कोहलीले टेस्ट कप्तानी पनि छाडे

एजेन्सी । भारतीय क्रिकेट टोलीका एक उत्कृष्ट ब्याटर विराट कोहलीले टेस्ट कप्तानी पनि छाडेका छन् । कोहलीले सामाजिक सन्जालबाट कप्तानी छाडेको जनाएका छन् ।

सन् २०१४ मा महेन्द्रसिंह धोनीले छाडेपछि कोहलीले भारतीय टेस्ट टोलीको नेतृत्व गर्दै आएका छन् । कोहलीले दुई महिना अघि टि२० आईको कप्तानी छाडेका थिए । कोहली तीन टेस्ट सिरिज र तीन ओडिआई सिरिजको लागि दक्षिण अफ्रिकामा छन् । भारतले कोहलीलाई यसै सिरिज मार्फत भारतीय ओडिआई टोलीको कप्तानीबाट भने हटाएको थियो ।

भारतले एक दिन अघि दक्षिण अफ्रिकासँग तीन टेस्ट खेलको सिरिज २–१ ले गुमाएको थियो । उक्त सिरिज पछि कोहलीले भारतीय टोलीको नेतृत्व छाडेका हुन् । तीन ओडिआई अन्तर्गत पहिलो ओडिआई १९ जनवरीमा सुरु हुने छ । भारतको कप्तानी लोकेश राहुलले गर्ने छन् ।
कोहली भारतका टेस्टका सर्वाधिक सफल कप्तान हुन् ।

कोहलीको कप्तानीमा भारतले ६८ टेस्ट खेल खेलेको थियो । कोहलीले ४० खेल जिताउदा १७ खेलमा हार र ११ खेलल ड्र थिए । जसमा घरेलु मैदानमा २४ र विदेशमा १६ खेल जिताएका थिए । अव भारतको टेस्ट कप्तानमा लोकेश राहुलको सम्भावना बढी छ । रोहित शर्मा भारतको सिमित ओभरका कप्तान हुन् । भारतले सिमित र टेस्टमा फरक फरक कप्तान बनाउने मनासाय देखिन्छ । सिमित र टेस्ट दुबैमा कप्तानी दिएमा रोहितको सम्भावना छ । दीर्घकालिन रुपमा ऋषभ पन्त र श्रेयस ऐर पनि सम्भावना देखिन्छ ।