‘जय भीम’लाई तेस्रो आँखाबाट हेर्दा

सत्य घटनामा आधारित तामिल फिल्म ‘जय भीम’ अहिले भारतसँगै नेपालमा पनि चर्चामा छ । फिल्मले हिरासतभित्र मारिएका एक आदिवासीको कथा भन्छ । प्रहरी हिरासतभित्र भएको रहस्यमय घटनाको पर्दा खोल्ने काम भने चन्द्रु नामक वकिलले गर्छन्, जुन भूमिका सुपरस्टार सूर्याले निर्वाह गरेका छन् ।

चन्द्रु एक आदर्शवादी अधिवक्ता हुन् । भीमराव अम्बेडकरबाट प्रभावित चन्द्रु सीमान्तकृत समुदायका मुद्दा नि:शुल्क लड्छन् । सन् १९९५ मा तामिलनाडुको इरुलर आदिवासी समुदायका एक पुरुषको प्रहरी हिरासतमा मृत्यु भएपछि उनकी श्रीमतीका लागि चन्द्रुले प्रहरी विरूद्ध मुद्दा लड्छन् । बन्दी प्रत्यक्षीकरणको साधारण मुद्दाबाट शुरु भएको यो फिल्मले प्रहरी हिरासतभित्र हुने बर्बर यातना, हत्या र त्यसलाई लुकाउन हुने षड्यन्त्र देखाएको छ । यति मात्रै नभएर फिल्ममा प्रहरीले किन यस्तो व्यवहार गर्छ भन्ने पनि देखाउन खोजेको छ ।

आधुनिक इतिहास हेर्ने हो भने सीमान्तकृत माथिको उत्पीडनको शुरुआत तामिलनाडुमा सन् १९६८ मा किलभेनमानीबाट भएको पाइन्छ । यहाँ कम्युनिष्ट पार्टीमा संगठित भएबापत ४४ जना दलित कृषि मजदूरलाई जमिनदारले जिउँदै जलाएको थियो । सन् २०१९ को आम चुनावको दिन मात्र दक्षिण तामिलनाडुको पोनपारा गाउँमा दुई पार्टीको कार्यकर्ताबीच विवाद हुँदा ११५ दलितको घर जलाइएको थियो । यसरी निरन्तर हिंसामा परेका आदिवासी, दलित वा अन्य सीमान्तकृतले यी घटनामा न्याय पाउन झनै कठिन छ ।

अहिले भारतमा सत्तापक्ष विशेषगरी राष्ट्रिय स्वयं सेवक संघ र यसको भ्रातृ संगठन अल्लाह अक्बरभन्दा पनि  जय भीमसँग चिढिने गरेका छन् । अहिलेको भारतमा जय भीमको नारा लगाउँदा, मोबाइलमा अम्बेडकरको गीत रिङ्गटोन बज्दा दलितहरुको हत्या हुने गरेको छ ।

राज्य र यसका संरचनाले सीमान्तकृत समुदायमाथि कस्तो व्यवहार गर्छ भन्ने तामिलनाडु प्रहरीलाई माध्यम बनाएर यो फिल्मले देखाएको छ । साथै, अल्पसंख्यक समुदायको आशाको रूपमा ‘जय भीम’लाई प्रस्तुत गरेको छ ।

जय भीम शब्दलाई फिल्मले प्रतीकात्मक रुपमा प्रस्तुत गरेको छ । कथाको बीचमा मुख्य अभिनेताले गान्धी, नेहरू मात्र किन ? अम्बेडकर खोइ भनेर प्रश्न गरेका छन् । सांकेतिक रुपमा अहिले पनि भारतीय समाजमा अम्बेडकर र उनको विचारको महत्वलाई यहाँबाट सांकेतिक रूपमा देखाउन खोजिएको छ । वर्तमान भारतमा करोडौं दलितका लागि जय भीम संघर्ष र आशाको प्रतीकको रूपमा रहेको छ भने अन्य अल्पसंख्यक समुदायले पनि यसलाई आफ्नो संघर्षको अभिव्यक्तिका रूपमा प्रयोग गरिरहेका छन् ।

भारतमा ‘जय भीम’को नारालाई राजनीतिक रुपमा ब्राह्मणवाद विरोधी नारा भन्ने बुझिन्छ । यो नाराको आफ्नै इतिहास र राजनीतिक उद्देश्य रहेको थियो । मूलत: यो नारा भारतको बहुजन समाजलाई राजनीतिक रुपमा प्रभावित गर्ने उद्देश्य थियो । अहिले भारतमा जय भीम विभिन्न राजनीतिक दाउपेचबीच पिछडिया समाजले आफ्नो हक-अधिकारको निम्ति अन्तरिक रुपमा एकीकृत हुन प्रयोग गरिरहेका छन् । यो नाराको प्रवर्तक बाबु एल.एन. हर्दास थिए । उनी डा. अम्बेडकरका अनुयायी हुनुका साथै स्वतन्त्र मजदूर पार्टीको मुख्य सचिव भएर काम गरेका थिए । उनी सन् १९३५ मा ‘पुना प्याक्ट’ हस्ताक्षरकर्तामध्ये एक हुन् ।

यो नारा मुख्यतया डा. अम्बेडकरको अनुयायीबीच अभिवादनको निम्ति प्रयोग हुँदै आएको छ । जसको शाब्दिक अर्थ भीमको विजय भन्ने जनाउँछ अर्थात् भीम राव अम्बेडकर । जय भीम डा. अम्बेडकरको अनुयायीहरुको व्याख्या आनुसार; समानता, प्रतिष्ठा, भ्रातृत्व र मुख्य रुपमा अन्याय विरुद्धको आवाज ठान्छन् । अहिले भारतीय मूलधार राजनीतिमा विशेषगरी बीजेपीले जय श्रीरामको प्रयोग आफ्नो राजनीतिक दाउपेचको निम्ति निकै नै प्रयोग गरेको पाइन्छ । तर, यसको विरोधमा भने कुनै पनि विपक्षी  पार्टीले एकजुट भएर राजनीतिक नारा अगाडि सार्न सकेका छैनन् ।

जय भीम खासगरी भारतको मूलधार राजनीतिमा सन् २०१९ को लोकसभाको चुनावपछि संसद भवनमा शपथ ग्रहणबीच हैदारावादको सांसद अशुदुदिन ओवैसी, अल इण्डिया मजलिस-ई-ईटिहाडुल मुस्लिमिनको प्रमुखले जय भीम, जय मीम, अल्लाह अकबर र अन्त्यमा जय हिन्दमा आफ्नो शपथ ग्रहणको अन्त्य गरेका थिए । यो घटनापछि नै जय भीमले अहिलेको भारतीय मूलधार राजनीतिमा प्रवेश पाएको थियो । सांसद ओवैसीले आफ्नो शपथ ग्रहणको समयमा बीजेपी सांसदहरुले जय श्रीरामको नारा लगाएर उक्साएका थिए । उनले जय श्रीरामको प्रतिउत्तरमा जय भीमको नारा लगाएको बुझ्न सकिन्थ्यो ।

तर, २०१९ को आम चुनावमा बीजेपीले एकलौटी बनाएको संसद भवनबाट जय भीमको नारा दिएर ओवैसीले जय श्रीरामलाई काउन्टर दिन एक मात्र राजनीतिक उपाय सुझाएको मान्न सकिन्थ्यो । उनी  सन् १९९० को उत्तरप्रदेशमा चलेको राजनीतिक भाष्य स्थापना गर्न प्रयासरत छन् । तत्कालीन अवस्थामा उत्तरप्रदेशको मुख्य दुई बहुजन समाज पार्टी र समाजवादी पार्टीले बीजेपीको नारा जय श्रीरामलाई निस्तेज पार्न ‘मिले मुलायम काशीराम, हावामे उड गय जय श्रीराम’ भन्ने नारा लगाएका थिए ।

खासगरी, भारतमा केही बुद्धिजीवीमाझ बीजेपीले जय श्रीरामलाई ब्राह्मणवादकै वर्चस्व कायम राख्नुअघि सारिएको विचारधाराको एउटा अंशको रुपमा लिने गरेका छन् । त्यसैले पनि ओवैसीले हिन्दू समाजभित्रको यो कमजोरी पहिल्याएर भारतीय राजनीतिमा बीजेपी विरुद्ध जय भीम मार्फत सम्पूर्ण सामाजिक र धार्मिक अल्पसंख्यक एकजुट हुन आह्वान गरेको मान्न सकिन्छ । मूलत: जय भीम प्रारम्भिक रुपमा दलितबीच मात्र रहे पनि भारतीय राजनीतिक स्वरुप बदलिंदै जाँदा र झनै अहिलेको धर्ममा लत्पतिएको भारतीय राजनीतिलाई उदार गर्न जय भीमको राजनीतिक प्रयोग अपरिहार्य जस्तो देखेका छन् ।

केही वर्षदेखि विशेषगरी बीजेपीको सरकारमा आगमन भएदेखि भारतीय दलित र मुस्लिमको अवस्था दयनीय अवस्थामा पुगेको छ । सचार कमिटी (सन् २००५ मा तत्कालीन मनमोहन सिंह सरकारले मुस्लिम समाजको सामाजिक, आर्थिक, शिक्षाको अवस्था बुझ्न खडा गरेको समिति)ले भारतीय मुस्लिमलाई भारतीय समाजको नयाँ दलितको रुपमा व्याख्या गरेको छ । त्यसैले पनि ओवैसी जस्तो चतुर नेताले यो नाराले भारतीय अल्पसंख्यकलाई ढिलो-चाँडो एक बनाउने कडीको रुपमा हेरेको देखिन्छ । यो नाराको विशेषता भनेको कुनै धर्मविशेषलाई भन्दा पनि धर्मनिरपेक्षतालाई राजनीतिक उद्देश्य बनाएको हुँदा पनि जय भीमले भारतीय पिछडाको मुक्तिको लागि कडीको रुपमा हेरिएको हो ।

यसबाट भारतीय अल्पसंख्यकहरुले के बुझ्नुपर्छ भने कुनै पनि राजनीतिक उपलब्धि हात पार्न आन्तरिक एकताको अत्यन्तै महत्त्वपूर्ण भूमिका हुन्छ । यसको लागि इमान्दारी एउटा मानक हो । यदि आफ्नो समुदायबीच रहेको समस्यालाई स्वीकार गरेर एकताको लागि हात बढाउँछन् भने ‘जय भीम’ कमजोरहरुको लागि शक्ति दिने माध्यम बन्न सक्ने सम्भावना पनि उत्तिकै छ ।

अहिले भारतमा दक्षिणपन्थी राजनीति निकै नै हाबी रहेको छ । जहाँ दलित र मुस्लिम समुदायलाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरिएको निकै घटना भेटिन्छ । यसै अनुरुप भारतमा दलित र मुस्लिम समुदायबीच सहकार्य पनि देखिन थालेको छ । सन् २०१९ को लोकसभा चुनावमा ओवैसीको पार्टी र प्रकाश अम्बेडकर (भीमराव अम्बेडकरका नाति) को पार्टी वञ्चित बहुजन आघाडीसँग सहकार्य गरेका थिए ।

यो दुई पार्टीको तालमेलले महाराष्ट्रमा राम्रो प्रतिफल निकाल्न सफल भएको थियो । यो चुनावबाट अल इण्डिया मजलिस-ई-ईटिहाडुल मुस्लिमिनका उम्मेदवार इम्तियाज जलिलले शिवसेनाको गढ मानिने औरंगावाद लोकसभा चुनावी क्षेत्रमा पहिलोपटक जितको झण्डा फहराएका थिए । महाराष्ट्र राज्यमा दलित, आदिवासी र मुस्लिम गरेर जनसंख्याको ३५ प्रतिशत हुन्छ । शायद ओवैसीले यस्ता तथ्यांकलाई नै मध्यनजर गरेर हुनसक्छ, ‘जय भीम’ को सहारामा दक्षिणपन्थी राजनीतिसँग सिंगौरी खेल्न तम्सिंदैछन् ।

खासमा भारतमा दलित र मुस्लिम एकता कुनै नयाँ होइन । सन् १९४६ मा डा. भीम राव अम्बेडकर संविधानसभामा बंगालबाट चुनाव जितेर जाँदा मुस्लिम लिगको मुख्य भूमिका रहेको थियो । अहिले भारतमा सत्तापक्ष विशेषगरी राष्ट्रिय स्वयं सेवक संघ र यसको भ्रातृ संगठन अल्लाह अक्बरभन्दा पनि  जय भीमसँग चिढिने गरेका छन् । अहिलेको भारतमा जय भीमको नारा लगाउँदा, मोबाइलमा अम्बेडकरको गीत रिङ्गटोन बज्दा दलितहरुको हत्या हुने गरेको छ । यसले भारतमा दिनमा दुई जना दलितको हत्या  र पाँचजना दलित महिलाको बलात्कार हुने गरेको आँकडा सत्य हो भन्ने प्रमाणित गर्छ नै, यसले  सत्ताको जात  दलितभन्दा पनि जय भीमसँग निकै डराउँछ भन्ने प्रमाणित हुन्छ ।

तर, यो एकतालाई बाहिरी तत्वभन्दा पनि भित्री समस्याले असर पार्ने प्रचूर सम्भावना देखिन्छ । ओवैसी जस्तो नेता हरसमय बीजेपी सरकारको ज्यादती विरुद्ध आगो ओकलिरहेको हुन्छन् । तर, उनी आफ्नो समुदायबीच हुने भेदभाव विरुद्ध बोल्न त के सुन्न पनि चाहँदैनन् । भारतमा २४६ थरीका मुस्लिम समुदाय छन् । जसमा पसमन्दा समुदाय तीन-चौथाइ छन् ।

इस्लामले पहिचानमा आधारित असमानता स्वीकार्दैन भन्ने जिकिर छ तर अहिले वर्तमान अवस्थामा भारतमा मुस्लिम तीन तह अर्थात् तीन जातिमा विभाजित छन् । अशरफ (उच्च जाति), पसमन्दा: अजलफ्स (ओविशी अर्थात् पेशागत जाति) र अरजल्स (दलित/अछूत) । सचार आयोग अनुसार मुस्लिम समुदायबीच सामाजिक-आर्थिक असमानता निकै गहिरो देखिएको र यो समाज लोकतन्त्रीकरणतर्फ नबढिरहेको भन्ने रिपोर्टले देखाइरहेको थियो । मुस्लिम नेताहरु राजनीतिक रुपमा मुस्लिम पहिचानमा मात्र ध्यान केन्द्रीकृत गरी राज्य सत्तासँग बार्गेनिङ गर्न तल्लीन देखिएको र आफ्नो समुदायभित्रको मूल समस्यालाई दरकिनार गर्ने गरेको आरोप लाग्ने गर्छ ।

अहिलेको वर्तमान समयमा यी दुई समूहको गठबन्धन केही हदसम्म जरुरी देखिएको छ । तर, लामो समयसम्म एकता रहन्छ भन्ने शंका गर्न ठाउँ दिएको छ । गठबन्धनको आधारभूत रुपमै समस्या देखिएको छ । पहिलो समस्या नै वैचारिक र राजनीतिक रुपमा रहेको छ । मूलत: प्रकाश अम्बेडकरको बहुजन विचारधारालाई सशक्त मानिंदैन । अर्कोतर्फ भने ओवैसी दलित मुद्दामा निकै मुखरित छन् ।  तर मुस्लिमभित्रको जातिवाद विरुद्ध कहिल्यै बोल्दैनन् । उनी इस्लामभित्र समतावादी सिद्धान्त रहेको जिकिर गर्छन् ।

तर, उनले भारतीय उपमहाद्वीपको सामाजिक संरचनाको विशेषता नबुझेको जस्तो गर्छन् । यसले उनको राजनीतिक पाखण्डपन त देखाउँछ नै उनमा बौद्धिक इमान्दारी पनि नरहेको प्रमाणित गर्छ । उनको बुझाइ भारतको ब्राह्मणवादको विरोधी चिन्तन नभई फगत एउटा गैर-ब्राह्मणवाद चिन्तन मात्र हो । जुन विचारले मुस्लिमभित्रको पसमन्दा मुद्दाको व्याख्या गर्ने हिम्मत गर्दैन किनभने पसमन्दा मुद्दा पनि दक्षिण एसिया सामाजिक संरचनाबाट प्रभावित छ भन्ने बुझ्न जरुरी छ ।

हामीले सीधा हेर्दा हिन्दू समाजमा मात्र जातीय संरचना रहेको देखिन्छ । तर, दक्षिण एसियामा क्रिस्चियन, सिखदेखि बुद्धिस्टसम्म जातीय संरचना कायम छ । अरुभन्दा हामीलाई अचम्म लाग्न सक्छ । हामीले सुनेको र देखेको श्रीलंका बुद्धिस्ट राष्ट्र हो । बुद्धिज्मको आधारशिला नै जातविरोधी आन्दोलनबाट भएको थियो । तर, त्यहाँ पनि जातीय संरचना कायम छ । त्यसैले, यदि विचार गर्ने हो भने दक्षिण एसियाली मार्च मिसनमा संलग्न भएर मंगल ग्रहमा बसोबास गर्न थाले भने दक्षिण एसियालीले मंगल ग्रहमा पनि जात कायम गर्छन् भन्ने आशंका छ ।

राजनीतिक रुपमा ‘जय भीम-जय मीम’ आफ्नो लक्ष्यमा पुग्न दृढ देखिन्छ । तर त्यसको लागि सामाजिक रुपमा चाहिने आन्तरिक एकतालाई पूर्ण रुपले नजरअन्दाज गरेको देखिन्छ । यसले राजनीतिक गठबन्धन केवल ब्राह्मणवादी आरोप लागेको पार्टी कांग्रेस र बीजेपीलाई हराउने सपना बाहेक अरु केही देखेका छैनन् । तसर्थ, यो गठबन्धनको वैचारिक अस्पष्टताले मुस्लिमहरुलाई विषम समुदायको रुपमा प्रतिनिधित्व गर्ने सम्भावना न्यून छ । भारतमा सबैभन्दा डरलाग्दो परिस्थिति विशेषगरी चुनावको समयमा हुने साम्प्रदायिक हिंसा र धार्मिक ध्रुवीकरणजस्ता कठिन परिस्थिति सम्हालेर भोट मार्फत कसरी शक्ति आर्जन गर्छन् भन्ने ठूलो चुनौती छ ।

यता भारतमा अहिले विशेषगरी क्षेत्रीय पार्टीहरु केन्द्रमा आफ्नो प्रतिनिधित्वको लागि ध्यान केन्द्रीकृत गर्न लागिपरिरहेका छन् । यसले गर्दा राजनीतिक गठबन्धन धेरै किसिमको र धेरै तहमा बन्न सक्ने सम्भावना छ । यस्ता गठबन्धनले धर्म र विशेषगरी मुस्लिम र दलित मुद्दालाई कसरी सम्बोधन गर्छ भन्ने अनिश्चित छ । यदि क्षेत्रीय पार्टीले पनि हिन्दू धर्मलाई राजनीतिको केन्द्रमा राखेमा जय भीमलाई थप चुनौती आइपर्नेछ । यो अवस्थामा गठबन्धनले दुई मोर्चा अर्थात् राष्ट्रिय राजनीतिदेखि राज्यस्तरको राजनीतिक पार्टीसँग सिंगौरी खोज्नुपर्ने हुन्छ । यो राजनीतिक ध्रुवीकरणमा मुस्लिम नेता ओवैसीभन्दा दलित नेता प्रकाश अम्बेडकरको राजनीतिक चुनौती धेरै हुने सम्भावना छ । यदि विपक्षी पार्टीहरुले उनलाई दलितहरुको नेताभन्दा पनि उनी मुस्लिम समुदायको पक्षको नेता भनेर आरोप लगाउने सम्भावना प्रबल छ । यस्तो परिस्थितिमा दलित समुदाय राजनीतिमा एक्लिन सक्ने जोखिम पनि धेरै हुनेछ ।

तर, संसारमा जहींकहीं पनि यदि कुनै पनि समूह बहिष्कृत भएको महसुस गर्छन् र उनीहरु लोकतान्त्रिक रुपमा अघि बढ्ने संकल्प लिन्छन् भने त्यो कुनै पनि समूहको लागि फलदायी नै हुन्छ । तर आफ्नो समूहभित्रको समस्या खासगरी संसारको सबै समाजमा रहेको पितृसत्तात्मक संरचनादेखि दलितभित्रका पनि अछूतहरु सम्बन्धी बहस नगर्ने र उनीहरुलाई जहिले राजनीतिक भर्याङ मात्र बनाउने हो भने राजनीतिले कहिल्यै पनि कमजोरहरुको मुक्ति गर्दैन ।

भारतमा अहिले अल्पसंख्यक अति कमजोर अवस्थामा छन्, त्यसको ठीक उल्टो सत्ता पक्ष अति नै बलियो देखिएको छ । यसबाट भारतीय अल्पसंख्यकहरुले के बुझ्नुपर्छ भने आन्तरिक एकताको कुनै पनि राजनीतिक उपलब्धि हात पार्न अत्यन्तै महत्त्वपूर्ण भूमिका हुन्छ । यसको लागि इमान्दारी एउटा मानक हो । यदि आफ्नो समुदायबीच रहेको समस्यालाई स्वीकार गरेर एकताको लागि हात बढाउँछन् भने ‘जय भीम’ कमजोरहरुको लागि शक्ति दिने माध्यम बन्न सक्ने सम्भावना पनि उत्तिकै छ ।अनलाइन खबरबाट

(लेखक साउथ एसियन स्टडिजका अध्येता हुन् ।)