संवर्धनवाद नै किन ?

रमेश दाहाल

अठारौँ शताब्दीको अन्त्यतिर फ्रान्सेली क्रान्तिको (सन् १७८९) को उथलपुथललाई सकारात्मक सांस्कृतिक, सामाजिक निरन्तरतासहितको परिवर्तनका रुपमा स्थापित गर्ने उद्देश्यले एउटा छुट्टै राजनीतिक दृष्टिकोण र आन्दोलनको खाका तयार पारेको पृष्ठभूमिमा बोर्वोन राजतन्त्रको पुनः स्थापना सँगै राष्ट्रिय अस्तित्व र आवश्यकताको जगमा शक्ति सन्तुलनको पारस्परिक मेलमिलापको मार्गचित्रको रुपमा संवर्धनवादको जन्म भयो ।

संवर्धनवाद एउटा त्यस्तो राजनीतिक सिद्धान्त हो, जसले परम्परासँग जोडिएका संस्था र संस्कृतिको महत्वमा विश्वास राख्दछ । अमूर्त उग्र अग्राधिकारले समाजलाई विखण्डन र विघटन तर्फ लैजान्छ भन्ने निष्कर्षको जगमा खडा भएको संवर्धनवादले ऐतिहासिक उत्तराधिकारलाई मान्यता प्रदान गर्दछ । संवर्धनवादको यही सोच र मान्यतामा समाज वा राष्ट्रको मौलिकता स्थापित भएको हुन्छ र त्यही मौलिक धरातलमा मानिसहरू एक अर्कामा परिपूरक भएर जीवन जिउने आधार प्राप्त गर्दछन् । त्यसैकारण संवर्धनवादले ऐतिहासिक विकासक्रममा जन्मिएका संस्थाहरुको सकारात्मक निरन्तरता र स्थायित्वको पक्षमा रुचि राख्दछ ।

सरकार मौजूदा जीवनशैलीको मालिक होइन, सेवक हो । राजनीतिज्ञहरुले व्यक्तिगत स्वार्थका निम्ति समाज र राजनीतिको अमूर्त रुपान्तरणको नाममा सकारात्मक परिवर्तनको स्वाभाविक गति र मार्गलाई गतिरोध र अवरोध तुल्याउने उग्र अग्राधिकारको लोभमा आफुलाई फसाउनु हुँदैन भन्ने निष्कर्षले संवर्धनवादलाई सही अर्थमा स्पर्श गरेको हुन्छ ।

अमूर्त उग्र अग्राधिकारले समाजलाई विखण्डन र विघटनतर्फ लैजान्छ भन्ने निष्कर्षको जगमा खडा भएको संवर्धनवादले ऐतिहासिक उत्तराधिकारलाई मान्यता प्रदान गर्दछ ।

मानव प्रकृति र स्वभाव आधारभूत रुपमै अहिंसात्मक परिवर्तनको पक्षमा तर्कसंगत हुन्छ भन्ने ज्ञान कथित क्रान्तिको आवरणले छोपिएपछि मानव जातिको अमूर्त चाहना र अभिलाषाबाट समाज र राजनीतिको परिवर्तनको अवाञ्छित भड्काउको शिकार हुने भनेको स्वयम् मान्छे नै हो ।

मनका चाहनाहरु त असीमित हुन्छन् । मानिसलाई उसका चाहनाहरुमा पर्याप्त संयमता चाहिन्छ । त्यसैले समाजमा रहेका परम्परागत धार्मिक मूल्य, मान्यता र नैतिक शिक्षाले आत्म–अनुशासनको पाठ सिकाउनु पर्दछ । आत्म–अनुशासनमा रहनका निमित्त अभिप्रेरित गर्ने संस्थाहरुको संयमित शक्तिको अभावमा मानिसले नैतिक आचरण र स्वतन्त्रताको जिम्मेवार प्रयोग गर्न सक्दैन ।

मानिस यसकारणले पनि प्राणीहरु मध्ये सर्वश्रेष्ठ प्राणी हो कि उसले आफ्नो पूर्खाहरुको सीप, शिष्टाचार, नैतिकता र अन्य सांस्कृतिक श्रोतहरू प्राप्त गर्ने सामथ्र्य राख्दछ । सनातन संस्कृति र परम्पराको बुझाइ विशेषगरी आफ्नै समाज र देशको इतिहास अनि वर्तमान जान्न र बुझ्न चाहने राजनीतिकर्मीका निमित्त सबैभन्दा मूल्यवान एवम् भरपर्दो स्रोत हो ।

कुनै पनि राष्ट्रको पहिचान र राष्ट्रियता शुन्यमा खडा भएको हुँदैन । यो निश्चित मूल्य र मान्यताको जगमा खडा भएको हुन्छ । हिन्दू, बौद्ध, किरात सनातन संस्कृति परम्परा मिश्रित सभ्यता र अल्पसंख्यक मुस्लिम समुदायबीचको आपसी सहिष्णुता र भाइचारा सम्बन्धको जगमा खडा भएको नेपाल राष्ट्रको पहिचान र राष्ट्रियता बुझ्न र मनन् गर्नका लागि नेपाली सनातन संस्कृति र परम्पराको बुझाइले उपलब्ध गराउने मौलिक नेपाली ज्ञान नै चाहिन्छ, जुन ज्ञानद्वारा नेपाली मनलाई नेपाली विवेकले डोहोर्याउन सकोस् ।

हाम्रो देश नेपाल अत्यन्तै प्राचीन देश हो । विभिन्न धर्मशास्त्रहरु तथा पुराणहरूको वर्णनमा नेपालको प्राचिनतम् महत्व उल्लेख भएको पाइन्छ । सत्य युगका विपश्वी बुद्ध, त्रेताकी मञ्जुश्री बोधिसत्व र द्वापरयुगका श्री कृष्णसँग जोडिएको प्राचिनतम् वर्णनहरुले हाम्रो प्राचीन इतिहासको धरोहरलाई विश्वमै अग्लो सावित गरिदिएको छ ।

नेपालको राजनीतिक व्यवस्थाको सुरुवाती समय यकिन गर्न नसकिएता पनि गोपाल वंशीय शासक, महिषपाल वंशीय शासक, किरातकालीन शासन सभ्यता, विदेहराज्य मिथिला सभ्यता, गौतम बुद्ध र कपिलवस्तु राज्य, लिच्छविकालीन शासन सभ्यता र मल्लकालीन शासन सभ्यताको प्राचीन एवम् मध्यकालीन नेपाली इतिहास र अठारौँ शताब्दीको मध्य पछि बडामहाराज पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियानको आधुनिक नेपाली इतिहासबाटै हामी नेपालीलाई आजको विश्व मानचित्रमा सार्वभौम नेपाल र विश्व समुदायमा नेपाली हुनु र रहनुको विरासत प्राप्त भएको तथ्य र सत्यलाई हामीले कुनै पनि वहाना वा उत्तेजनामा भुल्न वा बिर्सन हँुदैन भन्ने नेपाली राजनीतिको निष्कर्षको दस्तावेज नै नेपाल र नेपाली अर्थको संवर्धनवाद हो ।

(लेखक दाहाल राप्रपा झापाका नेता हुन् ।)