मधुमेह प्रतिष्ठान मेचीनगरको स्वास्थ्य कार्यक्रम घोषणा

मेचीनगर । नेपाल मधुमेह प्रतिष्ठान मेचीनगर केन्द्रीय समितिले ३१ औं अन्तर्राष्ट्रिय मधुमेह दिवसको अवसर पारेर दुईवटा स्वास्थ्य कार्यक्रम घोषणा गरेको छ ।

काँकरभिट्टाको भानु साहित्यिक प्रतिष्ठानमा आइतवार आयोजित कार्यक्रमका बीच प्रतिष्ठानका आजीवन सदस्यको तीन महिनासम्म निशुःल्क ब्लड चेक गर्ने जनाएको छ । उक्त स्वास्थ्य कार्यक्रम मंसिर १५ गतेदेखि सञ्चालन गरिने प्रतिष्ठानका अध्यक्ष मेदनीप्रसाद खरेलले बताए । मधुमेह बिरामीको ब्लड चेक शिविर प्रतिष्ठानको कार्यालय परिसर मेरो ब्रान्डको छेउमा सञ्चालन गरिनेछ ।

यस्तै, सदस्यमध्ये ५ जना विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिने जनाएको छ । बीमा कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिइने अध्यक्ष खरेलले बताए ।

प्रतिष्ठानका अध्यक्ष मेदनीप्रसाद खरेलको अध्यक्षता तथा मेचीनगर प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख आचार्यले सामाजिक क्षेत्रमा प्रतिष्ठान गरेका कामहरुको उच्च प्रशंसा गरे । उनले मधुमेह प्रतिष्ठानलाई वडा-वडामा विस्तार गरेर चेतना जगाउन आग्रह गरे ।

प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद उप्रेतीले कार्यक्रमाथि प्रकाश पारेका थिए भने सचिव राजकुमार दाहालले सञ्चालन गरेका थिए । कार्यक्रममा उपाध्यक्ष विष्णुमाया उप्रेतीले सहभागीलाई स्वागत गरेकी थिइन् ।

नेपाल मधुमेह प्रतिष्ठान मेचीनगर-६ को केन्द्रीय कार्यालयको आफ्नै भवन बन्दैछ । मेचीनगर-६ स्थित बर्मेली टोलमा रहेको प्रतिष्ठानको आफ्नै जग्गामा भवन निर्माणको काम धमाधम भइरहेको छ ।

२०६८ सालमा स्थापना भएको प्रतिष्ठान सामाजिक क्षेत्रमा क्रियाशील छ । संस्थाले विभिन्न समयमा मधुमेहका विरामीलाई स्वास्थ्य चेतना, विपन्न परिवालाई निःशुल्क औषधि वितरण तथा स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको छ ।

शिविर सञ्चालन गर्न हरेक वर्ष मेचीनगर नगरपालिकाले आर्थिक सहयोग गर्दै आएको छ । संस्थाले क्षेत्रगत रुपमा प्रत्येक तीन-तीन महिनामा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । संस्थाको आजीवन सदस्य ५ सयभन्दा बढी छन् ।