२०८१ बैशाख १७ सोमबार

नेपालले रच्यो स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित

कप्तान रोहितकुमार पौडेल र करण केसीले ७५ रनको साझेदारी गरेपछि मंगलवार नेपालले विश्वकप क्रिकेट लिग–२ को च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्याण्डबाट प्राप्त २ सय १३ रनको लक्ष्य ३५ बल अगावै भेट्टाउन सफल भएको हो ।

सातौं ओभरमा नेपाल १९–२ को अवस्थामा ब्याटिङ गर्न आएका रोहितले अविजित ९५ रन बनाएका हुन् । यस्तै १ सय ३८ रन जोड्ने क्रममा ८ विकेट गुमाएको अवस्थामा उनलाई करण केसीले साथ दिएका थिए । सो क्रममा ७५ रनको साझेदारीमा जित निश्चित भएको थियो । सर्वाधिक रन समेत बटुलेका रोहितले १ सय १ बलको सामना गर्दा ७ चौका र ४ छक्का प्रहार गरे भने करणले ३७ बल सामना गर्दै २ चौका र १ छक्का हाने ।

यससँगै नेपालले लिग–२ को त्रिकोणात्मक श्रृंखला नेपाल पहिलो पटक क्लिन स्विप गरेको छ । नेपालले श्रृंखलामा नामिबिया र स्कटल्याण्डमाथि २–२ खेलमा विजय हात पारेको हो । यस्तै नेपालले लगातार चार खेलमा जित निकालेको पनि पहिलो पटक हो ।

स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको शुरुवात राम्रो भएन । ओपनर कुशल भुर्तेल १ रनमै र अर्का ओपनर आसिफ शेखले १२ रन बनाउने क्रममा पेवेलियन फर्किएका थिए । यस्तै ज्ञानेन्द्र मल्लले २१ रन जोड्दा कुशल मल्लले २८ बलको सामना गर्दैै २७ रन बनाए । सन्दीप जोरा १, दीपेन्द्र सिंह ऐरी ७, सोमपाल कामी २ र सन्दीप लामिछाने ९ रनमा आउट भएका थिए ।
नेपालको इनिङलाई कठिन बनाउने क्रममा कसिलो बलिङ गरेको स्कटल्याण्डका लागि स्पिनर मार्क वार्टले सर्वाधिक ३ विकेट निकाल्दा क्रिस ग्रेभिसले २ विकेट हात पारे । यस्तै ब्रेन्डन म्याकमुलन, माइकल लिस्क र सफ््यान सरिफले समान एक÷एक विकेट लिए ।

यसअघि त्रिवि मैदानमा टस हरेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर मात्र २ सय १२ रन जोडेको थियो । भ्रमणकारी टोली स्कटल्याण्डका लागि जर्ज मुन्सी र काएल कोएटजरले स्कटल्यान्डलाई सानदार शुरुवात गरेका थिए । मुन्सीले ६० रनको पारी खेल्दा अर्का ओपनर काएल कोएटजरले २२ रन जोडेका थिए । मुन्सलेले ५० बलमा ९ चौका र दुई छक्का प्रहार गरेका हुन् । यसैगरी म्याथ्युज क्रसले ४२, ब्रेण्डन म्याकमुलनले ३१ तथा कायल कोएटजर र क्रिस्टोफर म्याकब्रिडले समान २२ रन जोडे । छैटौं विकेटका लागि क्रस र म्याकमुलनले ५७ रनको साझेदारीमा नेपालले २ सय १३ रनको लक्ष्य पाएको थियो । मध्य तिरमात्र नेपालको बलिङ किफायती भएको खेलमा सन्दीप लामिछाने एक्लैले चार विकेट आफ्नो नाममा निकाकल्दा करण केसीले तीन तथा कुशल मल्ल र ललितनारायण राजवंशीले समान एक÷एक विकेट लिए ।

यस जितसँगै लनेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ८ खेलमा कम्तिमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम हुनेछ । उता च्याम्प्यिन बनिसकेको स्कटल्याण्ड ३५ खेलबाट २४ मा जित र १० मा पराजित हुँदा ५० अंकका साथ शीर्ष स्थानमा छ ।

त्रिवि मैदानमा सम्पन्न श्रृंखला अन्तर्गत नेपालले नामिबियालाई दुई र तीन विकेट तथा स्टकल्याण्डलाई तीन विकेटले पराजित गरेको थियो । स्कटल्याण्डले नामिबियालाई १० विकेट र ४३ रनले हराएको थियो ।

 

२०७९ फाल्गुन ९, मंगलवार प्रकाशित 1 Minute 140 Views

ताजा समाचार