२०८१ बैशाख १७ सोमबार

बिर्तामोडका राजीव अपहरण प्रकरण : भारतीय प्रहरीको असहयोगले जोगियो मुख्य योजनाकार

बिर्तामोड । बिर्तामोड–३ भगवान चोकका कमल बस्नेतका २१ बर्षीय छोरा राजीवलाई अपहरण गराउने मुख्य योजनाकार राजु भनिने राजकुमार भण्डारीलाई भारतीय प्रहरीले जोगाएको छ ।

बस्नेतका पूर्व व्यवसायिक साझेदार बुद्धशान्ति घर भई भारतको मणिपुर बस्ने भण्डारीको योजनामा राजीवको अपहरण भएको थियो । उनलाई पक्राउ गर्न भारतीय प्रहरीसंग समन्वय गरेर नेपाल प्रहरीको टोली भारत गएको थियो । नेपाल प्रहरीको टोली गुवाहाटी पार गरी नागालैण्डको मणिपुर पुग्न लाग्दा भारतीय प्रहरीले भण्डारीलाई पक्राउ गर्न असहयोग गरेको हो ।

नेपाल प्रहरीको टोली गुवाहाटीभन्दा अझ पर पुगिसकेको अबस्थामा भारतीय प्रहरीले असहयोग गर्दा भण्डारीलाई पक्राउ गर्न नसकी खाली हात फर्किनु परेको झापाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए । माघ १४ गते प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली भारत गएको थियो ।‘भारतमा हरेक व्यक्तिसंग हातहतियार हुन्छ’ प्रहरी उपरीक्षक रेग्मीले भने ‘ त्यही भएर भारतीय प्रहरीको सहयोग लिएर आरोपितसम्म पुग्न खोज्दा भारतीय प्रहरीले सहयोग गरेनन् । ’ उनले अपहरणको सो घटना रहस्यले भरिएको बताए । त्यस घटनाका बारेमा अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले भारत पुगेर मुख्य आरोपितलाई पक्राउ गरेर ल्याउने आफूहरुको योजना रहेपनि भारतीय प्रहरीले सहयोग नगर्दा नसकिएको बताए । उनले अपहरणमा संलग्न अन्यहरु पनि भारतमै लुकेर बसेको जानकारी दिए ।

बस्नेतको अपहरणमा ६ जना नेपालीसहित ९ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । ६ जना नेपालीमध्ये प्रतिक्षा योङहाङसहित ३ जना युवती रहेको डीएसपी कुँवरले बताए । योङहाङलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य दुई युवती भागेर भारतको मणिपुर पुगेको प्रहरीले जनाएको छ । आफ्नो पूर्व व्यवसायिक साझेदार बस्नेतबाट मोटो रकम हत्याउन उनका छोरा राजीवलाई भण्डारीले अपहरण गर्न लगाएका थिए । केहि बर्षअघि बस्नेत र भण्डारी सुन कारोबारमा साझेदार रहेका थिए । साझेदारीमा सुन कारोबारमा काम गरेका बस्नेत र भण्डारीबीच बिस्तारै सम्बन्ध चिसिँदै गएपछि कारोबार नै बन्द भएको थियो । बस्नेतले व्यवसायको सम्पूर्ण लाभ लिएको, आफूलाई नदिएको र आफ्नो आर्थिक अवस्था नै तहसनहस पारिदिएको भण्डारीले आरोप लगाउन थाले । त्यसैबीचमा दुई बर्षअघि झापाकै एक नेताको घरमा दुई पक्षबीच छलफल गरेर बस्नेतले भण्डारीलाई एक करोड भारु दिने सहमति गरेर पैसा दिएका थिए । त्यसको केहि समयपछि भण्डारीले भूमिगत राजनीतिक दलका कार्यकर्तामार्फत बस्नेतसँग पुनः २० करोड रुपैयाँ असुल गर्ने कोसिस गरेका थिए तर, स्थानीय मानिसहरुबाट दुई पक्षबीच लेनदेनको बिषय पहिला नै सकिसकेको बुझेपछि ती राजनीतिक कार्यकर्ता पछि हटेका थिए ।

बस्नेतबाट सजिलै पैसा असुल गर्न नपाएपछि भण्डारीले अपहरणको योजना बनाएको प्रहरीको भनाई छ । हनीट्रयापमा पारी अपहरणमा परेका राजीव प्रहरीको सहयोगमा १० दिनपछि सकुशल मुक्त भएका थिए ।

२०७९ माघ १९, बिहीबार प्रकाशित 0 Minutes 171 Views

ताजा समाचार