काँकरभिट्टामा वृक्षरोपण गरी सम्झिइयो विपीलाई

काँकरभिट्टा । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवसको अवसर पारेर काँकरभिट्टामा वृक्षरोपण गरिएको छ ।

बुधबार मेचीनगर–६, काँकरभिट्टा पुरानो भन्सारस्थित दुर्गा मन्दिर परिसरमा ३९ औं स्मृति दिवसमा ३९ वटा विभिन्न प्रजातिका बोटविरुवा रोपिएको हो ।

पूर्व सभासद उषा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गुरुङ, नेपाली काँग्रेस वित्तीय तथा सहकारी विभाग केन्द्रीय सदस्य दुर्गाप्रसाद सापकोटा, प्रदेश नम्बर १ ‘क’ संयोजक हर्क सुब्बा फ्याक, तरुण दल झापा जिल्ला अध्यक्ष गोपाल तामाङ, मेचीनगर सचिवद्वय हस्त आङ्दम्बे, बसन्त तिवारी, जिल्ला सदस्य डम्बरकुमारी थापा, महिला संघ क्षेत्रीय सभापति रचना घिमिरेलगायतले बिपीको राजनैतिक तथा साहित्यक जीवनको चर्चा गरेका थिए ।

मेचीनगर वडा नम्बर ६ सभापति धनप्रसाद केरुंङको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत वडा उपसभापति रवीन भट्टराई तथा सञ्चालन वडा सचिव चन्दा शाही विमलीले गरेकी थिइन् । कोरोना संक्रमण जोखिमलाई मध्य नजर गर्दै भौतिक दुरी कायम गर्दै कार्यक्रम सम्पन्न गरिएको आयोजकले जानकारी दिएको छ ।

विपीको स्मृति दिवसमा नगरका सबै वडाहरुमा स्मृति सभा तथा विभिन्न कार्यक्रमको आयोजना गरिएको नेपाली काँग्रेस मेचीनगर सचिव हस्त आङ्दम्बेले जानकारी दिए ।