एनआरएन सिंगिङ आइडलः डिजिटल अडिसनबाट ६० जना छानिए

झापा(दोहा) । ग्लोबल एनआरए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिष्पर्धा छनौट भएका छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा पहिलो चरणमा ६० जना छानिएका हुन् ।

एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार अप्रिल ३० तारिखसम्म प्रतिष्पर्धामा भाग लिनका लागि भिडियो पठाएका २ सय ५० भन्दा बढी नवोदित गायक–गायिकाबाट उत्कृष्ट ६० जनालाई छनौट गरिएको हो ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ, गायिका प्राश्ना शाक्य, गायक विजय लामा र गायिका सुनिता दुलाल रहेका छन् ।

६ वटा महादेशस्थित गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरूमार्फत् आफूले गाएको गीतको भिडियो आयोजकलाई पठाउनुपर्ने व्यवस्था गरिएको थियो ।

ग्लोबल एनआरएन सिंगिङ आइडलको पहिलो संस्करणका लागि छनौट भएका ६० जना प्रतिष्पर्धीले आगामी ओपनिङ राउन्डमा प्रतिष्पर्धा गर्ने छन् ।

ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत् ४० प्रतिशत अंक प्राप्त गर्ने छन् ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ ।

ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूले गीति एल्बममा गीत गाउने अवसर प्राप्त गर्ने छन् ।