काठमाडौँ, माघ ९ गते । खानेपानीमन्त्री प्रदीप यादवले धरान नगर क्षेत्रमा देखिएका खानेपानीको समस्या चाँडै समाधान गरिने बताउनुभएको छ । उहाँले चालु आर्थिक वर्षभित्र नै धरानको खानेपानीको समस्या समाधान हुने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क राई (साम्पाङ) सँगको भेटमा मन्त्री यादवले सो प्रतिबद्धता व्यक्त गर्नुभएको प्रमुख राईले जानकारी दिनुभयो । धरानका जनताको माग पूरा गर्न मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री यादवको भनाइ थियो ।

धरानको खानेपानीको समस्या समाधानका लागि मन्त्रालयले पहिलेदेखि नै आवश्यक पहल गरिरहेको बताउँदै मन्त्री यादवले धरानको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि योजना छनोट भइसकेको जानकारीसमेत दिनुभयो । उहाँले खानेपानी आयोजनाका लागि आवश्यक पर्ने जग्गाको व्यवस्थापन धरान उपमहानगरपालिकाले गर्नुपर्ने स्पष्ट पार्नुभयो । खानेपानी आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको काम बाँकी रहेको बताउँदै उहाँले जग्गा व्यवस्थापन भएपछि छिट्टै नै बोलपत्र आह्वान गरिने जानकारी दिनुभयो ।
नगरप्रमुख साम्पाङले धरानमा दैनिक तीन करोड लिटर पानीको माग रहेको बताउँदै उपमहानगरको बजेटले धान्न नसक्ने भएपछि खानेपानीका लागि सिंहदरबारमा आएको स्पष्ट पार्नुभयो ।गोरखापत्र अनलाइन
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



