
काठमाडौँ, जेठ २० गते । विश्व बैङ्कले नेपालका दुई परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी डलर बराबर ऋण स्वीकृत गरेको छ । बैङ्कले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्ति प्रणाली सुधार र रानीजमरा–कुलरिया सिँचाइ आयोजनाका लागि यो ऋण स्वीकृत गरेको जानकारी गराएको हो ।
विद्युत् आपूर्ति प्रणाली सुधारका लागि १२ करोड अमेरिकी डलर ऋण दिन लागिएको हो । सन् २०३० सम्मका लागि उपलब्ध भनिएको यो ऋणबाट कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको विद्युत् वितरण प्रणाली सुधार गरिने छ । नेपाल विद्युत् प्राधिकरणले कार्यान्वयन गर्ने यो परियोजनामा वितरण सबस्टेसन निर्माण, विद्यमान वितरण सञ्जालको स्तरवृद्धि, निगरानीको स्वचालित प्रणाली जडानलगायतका कार्य हुने जनाइएको छ ।

रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरण कार्यान्वयनका लागि विश्व बैङ्कले १३ करोड ७० लाख ऋण स्वीकृत गरेको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा बर्सैभरि सिँचाइ सुविधा उपलब्ध गराई कृषि उपजको उत्पादन वृद्धि गर्ने लक्ष्य यो परियोजनाले राखेको छ । यो परियोजनाबाट थप १७ हजार पाँच सय हेक्टर जमिनमा वर्षभर सिँचाइ सुविधा पु¥याइने र यसबाट करिब एक लाख ६० हजार मानिस लाभान्वित हुने अपेक्षा छ । यी परियोजना कार्यान्वयनबाट अवरोधरहित विद्युत् आपूर्ति र वर्षभरको सिँचाइ सुविधा प्राप्त हुँदा नेपालको दिगो विकासमा थप योगदान पुग्ने अपेक्षा विश्व बैङ्कले गरेको छ ।गोरखापत्र अनलाइन