केशव सरको म्युजिक भिडियो ‘धोका दिएर नछाड’ आउँदै

जीआर धिताल
मेचीनगर । शिक्षक तथा प्राध्यापक केशव पौडेलको म्युजिक भिडियो ‘धोका दिएर नछाड’ सार्वजनिक हुने भएको छ । म्युजिक भिडियो गुरु पूर्णिमाको अवसर पारेर साउन ९ गते शनिबार बेलुकी ५ बजे सार्वजनिक हुँदैछ ।

झण्डै तीन दशक लामो समय शिक्षणमा बिताएका मेचीनगर १० धुलावारीका स्थाई बासिन्दा पौडेल कला, साहित्यमा रुची राख्छन् ।

यस अघि सामाजिक सञ्जालदेखि विभिन्न कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्दै आएका पौडेलले यो पटक गुरु पूर्णिमाको अवसर पारेर आँफैले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक गर्न लागेको बताए ।

मार मलाई मार, धोका दिएर नछाड,
दोषी छु म भने, पापि छु म भने अधकल्चो पारी नछोड,
मार मलाई मार .. 

अहिलेका युवा पिँढीमा मायाका कारण विकृती बढ््दै गएको र प्रेम असफल भए जीवननै समाप्त पार्ने घटनाहरु बढ्दै गएकाले त्यस्ता क्रियाकलापलाई दुरुत्साहन गर्ने सन्देशसहित आँफुले म्युजिक भिडियो ल्याउन लागेको पौडेलले बताए ।

आँफैद्वारा अभिनित भिडियोमा स्वर, संगित र शब्दसमेत उनैले भरेका छन् ।

२६ वर्षअघि चारआलीस्थित शहीद दशरथ चन्द माविबाट शिक्षण सुरु गरेका पौडेल हाल सोहि विद्यालयमा सहायक प्रध्यानाध्यापक छन् । त्रिदेव बहुमुखी क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा अंग्रेजी बिषयको प्रध्यापकसमेत रहेका उनी शिक्षक महासंघ मेचीनगरका वर्तमान अध्यक्ष हुन् ।

नेपाल टेलिभिजनबाट प्रसारित नेपालकै पहिलो रियोलिटि शो ‘ब्राइटर तिम्रो सुर मेरो गित’मा आँफ्नो प्रस्तुती हेरेर राम्रो प्रतिक्रिया पाएपछि आँफ्नो गायन क्षेत्रको लगाव अझ बढ्दै गएको उनले बताए ।

लगत्तै उनले भिडियो चलचित्र मायाको बन्धनको शीर्ष गित गाउने अवसर पाए । रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट प्रशारित हुने गित/संगितका कार्यक्रमहरुमा उनी गित गाउँथे ।

पेशाले शिक्षक पौडेल सकेसम्म आँफुलाई बहुआयामिक बनाउन सक्नु पर्ने बताउँछन् ।

आम विद्यार्थीहरुलागि प्रेरणाको स्रोत शिक्षकनै बन्न सक्नु पर्ने सोचका साथ आँफुले कला, साहित्य, गित–संगितलाई साथमै लिएर जान चाहेको उनको भनाई छ ।

नेपालका पुराना पियानो बाधक तथा एरेन्जर विमल बुढाथोकीले एरेन्ज गरेको म्युजिक भिडियोलाई जेनेरिक स्टुडियो काठमाण्डौंमा मिक्सिङ गरिएको छ ।

म्युजिक भिडियोलाई स्थानीय ठाउँ बाहुनडाँगीस्थित मिनि माउन्टेन, बाहुनडाँगी क्षेत्रका चिया बगान तथा धुलावारीस्थित पौडलको आफ्नै निवास परिसरमा छायांकन गरिएको छ ।

शनिबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्न लागिएको म्युजिक भिडियोलाई लाइक, कमेन्ट तथा शेयर गरेर आफ्नो हौसला बढाई दिन पौडेलले आफ्ना शु्भेच्छुक सबैलाई अनुरोध गरेका छन् ।