२०८१ बैशाख १७ सोमबार

देउवाले भने- राष्ट्रपतिमा हाम्रोबाट रामचन्द्र र कृष्ण सिटौलाको नाम छ

झापा । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवाले पदाधिकारीहरू र पूर्वपदाधिकारीको बैठकमा परिणाम हात लाग्ने गरी राष्ट्रपति निर्वाचनमा होमिने र एकताबद्ध भएर जानुपर्ने बताएका छन्।

देउवाले सोमबार निवास धुम्बाराहीमा पदाधिकारीलाई बोलाएर राष्ट्रपति निर्वाचन र पार्टीका आन्तरिक विषयबारे कुराकानी गरेका थिए।

फागुन २९ भित्रै राष्ट्रपति निर्वाचन गर्न सरकार र निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने तथा संविधानको व्यवस्था र राष्ट्रपति निर्वाचनसम्बन्धी व्यवस्था आपसमा बाझिएकोजस्तो देखिएकोले यो समाधान गरी तत्काल राष्ट्रपति निर्वाचनको मिति तोक्न कांग्रेसले मागसमेत गरेको छ।

प्रधानमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत पुस २६ गते विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुख चुनावमा पनि उम्मेदवारी दिएर सत्ता साझेदार दलका उम्मेदवारसँग पराजित भएको थियो।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षी दल हुने वा नहुनेमा विवाद हुँदै आएको थियो। तर संघीय संसद सचिवालयले कांग्रेसलाई विपक्षी दलको मान्यता दिइसकेको छ।

सभापति देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि पार्टी प्रतिपक्षमा बस्ने स्पष्ट रहेको पदाधिकारी बैठकमै बताएका थिए। यसबारे संघीय संसद सचिवालयलाई पत्र पठाएको र त्यसको जानकारी पनि विपक्षी दल कांग्रेस नै भएको आएको देउवाको भनाइ थियो।

सभापति देउवाले राष्ट्रपति निर्वाचनमा पार्टी एकताबद्ध भएर जानुपर्नेमा पदाधिकारी बैठकमा जोड दिएका थिए। नेता शेखर कोइराला पक्षले आन्तरिक भेला गर्दै सभापति देउवाको आलोचना र प्रधानमन्त्रीलाई विश्वासको मतबारे दिनुलाई गल्ती भएको भन्दै दिएको अभिव्यक्तिप्रति देउवाले चासो राखेका थिए।

पार्टीलाई एकताबद्ध भएको सन्देश दिनुपर्ने सभापति देउवाले कुरा राखेपछि कोइराला पक्षले मंगलबारका लागि राखेको आन्तरिक भेला पनि स्थगित गरेको छ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएकोले माओवादीले राष्ट्रपति निर्वाचनमा आफूहरूलाई सहयोग गर्ने विश्वासमा सभापति देउवा छन्। यसपालि संसदीय दल नेतामा सभापति देउवालाई सहयोग गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिका आकांक्षी छन्। गठबन्धनलाई निरन्तरता दिई प्रधानमन्त्रीमा प्रचण्ड र राष्ट्रपतिमा आफू हुने पक्षमा पौडेल थिए तर चुनावका बेलाको गठबन्धन भत्किएपछि पौडेल असन्तुष्ट छन्।

तर गत पुस २६ मा प्रचण्डलाई विश्वासको मत दिएपछि राजनीतिक कोर्स बदलिएको र हाइज्याक भएको गठबन्धनलाई फिर्ता ल्याइएको पौडेलले अभिव्यक्ति दिएका थिए। त्यसपछि पनि पौडेलले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर छलफल गरेका थिए। माओवादीले सहयोग गरे राष्ट्रपति हुन सकिने भन्दै पौडेलले दौडधुप गरिरहेका छन्।

राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्रीले सहयोग गर्न सक्नेबारे पदाधिकारी बैठकमा सभापति देउवाले ब्रिफिङ गरेका थिए। राष्ट्रपतिमा उम्मेदवारी दिँदा पार्टीमा २ जनाको नाम आएको देउवाको भनाइ थियो। देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम लिएका हुन्।

पौडेलले गत मंसिरको चुनावमा तनहुँ १ बाट जितेका थिए। सिटौला भने झापा ३ मा पराजित भएका थिए। राष्ट्रपति उम्मेदवार हुन सांसद नभए पनि हुने व्यवस्था छ। सिटौलाले १३ औं र १४ औं महाधिवेशनमा सभापतिमा देउवालाई साथ दिएका थिए। १४ औं महाधिवेशनमा मौन बसेर पौडेलले पनि देउवालाई साथ दिएको चर्चा त्यसबेला हुन्थ्यो।

सभापति देउवाले राष्ट्रपति उम्मेदवारका रूपमा पार्टीमा आफू र रामचन्द्र पौडेलको नाम लिएको सिटौला बताउँछन्।

‘सभापतिज्यूले भ्रातृ संस्था पूर्णतालगायत विभिन्न विषयमा छलफल गर्न बैठक बोलाउनुभएको थियो। प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कांग्रेस विपक्षी दल हुन्छ/हुँदैनजस्ता कुरा पनि भएका थिए,’ सिटौलाले भने, ‘कुराकानीकै क्रममा प्रधानमन्त्री प्रचण्डसँग हालै भएका भेटबारे उहाँले कुरा राख्नुभयो। राष्ट्रपतिमा हामीले उम्मेदवारी दिने हो, रामचन्द्रजी र सिटौलाजीको नाम आएको छ भन्नुभयो।’

सभापति देउवाले राष्ट्रपति उम्मेदवार कसलाई बनाउने भन्ने पार्टीमा छलफलका लागि पौडेल र सिटौलाको नाम राखेका भने होइनन्।

‘सभापतिजीले मेरो र रामचन्द्रजीको नाम भन्नुभयो। उहाँले नाम राख्नुभयो त्यो विषयमा थप छलफल नै भएन,’ सिटौलाले भने, ‘सभापतिले मनमा लागेको कुरा भन्नुभएको हो।’

राष्ट्रपति निर्वाचनको मिति निर्वाचन आयोगले तोक्ने र कार्यतालिका सार्वजनिक गरेपछि मात्रै पार्टीले राष्ट्रपति उम्मेदवार तोक्ने सिटौला बताउँछन्। कांग्रेसले यही माघ १५ गतेदेखि केन्द्रीय समिति बैठक राखेको छ, उक्त बैठकमा चुनावी समीक्षाका साथै राष्ट्रपति निर्वाचन लगायतबारे पनि कुरा उठ्ने सम्भावना छ।

सभापति देउवा पक्षका नेताहरू भने पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउनुपर्नेमा छन्। देउवा संसदीय दल नेता उठ्दा पौडेल प्रस्तावक बनेको र त्यसबेला राष्ट्रपतिमा पौडेललाई अघि सार्ने ‘बचन’ दिइएको देउवा पक्षका एक नेताको दाबी छ।

स्रोतका अनुसार सिटौलाले आफूलाई पार्टीले उम्मेदवारका रूपमा प्रस्तुत गरेमा प्रधानमन्त्री प्रचण्डसँग संवाद गरेर परिणाम हात पार्न सक्ने बताउँदै आएका छन्। राष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा प्रदेश सभा सदस्यहरू मतदाता हुन्छन्। कांग्रेसले आफूहरू सबैभन्दा ठूलो दल भएको र मतभार पनि धेरै भएको तथा प्रधानमन्त्रीलाई विश्वासको मत पनि दिएकोले माओवादीले आफूहरूलाई सहयोग गर्नुपर्ने बताउँदै आएको छ। सेतोपाटी

२०७९ माघ १०, मंगलवार प्रकाशित 1 Minute 162 Views

ताजा समाचार