२०८३ जेष्ठ २१ बिहीबार

गलत तत्त्वको सञ्जाल तोड्न कर्मचारीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्त्वको सञ्जाल तोड्न कर्मचारीलाई निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले बुधबार सरुवा भएका सरकारी अधिकारीलाई सो निर्देशन दिएका हुन् ।

उनले नागरिकमा सरकारको व्यवहारिक अनुभूत गराउने गरी कानुनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्न समेत कर्मचारीहरूलाई निर्देशन दिए ।

गृहमन्त्री लामिछानेले भने, ‘नागरिकमा सरकारको व्यवहारिक अनुभूत गराउने गरी कानुनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्नुस्। सरकारले जनतामा तत्काल आशा जगाउन सक्नुपर्छ। आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्त्वको सञ्जाल तोड्नुस्, तिनका सहयोगी बन्ने होइन।’

उनले सेवा प्रवाहमा तत्कालै सुधारका योजना बनाएर लागू गर्न समेत निर्देशन दिएका छन् ।  ‘सेवा प्रवाहमा तत्काल सुधार, गुण्डागर्दी, तस्करी, राजस्व चुहावट र प्राकृतिक स्रोतको दोहन नियन्त्रण, सामाजिक सद्भाव अभिवृद्धि, विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणलगायत क्षेत्रमा तत्कालै सुधारका योजना बनाएर लागू गर्नुस्’ गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लामिछानेले भने ।

गृहमन्त्री लामिछानेले कर्मचारीहरू राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा पर्न नहुने समेत बताए । ‘आज्ञापालक होइन, सृजनशील प्रशासक बन्नुस्। नागरिकबाट मान सम्मान खोज्ने होइन, उनीहरूलाई सेवा गर्नुस्। औपचारिक कार्यक्रममा धेरै समय बर्बाद नगर्नुस्। जिम्मेवारी दिँदा नै ‘सक्दिन’ भन्नुस्, लिएपछि नभाग्नुस्।’

उनले अध्यागमनका समस्या समाधानका योजना ल्याउन समेत निर्देशन दिए ।  कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सुरक्षा र सेवा प्रवाहमा तत्कालै सुधार गर्न निर्देशन दिए । उनले स्थानीय सरकारसँग समन्वय गरी समयमै निर्णय र रिपोर्टिङ गर्न समेत कर्मचारीहरूलाई आग्रह गरे ।

गृहमन्त्रालयले अध्यागमन विभागका महानिर्देशक, निर्देशक, अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालय  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृहमन्त्रालय र केही जिल्ला प्रशासन कार्यालयमा चैत्र ६ गते उपसचिव र सहसचिव गरी २२ जनाको सरुवा गरेको थियो।

२०८० चैत्र ७, बुधबार प्रकाशित 0 Minutes 284 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।