
मेचीनगर । मेचीनगर नगरपालिकाद्वारा गठित सहकारी समन्वय समितिले मापदण्ड पालना नभएको देखिएपछि आठ वटा सहकारीलाई सुझावसहित सचेत गराइएको छ ।
आज दोस्रो दिन अनुगमनका क्रममा सहकारीको सामान्य मुल्य मान्यता समेतलाई ख्याल नगरेको पाइएपछि सुझावसहित सचेत गराइएको सहकारी समन्वय समितिका सदस्य सचिव दिपेन्द्र कार्कीले बताए ।
टोलीले मेचीनगर–१० को लंकासरी महिला संवृद्वि बहुउदेश्यीय सहकारी संस्था, तारावारी शान्ति बचत तथा ऋण सहकारी संस्था, मेचीनगर–१४ को आपसी समाज बचत तथा ऋण सहकारी संस्था, विहानी बतच तथा ऋण सहकारी संस्था, मेचीनगर–१२ को सामुहिक अभियान बचत तथा ऋण सहकारी संस्था, सब्जीमण्डी कृषि सहकारी संस्था, चारआली बचत तथा ऋण सहकारी संस्था, मेचीनगर–१३ को आशावादी बहुउदेश्यीय सहकारी संस्थाको अनुगमन गरेको थियो ।
अनुगमन गरिएका सहकारीहरुमा सञ्चालक समितिको वैठक नियमित नगरेको, विना धितो ऋण लगानी गरेको, कर्मचारीलाई नियुक्त पत्र नदिएको, तमसुकमा ऋण कार्यविधिको दफा उल्लेख नभएको, ऋण समितिले गरेको निर्णय ऋणिको फायलमा राख्नु पर्ने, फायलमा स्वघोषणा अंशियारको सम्पति र ऋण स्वीकृती भएको पत्र राख्नु पर्ने, मासिक किपोमिस रिपोर्ट बनाउनु पर्ने, सूचना पार्टी देखिने गरी राख्नु पर्ने, साधारण सभा पुस मसान्तभित्र सम्पन्न गरिसक्नु पर्ने, सञ्चालक समितिले नियम अनुसार ऋण लगानी गर्नु पर्ने, सदस्य शिक्षा कार्यक्रम नगरेको, कर्जा जोखिम कोषको व्यवस्था गर्नु पर्ने लगायतका सुझाव दिइएको कार्कीले बताए ।
अनुगमन टोलीमा सहकारी समन्वय समितिका सदस्य दुर्गाप्रसाद सापकोटा, वीपी भट्टराई, जगन्नाथ भट्टराई र सदस्य सचिव कार्की रहेका थिए ।
उपभोक्ता हित संरक्षण विभागले तोकेको निरीक्षण अधिकृत एवम् नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले स्थानीय सरकारलाई व्यवस्थित, उपभोक्ताको अधिकार सुरक्षितका लागि बजार, सहकारी र अन्य क्षेत्रको पनि अनुगमन प्रभावकारी बनाउने योजनासहित टोली लागि परेको बताए ।
