२०८१ बैशाख १५ शनिबार

कार्य तालिका बनाएर काँग्रेस गाउँ जाँदै

झापा । नेपाली काँग्रेस झापाले ६ महिने कार्य तालिका बनाएर जिल्लाका १३१ वटै वडामा प्रतिनिधिहरू खटाएको छ । झापा काँग्रेस सभापति देउकुमार थेबेको सभापतित्वमा आज बसेको बैठकले जिल्ला सदस्य , महाधिवेशन प्रतिनिधि र जिल्ला पदाधिकारीहरूलाई वडा र क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय गरेको हो । खटिएका प्रतिनिधिहरूले वडा, गाउँ नगर, प्रदेश सभा क्षेत्र र संघीय निर्वाचन क्षेत्रको सम्मेलन गराउने , वार्षिक क्यालेन्डर अनुसार प्रशिक्षण, अभिमुखीकरण कार्यक्रमहरू सबै वडा  र ११३१ टोल समितिमा सञ्चालन गर्नु गराउनु पर्ने नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिए ।

त्यसैगरी राष्ट्रिय मेलििदवस, सहिद दिवस, प्रजातन्त्र दिवस, गणतन्त्र दिवस, संविधान दिवसका कार्यक्रमहरू पार्टीका सबै तह र संरचनाहरूमा रक्तदान, वृक्षारोपण, विचार गोष्ठी, सरसफाइ,  , जनचेतना मूलक र विकाससँग सम्बन्धी जन सेवाका कार्यक्रमहरू कांग्रेसले सञ्चालन गर्ने भएको छ ।

त्यसैगरी बिपी कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, सुर्वणसम्शेर, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला लगायतका प्रजातन्त्र वादी अग्रणी नेताहरूको सम्झना र सम्मानमा स्मृति दिवस र जन्म जयन्तीहरू सबै तहमा मनाउने , अग्रज प्रजातन्त्र सेनानी , ज्येष्ठ नागरिकहरूको सम्मान र सहभागिता मूलक विकासका कार्यक्रमहरूलाई जनस्तरमा सञ्चालन गर्ने , स्थानीय तहका जनप्रतिनिधि र पार्टीका विभिन्न तहको संरचनामा रहेका पदाधिकारी सदस्यहरुबीच आपसी सद्भाव, मेलमिलाप सहकार्य र सद्भावको भूमिका निर्वाहमा खटिएका प्रतिनिधिहरूले समन्वयको काम गर्नु पर्ने बैठकले निर्णय गरेको छ ।

त्यसैगरी जिल्लाको पार्टी संरचनाहरूको नियमित बैठकको नियमित मिति पनि झापा कांग्रेसले तय गरेको छ । जस अनुसार जिल्ला कार्यसमितिको बैठक प्रत्येक महिनाको २ गते क्षेत्रीय कार्य समितिको बैठक ५ गते प्रदेश सभा क्षेत्रीय कार्यसमितिको बैठक ७ गते, गाउँ नगर कार्य समितिको बैठक ११ गते हुने छ  भने वडा र टोल कार्य समितिको बैठक सम्बन्धी गाउँ नगर कार्य समितिले तोके बमोजिम हुने छ ।

२०७९ फाल्गुन २, मंगलवार प्रकाशित 0 Minutes 168 Views

ताजा समाचार