काँग्रेस झापा क्षेत्र नम्बर १ प्रदेश ‘क’ र ‘ख’ मा धेरै पदमा कडा प्रतिष्पर्धा हुँदै

किशोर उपरकोटी
मेचीनगर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत झापा क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ मा सभापतिसहित अन्य पदमा प्रतिष्पर्धा हुने निश्चित भएको छ ।
प्रदेश सभा ‘क’ को बिहीबार काँकरभिट्टा सामुदायिक भवनमा भएको उम्मेद्वारी मनोनयन दर्तामा एक पदमा सो भन्दा बढीको उम्मेद्वारी परेपछि शुक्रबार मतदानबाट नयाँ समितिको टुंगो लगाउनु पर्ने भएको छ ।
निर्वाचन समितिका अनुसार प्रदेश ‘क’ सभापतिमा ३ जनाको उम्मेद्वारी परेको छ । हरिबहादुर बुढाथोकी, हर्कबहादुर लिम्बु (फ्याक) र बद्री खड्काको उम्मेद्वारी परेको छ । त्यस्तै, २ उपसभापतिका लागि ४ जनाको उम्मेद्वारी परेको छ । उपसभापति पदमा उम्मेद्वारी मनोनयन गर्नेमा हिम्मत क्षेत्री, शसी राई (थापा मगर), रेवादास उप्रेती र गंगा कोइराला छन् ।
यस्तै, सचिव पदमा ५ जनाको उम्मेद्वारी परेको छ । निर्वाचित हुने संख्या २ रहेको सचिव पदमा इन्द्रप्रसाद आङ्देम्बे, नारायणबहादुर बस्नेत, भेषराज ओली, विशाल तामाङ र सूर्यप्रकाश उप्रेतीले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् । यस्तै, सहसचिवमा ३ जनाको उम्मेद्वारी परेको छ । दिलकुमारी श्रेष्ठ, नरेन्द्र न्यौपाने र विटु गुरुङको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । यो पदमा दुई जना निर्वाचित हुनेछन् ।
यस्तै, प्रदेश प्रतिनिधितर्फ (खुल्ला महिलातर्फ) ३ पदका लागि ६ जनाको उम्मेद्वारी परेको छ । करुणा रिजाल, भद्रमाया बस्नेत, राधिका गुरुङ, लक्ष्मी अधिकारी, शान्ति चौधरी र सीतादेवी कार्कीको उम्मेद्वारी परेको छ । यस्तै, खुला खस आर्यतर्फ दुई पदका लागि ४ जनाको उम्मेद्वारी परेको छ । केदारनाथ निरौला, धर्मानन्द खनाल, युद्धराज ओली र लालबहादुर सिंह ठकुरीको उम्मेद्वारी परेको हो । खस आर्य महिलातर्फ भने धनकला दाहाल निर्विरोध निर्वाचित भएकी छन् ।
प्रदेश सदस्य खुलातर्फ १९ जनाको उम्मेद्वारी परेको छ । ७ पदका लागि उम्मेद्वारी दिनेमा इन्द्रप्रसाद खरेल, कुमार बुढाथोकी, गोपालप्रसाद शिवाकोटी, चेतनाथ बाँस्तोला, दिपककुमार थापा, दिलिप सुवेदी, द्रोणबहादुर बागदास, प्रल्हाद श्रेष्ठ, बसन्त तिवारी (बुद्ध) छन् ।
यस्तै, रविन काफ्ले, रविन भट्टराई, राजकुमार कार्की, रुपसागर अधिकारी, लक्ष्मण बस्नेत, विष्णुप्रसाद प्रसाई, शरदप्रसाद खनाल, सञ्जय निरौला, सन्तविर खाती र हरिप्रसाद अधिकारी रहेका छन् । त्यसैगरी, प्रदेश प्रतिनिधिमा आदिवासी जनजाति महिलातर्फ भूमादेवी आङ्देम्बे, दलिततर्फ चन्द्रकुमारी विश्वकर्मा, मुस्लिमतर्फ अमिन अली शेख सर्वसम्मत चयन भएका हुन् । त्यस्तै, आदिवासी खुलातर्फ २ पदका लागि ४ जनाको उम्मेद्वारी परेको छ । निमा लामा, प्रकाश कन्दङ्वा लिम्बु, मिलन राई र सिद्धिविक्रम नेम्बाङको उम्मेद्वारी परेको छ ।
उता, क्षेत्र नम्बर १ प्रदेश ‘ख’ अन्तर्गत सचिव, सहसचिवलगायत धेरै पदमा निर्विरोध निर्वाचित भएको सहायक मतदान अधिकृत टेकेन्द्र ढकालले जानकारी दिए । उनका अनुसार सचिव पदमा लक्ष्मी घिमिरे र प्रमोद खतिवडा निर्विरोध निर्वाचित भएका छन् भने सहसचिवमा अनिता राजवंशी र रमेश बस्नेत सर्वसम्मत भएका हुन् ।
दुई मुख्य पदमा भने मतदानबाटै छिनोफानो गर्नुपर्ने भएको छ । प्रदेश ‘ख’ सभापतिमा ४ जनाको उम्मेद्वारी परेको छ । उम्मेद्वारी दिनेमा विष्णु रिमाल, पुष्पराज कार्की, सन्तोष न्यौपाने र सीता पोखरेल छन् ।
त्यस्तै २ उपसभापति पदका लागि ४ जनाको उम्मेद्वारी परेको छ । उम्मेद्वारी दिनेमा मोहन लिम्बु, सोम ढुंगेल, मिनाकुमारी गजमेर र उत्तमकुमार लिम्बु छन् । खुला महिला सदस्यतर्फ पनि प्रतिष्पर्धा हुने भएको छ । ३ पदका लागि ४ जनाको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । जसमा ज्ञानु थापा, ज्योति न्यौपाने, दिलकुमारी तामाङ र मालती बिष्टको उम्मेद्वारी परेको छ । दलिततर्फ रिता मल्लिक तथा अल्पसंख्यकतर्फ बसन्त मेचे र समावेशी महिलातर्फ ३ जना सर्वसम्मत भएका छन् । प्रदेश प्रतिनिधि खुलातर्फ ७ पदमा पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
काँग्रेसको क्षेत्र प्रदेश अन्तर्गत २५ सदस्यीय समिति बन्नेछ । उम्मेद्वारी मनोनयन फिर्ताको समय सकिएकाले शुक्रबार बिहान ८ बजेबाट मतदान कार्य शुरु हुने जनाइएको छ । प्रदेश ‘क’ को मतदान काँकरभिट्टास्थित सामुदायिक भवनमा हुँदैछ भने ‘ख’ को चारआलीस्थित हातेमालो सामुदायिक वन परिसरमा हुने निर्वाचन समितिले जनाएको छ ।