कतारमाथि नेपालको सानदार क्लिनस्वीप

झापा । नेपाली महिला क्रिकेट टोलीले कतारसँगको तीन डब्लूटि-२० आई खेलको सिरिजमा क्लिनस्वीप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा नेपालले कतारलाई १ सय ९ रनको फराकिलो अन्तरले हराउँदै सानदार क्लिनस्वीप गरेको हो ।

जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ५५ रन बनायो । कतारकी शीर्षक्रमकी ब्याटर एलिना खानले ३३ बलमा ३ चौका सहित सर्वाधिक १९ रन बनाइन् । कप्तान आयशा १४ बलमा १ चौका र १ छक्का सहित १३ रनमा क्याच आउट भएकी थिइन् । अन्य ब्याटरले दोहारो अंकमा रन बनाउन सकेनन् ।

रुविना क्षेत्री बेलबासेले ४ ओभरमा ९ रन खर्चेर १ विकेट लिइन् । सरस्वती कुमारी चौधरीले ४ ओभरमा १ मेडन सहित १० रन खर्चेर १ विकेट लिइन् । सबनम राईको नाममा १ विकेट रह्यो । कतारका ४ खेलाडी रन आउट भएका थिए ।

त्यसअघि कतारको दोहामा रहेको वेस्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । नेपाली महिला टि२० आईमा यो हालसम्मकै उच्च योगफल हो । यसअघि कतारसँग पहिलो खेलमा नेपालले बनाएको १ सय ४६ रन उच्च थियो । नेपाललाई बलियो योगफलमा पुर्याउन सीता रानामगर ७२ बलमा ७ चौका सहित सर्वाधिक ८२ रनमा अविजित रहेकी थिइन् । यो नेपाली महिला टि२० आईमा एकै खेलमा ब्यक्तिगत उच्च प्रदर्शन हो ।

सीताले इन्दु बर्माको ५५ रनको कीर्तिमान तोडेकी हुन् । सीताले ४७ बलमा आफ्नो डब्लूटि२० आई खेलमा पहिलो अर्धशतक पूरा गरेकी थिइन् । सीता नेपालबाट महिला टि-२० आईमा अर्धशतक प्रहार गर्ने तेस्रो खेलाडी हुन् । यसअघि कतारसँग पहिलो खेलमा इन्दु बर्माले ५५ रन बनाउँदै नेपाली महिला क्रिकेटको डब्लूटि२० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान रचेकी थिइन् । कतारसँग दोस्रो खेलमा कप्तान रुविना क्षेत्री बेलबासेले ५० रनको इनिङ खेलेकी थिइन् ।

ओपनर सीता र काजल श्रेष्ठले पहिलो विकेटका लागि ४.४ ओभरमा ३२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । काजललाई एन्जेलिन मार्वेले विकेटकिपर श्रुतिबेन राणाबाट ७ रनमा क्याच गराएकी थिइन् । दोस्रो विकेटका लागि ज्योति पाण्डे र सीताले ६७ रनको साझेदारी गरेका थिए । ज्योति २० बलमा १ चौका सहित २४ रनमा आउट भइन् ।

ओपनर काजल श्रेष्ठ ७ रनमा आउट भएकी थिइन् । ज्योति साची धडवलको बलमा रिज्फा बानोबाट क्याच हुन पुगेकी थिइन् । कप्तान आयशाले डली भट्टलाई १२ रनमा बोल्ड आउट गरिन् । सरिता मगर ११ बलमा १ चौका सहित ११ रनमा अविजित रहिन् । नेपालले पहिलो खेलमा कतारलाई १ सय १९ रन र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो ।

नेपालले आइसिसी वुमन्स टि-२० एसिया छनोट अघि तयारीको लागि कतारसँग तीन टि-२० आई सिरिज सिरिज खेलेको हो । नेपाली महिला क्रिकेट टोली अव शुक्रबार युएईतर्फ लाग्नेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि-२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले अर्को वर्ष हुने ग्लोबल छनोट बनाउन युएईमा एसिया छनोट हुँदै छ ।

एसिया छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन् । विजेता टोलीले आगमी वर्ष हुने टि-२० ग्लोबल छनोट खेल्न पाउने छन् । नेपाल प्रमुख दाबेदार टोली हो । नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । मंसिर ७ गते भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ । (हाम्रो खेलकुद)