२०८३ जेष्ठ २१ बिहीबार

मेची राजमार्ग १२ घण्टाका लागि बन्द

मेची राजमार्गको सडकखण्ड ।

प्रेम अधिकारी

पशुपतिनगर (इलाम), असोज १८ गते । बाढी पहिरोको जोखिम रहेको मेची राजमार्ग आज साँझ ७ बजेदेखि १२ घण्टाका लागि बन्द गरिएको छ । मेची राजमार्गको झापा–इलाम सिमाना जोरकलशदेखि इलाम–पाँचथर सिमाना राँके बजारसम्म भोलि बिहान ६ बजेसम्मका लागि सडक बन्द गरिएको हो ।

सम्भावित बाढी पहिरो र बिपद जोखिम कम गर्न जिल्ला प्रशासन कार्यालयले आज सडक सञ्चालनमा पूर्णरुपमा रोक लगाएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सम्भावित क्षति हुन नदिनका लागि मेची राजमार्गमा साना तथा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो।

यसैबिच सडक डिभिजन कार्यालय इलामको मेची राजमार्गको जोरकलशदेखि ताप्लेजुङको सुकेटार बिमानसम्म सडक पूर्णरुपमा बन्द गर्ने भएको छ । कार्यालयले केचना कञ्चनजंघा सडक समेत पूर्णरुपमा ठप्प रहने जनाएको छ । लागातारको बर्षापछि राजमार्गमा पहिरो झर्न थालेको छ भने स्थानीय खोलामा पानीको बहाव बढन थालेको छ ।

मेची राजमार्गको पाँचथर र इलाम खण्डमा मात्रै दश ठाउँमा पहिरोको जोखिम रहेको सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समितिले प्रक्षेपण गरेको छ । सबैभन्दा धेरै जोखिम मेची राजमार्गको इलाम खण्डमा रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति इलामका अनुसार इलाम खण्डमा पर्ने सूर्योदय नगरपालिका –११ तीनघरे, रोङ गाउँपालिका –४ कोल्बुङ, रोङ गाउँपालिका –३ चुच्चेढुङ्गा, इलाम नगरपालिका ४ बाघखोर, इलाम नगरपालिका –५ चुरेघाँटी, इलाम नगरपालिका –१० राजदुवाली, इलाम नगरपालिका –४ पुवाखोला, देउमाइ नगरपालिका –१ रक्से, पाँचथर खण्डमा पर्ने फिदिम नगरपालिका –४ रमिते र फाल्गुनन्द गाउँपालिका –३ पाङ्ग्रेभीर क्षेत्रमा पहिरोको जोखिम छ ।

यस्तै, केचना कञ्चनजंघा करिडोरमा पर्ने बेलासे र भोर्लेनी, राँके रवि सडक खण्डका पाँचथर, धनकुटा र इलाम खण्डमा पर्ने विभिन्न स्थानमा पनि पहिरोको जोखिम छ ।

यसैगरी पाँचथरमा पर्ने फिदिम फालौट सडक खण्डमा पर्ने फिदिम १ र ११ को फेमेखोला, तमोर करिडोर अन्तर्गत तुम्वेवा –२ को नावाखोला, मध्यपहाडी राजमार्गको याङवरक –३ रिजाल भीर र याङवरक –२ को फलामखोला र मेवा खोलालगायत सडकमा बाढी पहिरो र विपदजन्य दुर्घटनाको जोखिम रहेकाले यस क्षेत्रबाट अत्यावश्यक काम नपरी यात्रा नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।गोरखापत्र अनलाइन

 

२०८२ आश्विन १८, शनिबार प्रकाशित 1 Minute 138 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।