२०८३ जेष्ठ २८ बिहीबार

पूर्वी नाका : पाइलैपिच्छे घुस, प्रहरीकै ‘सेटिङ’मा तस्करीको आरोप !

काँकरभिट्टा । झापा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको खुला सीमा नाकाबाट पछिल्लो समय तस्करी गतिविधि व्यापक रूपमा बढ्दै गएको स्थानीयवासीले गुनासो गरेका छन् । भारतसँग जोडिएको खुला सीमाको फाइदा उठाउँदै दैनिक रूपमा विभिन्न उपभोग्य सामग्री तथा मोटर पाट्र्स लगायतका अवैध सामान नेपाल भित्रने गरेको आरोप स्थानीयको छ ।


स्थानीयका अनुसार सीमावर्ती मुख्य नाका र विभिन्न चोरी बाटो प्रयोग गरेर चिनी, खाद्यान्न, खानेतेल, मसला, सुपारी, कपडा लगायतका सामग्री राति र बिहानको समयमा ठूलो परिमाणमा नेपाल ल्याइने गरिएको छ । तस्करीमा संलग्न समूहले सुरक्षाकर्मी र तस्करबीचको ‘सेटिङ’ का आधारमा निर्वाध रूपमा कारोबार सञ्चालन गरिरहेको आरोप समेत लाग्ने गरेको छ ।
विशेषगरी भारतबाट सस्तो मूल्यमा सामग्री ल्याएर कर नतिरी नेपाली बजारमा बिक्री गर्दा राज्यलाई राजस्व घाटा हुनुका साथै वैधानिक व्यवसायीहरू मारमा परेका छन् । झापाका व्यापारीहरूका अनुसार अवैध रूपमा भित्रिने सामानका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेको छ । कर तिरेर व्यापार गर्ने व्यवसायीको व्यापार घट्दै गएको उनीहरूको भनाइ छ ।


मुख्य भन्सार नाकाबाटै सशस्त्र प्रहरी र भन्सार कर्मचारीको सेटिङमा ठूलो परिणामको अवैध सामान नेपाल भित्रिने गरेको छ । स्थानीय बासिन्दाले सीमामा सुरक्षाका लागि खटिएका निकायको भूमिकामाथि समेत प्रश्न उठाएका छन् । सीमाक्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी भन्सार कर्मचारी अन्य सुरक्षा निकायको उपस्थिति हुँदाहुँदै तस्करी रोक्न प्रभावकारी कदम नचालिएको आरोप लागिरहेको छ । कतिपय स्थानीयले तस्कर समूहले सुरक्षाकर्मीसँग मिलेमतो गरेर सामान ओसारपसार गर्ने गरेको दाबी गरेका छन् ।


सीमाबाट भित्रिने सामानमध्ये मोटरसाइकल तथा गाडीका पाट्र्सहरू पनि उल्लेख्य मात्रामा रहेको बताइएको छ । यस्ता पाट्र्स भन्सार छली गरेर ल्याइँदा सरकारी राजस्वमा प्रत्यक्ष असर परेको सरोकारवालाहरूको भनाइ छ । अवैध रूपमा भित्रिएका पाट्र्स गुणस्तरहीन हुने भएकाले उपभोक्ताको सुरक्षामाथि समेत जोखिम बढ्ने देखिएको छ ।
स्थानीयवासीका अनुसार केही तस्कर समूहले सीमावर्ती गाउँका नागरिकलाई सामान ओसारपसारमा प्रयोग गर्ने गरेका छन् । दैनिक ज्यालाको प्रलोभनमा युवाहरूलाई प्रयोग गरिँदा सीमाक्षेत्रमा अपराधजन्य गतिविधि बढ्ने खतरा समेत बढेको छ ।


यसरी खुला रूपमा तस्करी भइरहँदा सम्बन्धित निकाय भने प्रभावकारी रूपमा सक्रिय देखिएका छैनन् । सीमाक्षेत्रमा गस्ती बढाइएको दाबी गरिएपनि व्यवहारमा तस्करी नियन्त्रण हुन नसकेको स्थानीयको गुनासो छ । कतिपय अवस्थामा सुरक्षाकर्मीकै मिलेमतोमा सामान ओसारपसार हुने गरेको दृश्य देखिने गरे पनि कारबाही भने न्यून हुने गरेको आरोप छ ।
सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रण गर्न कडा निगरानी, अनधिकृत नाकामा प्रभावकारी सुरक्षा व्यवस्था तथा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् । अन्यथा खुला सीमाको दुरुपयोग गर्दै हुने अवैध कारोबारले राज्यको अर्थतन्त्र, स्थानीय व्यापार र सुरक्षा व्यवस्थामाथि दीर्घकालीन असर पार्ने चेतावनी दिइएको छ ।
पूर्वी नेपालको झापासँग एकसय सय ४२ दशमलव २ किलोमिटर दुरी भारतसँग सीमाना जोडिएको छ । सीमा सुरक्षाका लागि पहिलो भागमा सशस्त्र प्रहरीले जिम्मेवारी पाएको छ ।

२०८३ जेष्ठ २८, बिहीबार प्रकाशित 0 Minutes 22 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।