२०८२ बैशाख २१ आईतवार

उत्तम विचारको शब्द, बबिना भट्टराईको स्वर एवं संगीतमा गजल गजलका कुराले सार्वजनिक 

काठमाडौः पछिल्लो समय गीत संगीतको क्षेत्रमा गजल लोकप्रिय बन्दै गएको छ । परम्परागत साहित्यिक शैलीलाई समेट्दै समसामयिक विषयवस्तु प्रस्तुत गर्ने माध्यमको रूपमा गजलको प्रभाव विस्तार भइरहेको छ । नेपाली गजलकारहरूले राजनीतिक, सामाजिक, प्रेम, पीडा, परदेशी जीवनजस्ता विषयहरूलाई गजलमार्फत प्रभावशाली ढंगले प्रस्तुत गर्दै आइरहेका छन् जसले गर्दा जनमानसको भावना उजागर गर्न गजलले सहयोग पुर्याएको छ भने गजलले नेपाली साहित्यमा भाषिक सौन्दर्य, लयात्मकता, प्रतीकात्मकता र गहन अर्थ भित्राएको छ । गजलले साहित्यिक विधामा विविधता समेत ल्याएको छ । नयाँ पुस्ताका लेखक तथा पाठकहरू पनि गजलप्रति आकर्षित भइरहेका छन् । नेपाली गजल अहिले साहित्य, संगीत र समाजको बीचमा सेतुको काम गर्दै, परम्परा र आधुनिकताको सन्तुलनमा गहिरो प्रभाव छोडिरहेको अनुभूति भइरहेको छ ।

म बर्साऊँ कि जल गजलका कुराले
भिजाऊँ मरुस्थल गजलका कुराले…

सरसर्ती पढ्दा गजलको यो शेर सामान्य लाग्छ । गजलका कुराले वर्षा गराउने र त्यो वर्षाले मरुस्थल अर्थात मरुभूमि विभाउने कुरा छ । जल वर्से पछि मरुभूमि या जुनसुकै भूमि भिज्छ नै । तर यो शेरको अर्थ गहनतम् छ, मरुभूमि भिज्ने र भिजाउने सन्दर्भमा मात्र सिमित छैन । जलको शाब्दिक अर्थ पानी नै हो, विशेष गरि गंगा आदि नदिको पवित्र पानी, देवतालाई स्नान गराएको वा पूज्यजनको पाउ धोएको पानी, चरणामृतलाई जल भनिन्छ । गजलको शेरले यी पवित्र पानीलाई मात्र समेटेको छैन, भावना, आँसु वा अभिव्यक्तिलाई पनि समेटेको छ जहाँ भावना, प्रेम, विरह, पिडा सबै अटाएका छन्, गजलका कुराले मरुभूमि तथा रित्तपोपन, शुष्कता, निष्ठुरता, प्रेमविहिनता लाई पनि भिजाएर रसिलो बनाउने भाव गजलको शेरमा छ । भावनात्मक रुपमा हेर्दा गजलको शेरले कसैको कठोर मन पगाल्न सक्ने विम्व छ, मरुस्थल शब्दले सहारा मरुभूमि भन्न खोजेको होइन मरुस्थल त्यो मान्छेको मन हो जहाँ भावना छैन, करुणा छैन, प्रेम छैन तर गजलले त्यो मन पनि भिजाउन सक्छ अर्थात त्यो मनमा पनि भावना, करुणा र प्रेमको अनुभूति दिलाउन सक्छ ।

जल्यो तन, जल्यो मन छ आगो वदनमा
बनाऊँ म शीतल गजलका कुराले …

बदनमा नै अग्नी भए पछि तन, मन जल्ने नै भयो, अग्नीको काम नै जलाउनु हो । यति बेला शरीर र मन दुवै जलिरहेको अवस्था छ, त्यो जलनको पिडा जो जलेको छ उसले मात्र महशुष गर्न सक्छ, अरुले गर्ने अनुमान मात्रै हो । गजलमा आगोलाई प्रतीकको रुपमा लिइएको छ । आगोले क्रोध,पिडा, अशान्ति, वियोग, वेदना, विरहलाई समेटेको छ अनि यिनै भावले उत्पन्न हुने दुःख, पिडा, मानसिक तनाव वा भनौ गहिरो भावानात्मक आघातलाई समेटेको छ, यी भावहरुलाई गजलका शब्द, भावना, संगीत र झंकारले कसैले भोगिरहेको गहिरो पीडा, तनाव वा भावनात्मक आगो अनि गजलमार्फत यस्तो आगोलाई पनि शीतलता दिन सक्छु, सान्त्वना दिन सक्छु, आशा दिन सक्छु भन्ने भाव रहेको छ । यो शेरले गजल भनेको उपचार हो, शान्ति दिने माध्यम हो, जलिरहेको मनलाई शितलता दिने श्रोत हो भनेर गजलको महत्वलाई दर्शाइएको छ । गजलको यो शेरले गजलको उपचारात्मक शक्ति लाई उजागर गरेको छ । शरीर र आत्मा जलिरहेका छन्, संसार दुखै दुःखले भरिएको छ, तर गजलका मीठा, संवेदनशील कुराले त्यो आगोमा पनि शीतलता ल्याउन सकिन्छ भन्ने अर्थ गजलको यो शेरले बोकेको छ ।
म बादल म वर्षात बिजुली बनेर
मचाऊँ म हलचल गजलका कुराले …

बादल, वर्षात, बिजुली प्रकृतिका तीन शक्तिशाली रुप हुन् । बादल अर्थात गहिरो र अर्थपूर्ण, वर्षा अर्थात सान्त्वनादायी, जीवनदायी, बिजुली अर्थात चमत्कारी र तरङ्ग फैलाउने, आकस्मिक रुपमा प्रभाव पार्न सक्ने प्राकृतिक शक्ति अनि यी सबै शक्ति गजल मार्फत सम्भव छ, गजलले नै मानिसका भावना झकझक्याउन सकिने र समाजमा चेतना फैलाउन र परिवर्तन ल्याउन सकिने, गजल केवल भाुवकता होइन त्यो जागरण हो, हलचल ल्याउन सक्ने हतियार हो भन्ने भाव गजलको यो शेरले बोकेको छ ।

म सङ्गीतको मूर्च्छनाभित्र डुब्छु
बजीदिन्छ मादल गजलका कुराले …

यो शेर अलि फरक छ अनि यो शेरले दिने सन्देश पनि फरक छ । गजलको यो शेरले संगीतात्मक, भावनात्मक र शब्दको लयात्मक शक्ति झल्काएको छ । मूर्च्छना आफैंमा सांगितिक शब्द हो जसको अर्थ संगीत भित्रको पनि गहिरो भाव वा अवस्था हो जहाँ मानिस एक प्रकारले आत्मविस्मरणमा पुग्न सक्छ । संगीतको मूर्च्छना भित्र डुब्दा संसार विर्सन सकिन्छ । गजल शब्द मात्र होइन संगीतले गजललाई अनुभूतिमय बनाउन सकिन्छ, जब गजल संगीतमय बन्छ त्यो गजलले तन, मन र आत्मामा संगीत, लय र उत्सव ल्याउँछ । त्यति बेला गजलले मादलको ध्वनी जस्तै गहिरो अनुभूति फैलाउँछ, गजलको यो शेरले गजललाई लय, भावना र संस्कृतिको संगमको रुपमा प्रस्तुत गर्छ ।

तिमी प्यास मेट्न नदीसम्म धायौ
बगीदिन्छु अविरल गजलका कुराले …

यो शेरमा ‘तिमी’ शब्दलाई प्रतिकात्मक रुपमा प्रयोग गरिएको छ । तिमी भन्नाले श्रोता, पाठक, समाज भन्ने बुभ्‌न सकिन्छ जो भावनात्मक, आत्मिक तिर्खा मेट्न नदी अर्थात श्रोत तर्फ लम्किन्छ तर नदी गजलको रुपमा आँफै भित्र प्रवाहित थियो । तिमी नदी अर्थात श्रोत खोज्दै थियौ तर म त स्वयं बगिरहेको थिएँ तिमी भित्रै, तिमीलाई सान्त्वना दिन, शान्ति दिन अनि गहिरो अनुभूति भित्र डुवाउन । गजलको यो शेरले गजललाई जीवनदायी नदीको रुप दिएको छ, जसरी नदी प्यास मेटाउँछ गजलले पनि आत्मिक प्यास मेटाउँछ, सान्त्वना दिन्छ, प्रेरणा दिन्छ र अविरल बग्ने सत्यको माध्यम बनिदिन्छ ।

समग्रमा गजल केवल शब्दहरूको खेल मात्र होइन, गजल एक अनुभूति हो, जसले पीडितलाई शीतलता दिन सक्छ, सुकेको मनलाई भिजाउन सक्छ, सङ्गीतजस्तो आत्मालाई स्पर्श गर्न सक्छ र समाजमा चेतना र हलचल ल्याउन सक्छ । गजल पानी झैं जीवनदायी, सङ्गीत झैं गहिरो,आगो झैं शक्तिशाली र नदी झैं निरन्तर बगिरहने माध्यम हो । यो गजलमा गजलकारको मन, आत्मा, र विचारहरू गजलमा समर्पित छन् । गजल मार्फत उनी सान्त्वना, ऊर्जा, परिवर्तन, र सौन्दर्य दिन चाहन्छन्, गजल एउटा अनुभूति हो, जुन बोल्दैन तर भित्रसम्म बोल्छ, दुःखीलाई सान्त्वना, सुकेकोलाई भिजाइ, मौनतालाई लय दिन्छ ।

यति विम्वात्मक, प्रतिकात्मक, जीवन्त एवं अर्थपूर्ण गजल लेख्ने गजलकार हुन् कवि तथा गजलकार उत्तम विचार भेटुवाल । उनका भावनात्मक गहिराई, प्रतीकात्मकता, र आत्मिक उथलपुथलका श्रृङ्खला बोकेका, बादल वर्षा, बिजुली, मरुस्थल, मन, मुटु, नदी, प्यास, प्रेम, समर्पण आदिलाई विषय बनाएर अघि बढेका गजलका यी सुन्दर शेरहरुलाई अहिले निकै चर्चाको चुलीमा रहेकी गायिका तथा संगीतकार बबिना भट्टराईले आफ्‌नो मधुर र लययुक्त स्वर एवं गजलको परम्परागत लय संगै आधुनिक प्रस्तुति मिसिएको संगीतमा सार्वजनिक भएको छ । उक्त गजलमा बिनोद भुजेलको एरेन्ज रहेको छ । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त गजलकोे मिक्सिङ मास्टरिङ प्रकाश खरेलले गरेका छन् ।

ए.जे. अजुले गजलको गहिराइ र संगीतको लयलाई चित्रण गरि निर्देशन गरेका ‘गजलका कुरा’ को भिडियो सम्पादन भने अनिल विष्ट प्युठानीले गरेका छन् । भिडियोमा बबिना आफै फिचर्ड भएकी छिन् । बाद्यवादन समुह संग बाद्यवादन सहित स्टेजमा रहेर गजल गाइरहेको भिडियोले गजलको महफिलको अनुभूति गरेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । ‘गजलका कुराले’ गजलको भिडियोमा प्रिया नगरकोटीले श्रृङ्गार सहित उपेन्द्र लिम्वु हारमोनियम,दिपक सापकोटा तवला, जय वि.के गितारमा रहेर बबिनाको गायनलाई महफिलमय बनाएका छन् । गजल ‘गजलका कुराले’ भिडियो गायिका तथा संगीतकार बबिना भट्टराईको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

इमेज एफ.एम. ९७.९ मा हरिराम पौडेलले संचालन गर्ने प्रस्तुति ‘मेची देखि महाकाली सम्म’ मार्फत गजलको अडियो सार्बजनिक गर्दै गजलकार उत्तम विचारले नेपाली गजल आकाश थप चौडा हुँदै गएको परिप्रेक्षमा अर्को एउटा बादलको चोइलो चोइलो थपिएको भान गरेको बताएका छन् भने गायिका तथा संगीतकार बबिना भट्टराईले निकै मेहनतका गाएकी आफ्‌नो यस गजललाई तपाईं तमाम पाठक, दर्शक, श्रोताले सुनेर हेरेर न्याय दिनुहुनेछ भन्ने आफ्‌नो अपेक्षा रहेको उनले बताएका छन् ।

गायिका तथा संगीतकार बबिना भट्टराईले गजल ‘गजलका कुराले’ सार्वजनिक भएको खुसी साट्दै भन्छिन् ‘उत्तम विचार भेटुवालका गहिरो भाव बोकेको यो गजललाई मेरो पोल्टामा हालिदिनु भएको र वहाँका शब्दहरुमा मेरो स्वर र संगीतमा सार्वजनिक भएको यो गजल यहाँहरु सबैले मन पराइदिने अपेक्षा राखेकी छु, गजल सुनेर तथा हेरेर गजलको बारेमा आफ्‌नो अमुल्य सल्लाह, सुझाव दिन पनि मेरा दर्शक तथा श्रोताहरुलाई अनुरोध गर्दछु साथै यस गजलको श्रृजनामा जोडिने सम्पूर्ण टिम प्रति आभार व्यक्त गर्दछु ।’

उत्तम विचारद्वारा रचित यो गजल ‘गजलका कुराले’ गजल, गजलको शक्ति र प्रभावलाई विषयवस्तु बनाउँदै अगाडि बढेको अनुभूति हुन्छ । शब्दहरू केवल व्याकरणीय संयोजन होइननन् ती प्रतीकात्मक संसार पनि हुन् भन्ने भाव गजलमा प्रयोग भएका मरुस्थल भिजाउनु, शीतलता बनाउनु, हलचल मच्चाउनु, मादल बजाउनु, अविरल बग्नु — यी सबै अभिव्यक्तिहरू गजलको माध्यमबाट मानिसको मनोभूमिमा उत्पन्न हुने तरंगहरू हुन् । उनले गजललाई केवल श्रृङगार, पीडा वा सौन्दर्यको बयानमा सीमित नराखी त्यसलाई क्रान्तिकारी ऊर्जा, भावनात्मक मलम, र सामाजिक जागरणको उपकरणका रूपमा प्रस्तुत गरेका छन् ।
गयिका तथा संगीतकार बबिना भट्टराईले शब्दको आत्मालाई नछोपेर झनै उजागर गरिने गरी संगीत संयोजन गरेकी छन् भने स्वर संयोजन झन् बेजोड रहेको छ । शब्द अनुसार कुनै ठाउँमा स्वर मौनजस्तै हुन्छ जस्तो कि पीडाको सुइँको, त कहीं स्वर गर्जन्छ — परिवर्तनको हुंकार झैं । उत्तम विचारका गजल ‘गजलका कुराले’ एउटा यस्तो सशक्त सिर्जना हो, जसले नेपाली गजलको संवेदनशील पाटोलाई अझ गहिराइमा चिनाउन सक्छ भन्ने विश्वास लिन सकिन्छ । शब्दको गहिराई, स्वरको गाम्भीर्य, संगीतको सरलता, र दृश्यको मर्मस्पर्शीपनले गजल ‘गजलका कुराले’ नेपाली गजलप्रेमीका लागि मात्र नभएर, संगीतको आत्मासँग जोडिन चाहने हरेक संवेदनशील आत्माका लागि उपहार मान्न सकिन्छ ।
कवि तथा गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ गजल ‘गजलका कुराले’ का सन्दर्भमा भन्छन् ‘आहा ! बेजोड सेरहरू, स्वर र सङ्गीतको मिठासपूर्ण सङ्गमले गजल भित्रका गजलका कुरा सुनिरहूँ लाग्ने बनेको छ । गजलकार उत्तम विचार र गायिका बबिना भट्टराई लगायत सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना छ !’

‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्दमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने पछिल्लो समय बबिना भट्राईको आफ्‌नै आध्यात्मिक युट्युव च्यानल श्री भजन्स् मार्फत उनका भजनहरु सार्वजनिक हुदै आएका छन् । महाशिवरात्री पर्वको अवसरमा शिव भजन ‘जय जय शम्भु’ र राम नवमीको अवसरमा ‘मनमा बसाएर राम’ श्री भजन्स् युट्व च्यानल मार्फत सार्वजनिक भइसकेका छन् । भजन गायनमा विशेष रुचि राख्दै विभिन्न धार्मिक पर्वहरुमा सान्दर्भिक भजनहरु सार्वजनिक गर्दै आएकी बबिनाका आगामी भजनहरु दर्शक, श्रोताहरुले उनको आफ्‌नै भजन च्यानल ‘श्री भजन्स्‌’ मार्फत हेर्न र सुन्न सक्नेछन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्‌नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् ।

नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् । भर्खरै म्युजिक नेपालको स्टुडियोमा कुमार महाराज, विकास सुनार र रत्नका साथमा उनको नयाँ एवं फरक गीत ‘अपराजिता’ मा बाजाको तालमेल मिलाएर समाजसेवी एवं बालचिकित्सक अपराजिता अधिकारीको स्मृतिमा हरिराम पौडेलले लेखेका मार्मिक शब्दहरुमा आफ्‌नो संगीत सहित स्वर भरेकी छिन् भने हालसालै उनको छमछम नाच्न मिल्ने भावको वि.वि. थापाको शब्दमा रहेको गीत ‘अल्लारे’ सार्वजनिक भएको छ । यसर्थ गायिका तथा संगीतकार बबिना भट्टराई ‘अल्लारे’ जस्तो छमछम नचाउने गीत अनि महफिलको अनुभुति हुने ‘मदहोस’ गजल, अपराजिता जस्तो स्मृति समेटिएको गीत, ‘पिरतीको गीत’ जस्तो प्रेमिल गीत, ‘के हुन्छ होला’ जस्तो जीवन दर्शनको गीत, ‘तिमी नमर्नु है’ जस्तो सन्देशमुलक गीत र बालबालिकाको जिव्रोमा झुण्डिने दर्जनौ बालगीत गाउन सक्ने त्यस्ता भावका गीतमा संगीत भर्न सक्ने खुवी भएकी भर्खटाइल गायिका हुन् भन्ने पुष्टि गरेको छ ।

२०८२ बैशाख २१, आईतवार प्रकाशित 0 Minutes 11 Views

ताजा समाचार