२०८१ बैशाख १६ आईतवार

मुआब्जा विवाद चुलिएपछि जनकपुर बर्दिवास रेल्वेको स्टेशन निर्माण लगायतका काममा ढिलाइ

मुआब्जा विवाद चुलिएपछि जनकपुर बर्दिवास रेल्वेको बर्दिवास स्टेशन निर्माण लगायत रेलको काममा ढिलाइ भएको छ । रेलवे कम्पनी, जग्गाधनी बीच तनाव चुलिँदा काम अघि बढन नसकेको हो ।जनकपुर–जयनगर रेल्वे विस्तार तथा स्तरोन्नति आयोजनाका लागि अधिग्रहण गरिएको जग्गा विवादले निर्माण कार्यमा अडचन आएको छ । पुरानो खोल्सी कुलोदेखि पश्चिमको जग्गाको मूल्यांकन प्रतिकठ्ठा १५ लाख रुपैयाँको दर भए पनि भुक्तानी प्रतिकठ्ठा १० लाख रुपैयाँ मात्रै गरेपछि विवाद देखिएको हो ।

बर्दीवासमा अधिग्रहण गरिएका ५४ बिघामध्ये पाँच सात बिघा जग्गाको मात्र मुआब्जा विवाद रहेको छ भने बाँकी जग्गाधनीहरुले समझौताअनुसार नै मुआब्जा पाएको आयोजनाको भनाइ छ ।भंगहादेखि बर्दीवाससम्मको १७ किलोमिटर रेल लिक विस्तार तथा रेल्वे स्टेसन निर्माणका लागि नेपाल रेल्वे कम्पनीले १ सय १४ बिघा सर्वसाधारणलाई करिव दुई अर्ब मुआब्जा दिनुपर्ने छ । तर मुआब्जा विवादले निर्माणमा अडचन देखिएको छ ।

निर्वाचनमा उम्मेदवारहरूले एजेन्डा बनाए पनि यसपल्ट कसैले मुआब्जा दिलाइदिने आश्वासन मात्रै मात्रै दिएको भन्दै पीडित आक्रोशित छन । धेरै पटक आन्दोलन हुँदा पनि उनीहरुको माग सम्बोधन भएको छैन । यसले एकातिर आयोजना निर्माणमा ढिलाइ भइरहेको छ भने अर्कोतिर स्थानीयले जग्गा खरिदबिक्री गर्न र बैंकिङ प्रक्रियामा राख्न पाएका छैनन । जयनगर–जनकपुर–कुर्था–बिजलपुरा–बर्दिबास खण्डको ६९ किलोमिटरमध्ये ३५ किमिमा रेल चलिसकेको छ ।

२०७९ माघ २४, मंगलवार प्रकाशित 0 Minutes 218 Views

ताजा समाचार