नेपो बने ब्याटलको विजेता

धुलाबारी । इष्ट डान्स फेस्टिभल वान अन वान डान्स ब्याटलको उपाधि भारतीय कलाकार नेपोले जितेका छन् ।

बुधबार पासाङ ल्हामू स्मृति जेसीज भवनमा सम्पन्न सो प्रतियोगितामा उनी विजेता बनेका हुन् ।

त्यस्तै, काठमाडौंका स्वस्तिक अर्याल सो प्रतियोगितामा उपविजेता बनेका आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजयी बनेका नेपोले नगदराशि २५ हजार र उपविजयी बनेका अर्यालले ५ हजार रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

मलिन तामाङले निर्णायकको भूमिका निर्वाह गरेको प्रतियोगितामा नेपाल र भारतका गरी करिब एक सयजना कलाकार सहभागी भएका बताइएको छ ।

मेचीनगर नृत्य कलाकार संघ धुलाबारी र धुलाबारी जेसीजले संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गरेका थिए ।

मेचीनगर वडा नम्बर १० का अध्यक्ष सुदय पनेरुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको औचित्यबारे आयोजक संघका अध्यक्ष विक्रम गेलालले प्रकाश पारेका थिए ।

त्यसक्रममा नृत्य कलाकार संघका निवर्तमान जिल्ला अध्यक्ष एलसी श्रेष्ठ, धुलाबारी जेसीजका पूर्व अध्यक्ष दिनेश शाक्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

आयोजक जेसीजका अध्यक्ष राजीव प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेची उद्योग वाणिज्य संघका सदस्य भूमि पौडेलले स्वागत गरेका थिए ।