कचनकवल । दक्षिणी झापाको कचनकवलमा प्रेमप्रेमिका एउटै रुखमा भुण्डिएको अवस्थामा मृत फेला परेका छन् । गत साउनमा तीनजना युवती सामूहिक रुपमा एउटै रुखमा झुण्डिएर आत्महत्या गरेको घटना सेलाउन नपाउँदै कचनकवल गाउँपालिका फेरि यस्तो दर्दनाक घटना घटेको स्थानीयबासी बताउँछन् ।
कचनकवल-४ खुट्टामुनि निवासी २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशी एउटै रुखमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

कचनकवल– ४ स्थित एभरेष्ट टी गार्डेन भित्र रहेको रुखमा एउटै कपडाले पासो लगाएर दुवै जनाले आत्महत्या गरेको पाइएको छ । अहिले घटनास्थलमा प्रहरी कार्यालय झापाबाटै टोली घटाइएको छ । घटनाको बारेमा प्रहरीले अनुसंन्धान गरेपछि मात्र थप कुरा बाहिर आउने डीएसपी पाठकले बताए ।
यता मृतक राजेशका काका रघुनन्दन राजवंशीका अनुसार केटी पक्षकै दबाबका कारण दुवै जनाले आत्महत्याको बाटो रोज्नु परेको आरोप लगाएका छन् ।
करिब ३ महिना अघि दुवै जनाले भागेर विवाह गरेका थिए । केटा पक्षले भागी विवाहलाई स्विकारे गरेपनि केटी पक्षले त्यसलाई अस्विकार गरेको रघुनन्दनले बताए । केटीको बुबाले प्रहरीमा केटाविरुद्ध मुद्दा हालेका थिए । प्रहरीमा मुद्दा परेपछि केटी पक्षले केटा पक्षसँग साढे ६ लाख रुपैयाँ लिएर मुद्दा मिलाएको आरोप लगाउँदै उनले भने, ‘मुद्दा पश्चात दुवै जना आआफनै घरमा बसेका थिए, उनीहरुसँगै बाच्न नपाएपछि मृत्युलाई रोजे ।’
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



