रिलायन्स फाइनान्सले गर्यो बाल आश्रमलाई सहयोग

धुलाबारी । रिलायन्स फाइनान्स लिमिटेड धुलाबारी तथा चारआली शाखाले संस्थाको वार्षिक उत्सवको अवसर पारेर शनिबार मेचीनगरको एक बाल आश्रमलाई आर्थिक सहयोग गरेको छ ।

मेचीनगर-९ स्थित स्वबोध साधना केन्द्र बाल आश्रममा कार्यक्रमको आयोजना गरी त्यहाँ आश्रित बालबालिकालाई २० हजार बराबरको कपडा तथा स्टेसनरी सामाग्री प्रदान गरिएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथ बालबालिकाका लागि अतिआवश्यक पर्ने लत्ताकपडा, स्टेसनरी तथा खाद्य सामाग्री वितरण गरिएको हो । साथै, सोही अवसरमा बालबालिकालाई केक तथा चकलेट दिइएको थियो ।

रिलायन्स फाइनान्स लिमिटेडका प्रदेश प्रमुख जीवन श्रेष्ठको प्रमुख आतिथ्यता र धुलाबारी शाखाका प्रमुख बालकृष्ण घिमिरेको संयोजनमा भएको कार्यक्रममा अनाथ आश्रम समितिका अध्यक्ष बालकृष्ण थपलिया, बालबालिका तथा फाइनान्स कम्पनीका कर्मचारीको उपस्थिति रहेको थियो ।

राष्ट्रिय बैंकबाट ‘ग’ वर्गको बैंकिङ कारोबार गर्न २०६६ मंसिर १८ गते स्वीकृति प्राप्त गरेको यस संस्थाको मुख्य कार्यालय प्रदर्शनी मार्ग काठमाडौँमा रहेको छ । फाइनान्स कम्पनीले आफुलाई एक अब्बल फाइनान्स कम्पनीको रुपमा प्रमाणित गर्दै हाल २१ वटा शाखा कार्यालयबाट आफ्नो वित्तीय सेवा प्रदान गर्दै आएको छ ।