२०८१ बैशाख १७ सोमबार

त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालद्वारा स्कटल्याण्डलाई पराजित

आईसीसी विश्वकप क्रिकेट लिग टूअन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ । टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले लिग टू को विजेता बनिसकेको स्कटल्याण्डलाई ३ विकेटले हराएको हो । स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले अर्धशतकीय इनिङ खेले । दिपेन्द्रले अविजित ८५ र मल्लले ८१ रनको योगदान दिए । नेपालका लागि सोमपाल कामीले अविजित २४, गुल्सन झाले १७, कुशल भुर्तेलले १६, आसिफ शेखले ९, कप्तान रोहित पौडेलले ६, सन्दीप जोराले ५ रन बनाए । स्कटल्याण्डका लागि क्रिस सोल र मार्क वाटले ३-३ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको थियो । स्कटल्याण्डका लागि माईकल लिस्कले सर्वाधिक १०७, ज्याक जार्किभले २६, ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२-२२ तथा टोमस म्याकिन्टोस र मार्क वाटले २०–२० रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १-१ विकेट लिए ।

स्कटल्याण्डसँगको पाँर्चौ एकदिवसीय खेलमा नेपालको यो दोस्रो जित हो । जितसँगै नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ३४ खेलमा २३ मा जित र ९ मा हार व्यहोरेको स्कटल्याण्ड ४८ अंकका साथ तीन खेल आगावै विश्वकप लिग टूको च्याम्पियन भईसकेको छ । सिरिजअन्तर्गत नेपालले तेस्रो खेल भोलि नामिबिया र अन्तिम खेल फागुन ९ मा स्कटल्याण्डसँग खेल्नेछ ।

२०७९ फाल्गुन ५, शुक्रबार प्रकाशित 1 Minute 189 Views

ताजा समाचार