विश्वकप लिग २ : नेपालविरुद्ध अमेरिका

 

काठमाडौं । ओमान भ्रमणमा रहेको नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओाडिआई सिरिजको पहिलो खेलमा आज अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ पछि ओमानको अल अमरेत क्रिकेट मैदान मस्कटमा सुरु हुनेछ ।

दुवै टोली त्रिकोणात्मक सिरिजमा सानदार विजयी सुरुवात गर्ने लक्ष्यमा छन् । अमेरिका सौरभ नेत्रवालकार र नेपालको ज्ञानेन्द्र मल्लले कप्तानी गर्ने छन् । अमेरिकाले नेपालसँग खेल्नुअघि पपुवा न्युगिनीसँगको दुवै खेलमा सहज जित हात पारेको थियो । नेपालले पनि पिएनजीमाथि दुवै खेलमा जित निकालेको थियो । नेपाल र अमेरिकाबीच अन्तिम पटक २०२० फेब्रुअरीमा टियु मैदानमा प्रतिस्पर्धा भएको थियो ।

नेपालले अन्तिम खेलमा अमेरिकालाई ओडिआई इतिहासकै सर्वाधिक कम ३५ रनमा अल आउट गरेको थियो । १९ महिनापछि यी दुई टोली पुन प्रतिस्पर्धा गर्दै छन् । दुवै टोलीमा धेरै सुधार आएको छ । अमेरिकाले ६ खेलाडी परिवर्तन गरेको छ । पहिलो खेलमा दुवै टोलीको परिक्षा हुने छ । अमेरिका गतवर्ष लज्जास्पद हारको बदला लिन चाहन्छ । नेपाल त्यस्तै प्रदर्शनलाई निरन्तरता दिने सोचमा छ ।

नेपालको ओपनिङ आसिफ शेख र कुशल भुर्तेललेनै गर्नेछन् । पिएनजीसँगको दोस्रो खेलमा दुवै ओपनर तीन तीन रनमा आउट भएका थिए । पहिलो खेलमा आसिफ ३० र कुशल १५ रनमा आउट भएका थिए । गत वैशाखमा भएको त्रिकोणात्मक टि२० सिरिजमा सर्वोत्कृष्ट प्रदर्शन गरेका यी दुई ओपनर ओमान भ्रमणमा पहिलो रोजाईमा खेल्ने छन् । नेपाल ओपनरबाट राम्रो सुरुवात चाहन्छ ।

तेस्रो नम्बरमा कप्तान ज्ञानेन्द्र मल्ल हुने छन् । ज्ञानेन्द्रलाई कप्तानी इनिङ खेल्न आवश्यक छ । नेपालको मध्यक्रम ब्याटिङमा शरद भेषावकर, रोहित कुमार पौडेल र कुशल मल्ल छन् । रोहितले पिएनजीविरुद्ध पहिलो खेलमा ४१ र दोस्रो खेलमा ८६ रन जोड्दै नेपाललाई जित दिलाएका थिए । शरद र कुशलको प्रदर्शन सम्झन लायक छैन । शरद अनुभवी खेलाडी भएको हुँदा नेपाल मध्यक्रममा राम्रो प्रदर्शन चाहन्छ । कुशललाई जिम्मेवारी सर्ट खेल्न आवश्यक छ । नेपालले तीन तीव्र गतिका बलर र दुई स्पिनरलाई निरन्तरता दिने सम्भावना छ ।

तीव्र गतिका बलरमा सोमपाल कामी र करण केसी पहिलो रोजाईमा पर्छन् । यी दुई नेपाली टोलीका फिनिसर समेत हुन् । तेस्रो तीव्र गतिका बलरमा विक्रम सोबलाई नै निरन्तरता दिन सक्छ । पिएनजीसँगको दुवै खेलमा राम्रो प्रभाव छाडेका थिए । स्पिनर सन्दीप लामिछाने र सुशान भारी रहने छन् । सन्दीप नेपालका मुख्य हतियार हुन् ।

पिएनजीसँगको पहिलो खेलमा ४ र दोस्रो खेलमा ६ विकेट लिदै उच्च प्रदर्शन गरेका छन् । गतवर्ष अमेरिकालाई ३५ रनमा अल आउट गर्न सन्दीपले ६ र सुशानले ४ विकेट लिएका थिए । यी दुवै स्पिनर अमेरिकालाई पुन घातक बन्न सक्छन् । सुशान वा विक्रम मध्य एकलाई बेन्चमा राखेर ब्याटिङ बलियो बनाउन विकेटकिपर विनोद भण्डारीलाई मैदान उतार्न सक्छ । सन्दीप, शरद र सोमपाल कामी नेपालका मुख्य खेलाडी हुन् ।

अमेरिका टोलीमा भारतीय मुलका खेलाडीको बाहुल्यता छ । अमेरिका ओपनिङ स्टिभ टेलर र सुशान्त मोदानीले गर्ने छन् । टेलर आक्रामक ब्याटिङसँगै टोलीका प्रमुख हतियार हुन् । भारतीय मुलका सशान्तलाई ठूलो इनिङ खेल्न आवश्यक छ । मोनक पटेलले तेस्रो नम्बरमा ब्याटिङ गर्ने छन् । आरोन जोन्स र विकेटकिपर जसकरण मल्होत्रा मध्यक्रममा हतियार हुन् ।

मल्होत्राले पिएनजीसँगको दोस्रो खेलमा १ सय २४ बलमा ४ चौका र १६ छक्का सहित १ सय ७३ रनको अविजित इनिङ खेलेका थिए । जसक्रममा उनले अन्तिम ओभरमा लगातार ६ बलमा ६ छक्का प्रहार गरेका थिए । अमेरिका भारतीय मुलका मल्होत्राबाट नेपालविरुद्ध पनि त्यस्तै उत्कृष्ट प्रदर्शन चाहन्छ । निसर्ग पटेल, कोरिमा गोरे र एल्मोर हचिन्सन रहने छन् । भारतीय मुलका अभिषेक पाडकार सौरभ नेत्रवालकार र जेसि सिंहको सम्भावना छ ।

हेड टु हेड

नेपाल र अमेरिकाबीच दुई ओडिआई खेल भएको छ । दुवै खेलमा नेपाल विजयी भएको छ । गत वर्ष पहिलो खेलमा ३५ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो । नेपालले २०१० को डिभिजन फाइभको फाइनलमा अमेरिकालाई पाँच विकेटले हराउँदै उपाधि जितेको थियो । नेपाल लिग खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको थियो ।

नेपालले २०१२ को डिभिजन फोरमा अमेरिकालाई ३२ रनले पराजित गरेको थियो । २०१३ को डिभिजन ३ मा नेपाल अमेरिकासँग ९४ रनले पराजित भएको थियो । २०१५ को टि२० विश्वकप छनोटमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ । २०१७ को एकदिवसिय अभ्यास खेलमा भने नेपाल पाँच विकेटले पराजित भएको थियो । समग्रमा नेपाल अमेरिकामाथि हाबी हुँदै आएको छ ।

मौसम :

नेपाल र अमेरिकाबीच खेल हुने अल अमरेत मैदानको आजको तापक्रम उच्चमतम ३७ र न्युनतम २९ डिग्री सेल्सियस सम्म हुनेछ । उच्च तापक्रममा खेल्न नेपाली खेलाडीलाई केहि कठिनाई हुन सक्छ । वर्षाको सम्भावना एक प्रतिशत मात्र छ ।

खेलको प्रत्यक्ष प्रसारण नेपालमा एक्सन स्पोर्ट्समा हेर्न सकिने छ । त्यस्तै इन्टरनेटमा आइसिसी टिभीबाट पनि हेर्न सकिने छ ।

विश्वकप लिग-२ अंक तालिका

नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरि ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्ने छन् । होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् । जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

नेपाल ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ छैटौं स्थानमा छ । ओमान १० खेलमा ८ मा जित र २ मा हार सहित १६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।

नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक सहित चौथो स्थानमा छ । संयुक्त अरव इमिरेट्स (युएई) ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । एक खेल रद्ध हुन पुगेको थियो । पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्नेछ ।

नेपालको टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल

अमेरिकाको टोली : सौरभ नेत्रावलकर (कप्तान), आरोन जोन्स (उपकप्तान), अभिषेक पराडकार, डोमिनिक रिखी, एल्मोर हचिन्सन, गजानन्द सिंह, जस्दीप सिंह, जसकरण मल्होत्रा, करिमा गोरे, मोनाक पटेल, निसरग पटेल, नोशतुश केंजीगे, स्टिभ टेलर, सुशान्त मोदानी, सन्जय कृष्णमुर्ती, काइल पिलिप (वैकल्पिक)

खेल तालिका

भदौ २८ : नेपालविरुद्ध अमेरिका, दिउँसो ४:१५

भदौ २९ : नेपालविरुद्ध ओमान, दिउँसो ४:१५

भदौ ३१ : ओमानविरुद्ध अमेरिका, दिउँसो ४:१५

असोज १ : नेपालविरुद्ध अमेरिका, दिउँसो ४:१५

असोज ३ : नेपालविरुद्ध ओमान, दिउँसो ४:१५

असोज ४ : ओमानविरुद्ध अमेरिका, दिउँसो ४:१५