राप्रपा ! दोस्रो पुस्ता र तरङ्ग

रमेश दाहाल

राप्रपा नेता प्रकाशचन्द्र लोहनीले पार्टीको नेतृत्व अव दोस्रो पुस्तामा जानुपर्ने आशय व्यक्त गरेपछि यतिखेर राप्रपा भित्र तरङ्ग श्रृजना भएको छ ।के राप्रपालाई राष्ट्रिय राजनितिमा सम्मानजनक स्थापित गराउनका लागि दोस्रो पुस्ता अचुक ओखती नै हो त ?

राजनीतिमा वैकल्पिक अवधारणा वा विचारको सफलता वा असफलता त्यो अवधारणा वा विचार माथिको क्रियाशीलताको परिमाणमा भर पर्दछ । पार्टीको उपल्लो तहमा नीति निर्माण वा कार्यक्रम तय गरेर मातहतका तहहरुमा अड्डासार गरेकै भरमा स्वतः क्रियाशील भैहाल्छ भन्ने परम्परावादी शैली र सोचका कारण राप्रपाको सांगठनिक क्रियाशीलताको परिधिको विस्तार केहि अपवाद क्षेत्रमा वाहेक अपेक्षाकृत हुनसकेको छैन ।

नीति एवम् लक्ष अनुरुपको कार्यक्रम तय हुँदाका वखत निर्धारित कार्यक्रमको कार्यभार कति हो, त्यस अनुसारको कार्यतालिका कस्तो हुनुपर्छ र सो कार्यतालिका अनुसार कार्यक्रम संचालन र सम्पन्न गर्न कार्यविधि के हो साथै सो कार्यविधि मुताबिक क–कस्को काँधको जिम्मेवारी कति हो, अनुगमन, मुल्यांकन र समिक्षा कसरी गर्ने भन्ने कुनै छलफल र निर्क्यौल नगरी प्रतिफल खोज्ने कार्यशैलीले राप्रपालाई राष्ट्रिय राजनीतिमा क्रियाशील शक्तिहरु मध्येको अग्रणी वा समानान्तर शक्ति वन्ने अवस्थामा पुरÞ्याउन सकिरहेको छैन न कि नेतृत्वमा कुन पुस्ता छ भन्ने कुराले ?

मैले यसो भनि रहँदा कुरा निराशा जगाउने होइन । नयाँ सोच ,नयाँ शैली अधिकतम उमंग र हौसला का साथ वैज्ञानिक विधि र पद्धति अंगालेर काम गर्ने भन्ने नै हो । यसका लागि सवैले आ–आफ्नो ठाउँबाट म म भन्नै पर्छ । पार्टी एकताको नाममा नेतृत्वलाई पासोमा पारेर फलानो असफल भयो भनेर आफू सफल हुने सपना देख्दा आकाशको तारा गन्न त सकिएला तर जनताको मन जित्न चाँही सकिंदैन । मध्य वर्खामा गणतन्त्र , धर्मनिरपेक्षता र संघियताको भेल वगिरहँदा हिन्दुराष्ट्र र राजसंस्थालाई एक्लै काँधमा वोकेर भेलको विचमा एन्टी करेन्ट उभिएका कमल थापाले अव आँखा देख्न सक्दैनन् भनेर जवरजस्ती धृतराष्ट्र वनाउँन खोज्दा दोस्रो पुस्ता दुर्योधन नै जन्मन्छन् भनेर त भन्न सकिंदैन तर सकुनीहरु राप्रपालाई धरापमा पारेर सिध्याउने खेलमा सफल नहोलान् भन्न पनि सकिन्न ।

हुनत राजनैतिक नेतृत्व दोस्रो पुस्तामा नजाँदाको दुष्परिणामको दृष्टान्त पनि नभएको होइन । भारतमा कानु सन्यालको नेतृतत्वमा रहेको सि.ओ.आई.एम.एल.ले विकल्पका निम्ति संस्थापन विरुद्ध हरेक निर्वाचनमा उम्मेदवारी दिइनै रह्यो तर कुनै क्षण सफलता हात लागेन । अन्त्यमा निराशा यतिसम्म चुलियो कि स्वयं कानु सन्यालले आत्महत्याको वाटो रोजे । आज पनि कानु सन्यालका कार्यकर्ताहरु कानुको त्यही इच्छा मृत्युको चिसो खरानीलाई क्रान्तिको तातो भूङरो ठानेर ताप्न छोडेका छैनन् । यसवाट हामीलाई प्राप्त हुने शिक्षा भनेको शैद्धान्तिक कोरा रटान र फितलो सहभागिता मात्रले अपेक्षाकृत नतिजा हासिल गर्न सकिदैंन ।

आजको युग वैश्य युग हो । यहाँ कोरा सिद्धान्त भन्दा पनि जनजिविकासँग जोडिएका विषयहरुले आम मानिसहरूको मन मस्तिष्कलाई आकर्षण गरिरहेको हुन्छ । पार्टीका कार्यक्रम र आवाजहरुले रोग, भोक, अभाव, महगी, भ्रष्टाचार, ढिलासुस्ती, सत्ताको पक्षपातपूर्ण व्यवहार वाट पिरोलिएका मन मस्तिष्कलाई छुन सकोस्, अन्यथा सिद्धान्तको रटान मात्रले आजका विद्यार्थी र व्यवसाय उन्मुख युवा पंक्तिलाई आकर्षण गर्न सकिन्न ।

सत्य के हो भने देशी विदेशी प्रायोजनको शिकारमा परेका केहीवाहेक धर्म, संस्कृति, परम्परा र सामाजिक मूल्य मान्यताको आधारमा वैचारीक हिसाबले हामी नेपालीहरु मध्य दक्षिणपंथ र मध्य वामपंथ धारमा विभक्त छौं । तर, विडम्बना यहाँ कस्तो छ भने मध्य दक्षिणपंथलाई प्रतिनिधित्व गर्ने पार्टी राप्रपालाई जहिले उग्र दलाल दक्षिणपन्थले आक्रमणको निशाना वा शिकार वनाउन सफल भैरहेको छ भने मध्य वामपंथको प्रतिनिधि पार्टी नेपाली कांग्रेस उग्र दलाल वामपंथको भडकाउमा लट्टाई वाट छुटेको चंगा झैँ भड्किरहेको छ । यसरी मध्यमार्गसँग जोडिएका नेपाली राजनीतिको यी दुवै पर्खालहरु कमजोर र खाली भए पछि नेपाली राष्ट्रियताको मेरुदण्ड यतिवेला इतिहासमै कमजोर भएको छ भने हाम्रो सुख र संवृद्धिको सपना पनि दिनदिनै दलालीमा विक्री भइरहेको छ ।

यतिवेला राप्रपा कार्यकर्ता पंक्तिमा दृढ इच्छाशक्ति , त्याग , समर्पण र जागरुकताको खाँचो छ ।परिस्थितिलाई अरु कसैले अनुकूल वनाइदिए वा घटना परिघटना मार्फत परिस्थिति अनुकूल भए मात्र आफ्नो क्रियाशिलता देखाउने होइन कि परिस्थितिलाई आफैंले अनुकूल वनाउँदै लैजाने र सामाजिक नेतृत्व वहनमा अग्रसरतामा देखाउने चरित्रको विकास हामीमा हुनै पर्दछ । यो देशको म सार्बभौम नागरिक हुँ , नागरिक हुनुका नाताले देश प्रतिको कर्तव्य र अधिकार अरु सरोकारवालालाई जति छ, त्यो भन्दा कमि मलाई पनि छैन भन्ने उच्च मनोभावना लिएर अन्य कुनै पनि प्रकारको लघुताभास त्याग्नु पर्दछ । यहि परिप्रेक्ष्यमा , हिजो प्रतिवन्धित कालको प्रतिकूल अवस्थामा पनि दृढ इच्छाशक्ति त्याग समर्पण र जागरुकता ले नै वामपन्थीहरुलाई नेपाली राजनीतिको निर्णायक मोडमा परÞ्याएको तथ्यलाई हामीले विर्सनु हुँदैन । भलै, देशी विदेशी शक्तिहरु द्वितियक कारकको रुपमा कसरी देखा परे ,त्यो सवैमा सर्वविदितै छ ।

नेपालको ग्रामिण अर्थतन्त्र मुख्यतया निर्वाहमुखी उत्पादनमा निर्भर छ । ग्रामीण क्षेत्रमा वसोवास गर्ने स्वस्थ तन्नेरी जनशक्तिलाई आज पनि आधुनिक उत्पादन व्यवसायले आकर्षित गर्न सकेको छैन । व्यवसायिक उत्पादनसँग नजोडिएको समाजलाई विधिको शासन र व्यवसाय मैत्री सरकार नहुनुको पिडावोध हुँदैन र अधिकांश युवा युवतीहरु परिश्रम नगर्ने, शक्तिको भक्ति मार्फत उचन्तिमा जीवन निर्वाह गर्ने वाटोको खोजीमा दलाल वामपंथ भड्काउका शिकार भैरहन्छन् । आजको नेपाली अर्थ राजनीति क्षेत्रको रोग वा फोहोर जे भने पनि यही हो ।
अवको राप्रपाले यो समस्यालाई चिर्न सक्नुपर्छ र तमाम युवा वर्गलाई विदेशको मोह होइन देश भित्रै सफल व्यवसायी वनेर गरिखाने परिस्थिति को शुनिश्चितता दिलाउने मार्गचित्र प्रस्तुत गरेर विश्वासमा लिन सक्नुपर्छ । युवापंक्तीको विश्वासले नै राप्रपालाई राष्ट्रिय राजनीतिमा अग्र स्थान दिलाउन सक्छ ।