२०८१ बैशाख १७ सोमबार

झापामा सवारी दुर्घटनामा ७५ जनाको मृत्यु

झापा । झापामा सात महिनाको अवधिमा सवारी दुर्घटनामा ७५ जनाको मृत्यु भएको छ ।

चालू आर्थिक वर्ष २०७९÷०८० को माघ मसान्तसम्ममा चार सय ५७ सवारी दुर्घटनामा परी ७५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक अशोककुमार जवेगुले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार साउनमा १२ जना, भदौमा ५, असोजमा १६, कात्तिकमा ९, मंसिरमा १४, पुरुषमा १२ र माघमा ७ जनाको दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा ५७ जना पुरुष, १४ जना महिला, दुई बालक र दुई जना बालिका रहेको छन् ।

ती दुर्घटनामा एक सय सात जना गम्भीर घाइते भएका छन् भने छ सय ३९ जना सामान्य घाइते भएको कार्यालयले जनाएको छ । दुर्घटनामा मृत्यु र घाइते हुने पुरुषको संख्या अधिक रहेको छ ।

दुर्घटनामा संम्लग्न हुने सावरीमा सबैभन्दा धेरै चार सय ३३ वटा मोटरसाइकल छन् । त्यस्तै, ४६ वटा टेम्पो, ५९ वटा साना सवारी, ३२ वटा बस, १७ वटा ट्रक, छ वटा ट्रिपर, १८ वटा ट्याक्टर, ५९ वटा जिप–कार रहेका प्रमुख जवेगुले बताउनुभयो ।

यता, प्रहरीले चालू आवको माघ मसान्तसम्ममा रू दुई करोड दुई लाख छ हजार पाँच सय राजवश्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने २८ हजार आठ सय वटा सवारीलाई कारबाही गरी उक्त राजश्व संकलन गरिएको हो ।

कार्यालयले चार हजार एक सय ३४ वटा दुर्घटना न्यूनीकरण, ट्राफिक नियम पालना लगायतका विभिन्न सचेतनामूलक कार्यक्रम समेत गरेको छ । जसबाट एक लाख सात हजार ४२ जनाको सहभागिता रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

२०७९ फाल्गुन ४, बिहीबार प्रकाशित 0 Minutes 240 Views

ताजा समाचार