२०८१ बैशाख १६ आईतवार

भद्रपुर झापा गोल्डकप आजदेखि सुरु, भद्रपुर ब्लेजर्स र जयगाउँ भिड्ने

झापा । १८ वर्षपछि भद्रपुरस्थित मेची रंगशालामा आजदेखि फुटबल महाकुम्भ सुरु हुदैछ । नेपाल, भारत, भुटान र बंगलादेशका १० टोली सहभागी हुने प्रथम भद्रपुर झापा गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए।

गोल्डकपका लागि ओझेलमा परेको मेची रंगशालालाई मर्मतसम्भार र रंगरोगन गरी बेहुलीझैं सिंगारिएको छ। प्रतियोगिताको उद्घाटन खेल आयोजक भद्रपुर ब्लेजर्स र भारत जयगाउँ फुटबल क्लबबीच हुने समितिका अध्यक्ष ढकालले जानकारी दिए। मेची रंगशालामा २०६१ सालमा भएको त्रिभुवन गोल्डकपपछि कुनै पनि ठूला प्रतियोगिता भएको छैन।

गोल्डकप सञ्चालनका लागि करिब डेढ करोड खर्च हुने अनुमान गरिएको छ। फागुन १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्ससहित विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, एपीएफ, मच्छिन्द्र, चर्च ब्वाइज, संकटा क्लब सहभागी छन्।

विदेशी टोलीमा जगगाउँ भारत, डुक ल्हासुल भुटान र क्राउन बजार प्रगति संघ बंगलादेशको सहभागिता रहने आयोजक समितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए।

२० हजार दर्शक अटाउने गरी स्थायी र अस्थायी बाँसे प्यारापिट निर्माण गरिएको छ। नगर क्षेत्रका विद्यार्थी, ज्येष्ठ नागरिक, अशक्तलाई निःशुल्क गोल्डकप हेर्न व्यवस्था मिलाइएको छ।

गोल्डकपको विजेताले १३ लाख नगद पुरस्कार पाउने छ। यस्तै उपविजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्तालाई नगद २५ हजार रुपैयाँ प्रदान गरिने भएको छ। प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई नगद २० हजार रुपैयाँ दिइने आयोजक समितिका उपाध्यक्ष आदित्य पराजुलीले जानकारी दिए।

२०७९ फाल्गुन ७, आईतवार प्रकाशित 0 Minutes 372 Views

ताजा समाचार