२०८१ बैशाख १७ सोमबार

राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित

 

राष्ट्रपतिमा पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन । राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय अनुसार पौडेल ३३ हजार ८०२ मत भारसहित निर्वाचित भएका हुन । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्व सभामुख एवम् नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने १५ हजार ५१८ मत भार पाएका छन ।

पौडेलले प्रदेशमा ३ सय ५२ र संघमा दुई सय १४ जनाले मत दिएका छन । त्यस्तै नेम्वाङलाई प्रदेशका १ सय ६२ र संघ ९८ जनाले भोट दिएका छन । कुल आठ सय ८४ मतदाता रहेपनि संघका तीन सय १३ र प्रदेशका पाँच सय १८ गरी आठ सय ३१ मत मात्रै खसेको थियो । यस्तै आज भएको राष्ट्रपतिको चुनावमा चार जना संघीय सांसदको मत बदर भएको छ । त्यस्तै एक जना प्रदेशसभा सदस्यको मत पनि बदर भएको छ ।

राष्ट्रपतिको चुनावमा सही तरिकाले मतदान नगर्दा सांसदहरूको मत बदर भएको हो । खसेको कुल आठ सय ३१ मतमध्ये पाँच मत बदर भएको हो । राष्ट्रपति निर्वाचनमा संघीय संसदको ७९ र प्रदेश सांसदको ४८ मतभार तोकिएको थियो । पौडेल नेपालको तेस्रो राष्ट्रपति हुन । अहिले कायम रहेकी राष्ट्रपति विद्या भण्डारीले दुई कार्यकाल राष्ट्रपति सम्हालेकी हुन् । मुलुकको प्रथम राष्ट्रपति नेपाली कांग्रेसका तत्कालीन महामन्त्री डा. रामशरण यादव बनेका थिए । पौडेल मंसिर ४ गते सम्पन्न संघीय निर्वाचनमा तनहुँ एक बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । उनी राष्ट्रपति निर्वाचित भएपछि सो क्षेत्रमा अव उप निर्वाचन हुनेछ ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी नौ दलको समर्थन थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मत दिएको छ ।

 

 

२०७९ फाल्गुन २५, बिहीबार प्रकाशित 1 Minute 203 Views

ताजा समाचार