द गराउँदै हिँड्नेपछि बिर्तामोडका साना व्यवसायीहरू त्यसको प्रतिकारमा समेत उत्रिएका छन् ।

यता विभिन्न राजनीतिक दल र जातीय सङ्गठनहरूले झापासहित पूर्वका १४ जिल्लामा आज बन्दको आव्हान गरेका छन् । गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएसँगै त्यसको विरोधमा राजनीतिक दल र जातीय सङ्गठनहरू आन्दोलनमा उत्रिएका हुन् । छ वटा राजनीतिक दल र ३४ वटा जातीय सङ्गठनले बन्दको पूर्व सन्ध्यामा झापाका विभिन्न स्थानमा कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै राँके जुलुस समेत प्रदर्शन गरेका थिए ।

२०७९ फाल्गुन २८, आईतवार प्रकाशित 0 Minutes 271 Views

ताजा समाचार