२०८३ जेष्ठ २१ बिहीबार

जेन-जी सम्मेलनको आयोजना गर्न सरकारसँग माग

काठमाडौँ- जेनजीको प्रतिनिधित्व गर्ने एक समूहले सबै जिल्लामा जेनजी सम्मेलन गर्न माग गरेको छ ।
जेनजीका मागका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन आज माइतिघरमा धर्ना दिने क्रममा उनीहरुले सबै जिल्लामा जेनजी सम्मेलन र काठमाडौँमा केन्द्रीय सम्मेलनको आयोजना गर्ने वातावरण बनाउन सरकारसँग माग गरे ।
उनीहरुले आफूहरु एकजुट हुँदै एकता र समर्पण खोजिरहेको समेत बताए । यो समयमा कुनै पनि गुटबन्दी र विभाजन आफूहरुलाई सह्य नभएको बताउँदै उनीहरुले सबै जिल्लामा जेनजी सम्मेलन आयोजना गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।
“सबै जिल्लामा जेनजी सम्मेलन गरी काठमाडौँमा केन्द्रीय जेनजी सम्मेलन आयोजना गर्नुपर्छ, जहाँ सम्पूर्ण देशबाट जेनजीको प्रतिनिधित्व हुनेछ”, जेनजी प्रतिनिधि सदिक्षा राईले भन्नुभयो, “सम्मेलनमार्फत प्रदेशगत प्रतिनिधि छनोट गरिनेछ ।”
उहाँले वर्तमान सरकार केबल नेताहरुको नभइ जनता र शहीदको सपना बोकेको सरकार भएको बताउनुभयो । “यो सरकार शहीदहरुको बलिदानबाट जन्मिएको हो, सरकारले नयाँ पुस्ताको आशा, ऊर्जा र भविष्यको जिम्मेवारी रक्षा गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
राईले वर्तमान सरकार जेनजी पुस्ताको पनि अभिभावक भएको बताउनुभयो । उहाँले सरकार पारदर्शी हुनुपर्ने उल्लेख गर्दै मुलुक सङ्कटमा परेको अहिलेको समयमा एकता र सहकार्य महत्वपूर्ण भएको धारणा राख्नुभयो ।
धर्नामा सहभागी मदन कार्कीले जेनजीका नाममा विभिन्न पार्टी वा समूहमा लागेर विभाजन नहुन आग्रह गर्दै देशभरका जेनजीहरु एकजुट हुन आह्वान गर्नुभयो । “मुलुकभरका सबै जेनजीहरु एकजुट हुन आवश्यक छ, यसका लागि सरकारले हामीलाई सहयोग गर्नुपर्छ, जेनजी एकजुट हुन सरकारको साथ आवश्यक छ”, जेनजी आन्दोलनका घाइते समेत रहनुभएका कार्कीले भन्नुभयो ।
धर्नामा सहभागीहरुले ‘जेनजीका माग पूरा गर’, ‘शहीदको रगत नबिर्स’, ‘देशका घाउ, हाम्रो जिम्मेवारी’, ‘शहीदहरुको सपना पूरा गर्नु हाम्रो जिम्मेवारी’, ‘राष्ट्र पहिले अहंकार पछि’, ‘देश दुःख्दा मौन नबसौँ, एक हौँ’ लेखिएका प्लेकार्ड र राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए । धर्नामा जेनजी आन्दोलनका घाइते, शहीद परिवारको पनि सहभागिता थियो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसले उठाएका माग पूरा गर्नका लागि सरकारलाई दबाब दिने उद्देश्यले उनीहरुले धर्ना दिएका हुन् ।नेपाल टिभी अनलाइनबाट ।

२०८२ कार्तिक ७, शुक्रबार प्रकाशित 1 Minute 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।