२०८३ जेष्ठ २१ बिहीबार

कांग्रेसले भन्यो- आउँदो बैठकमा रविमाथि छानबिन गर्न समिति गठन होस्

७ चैत, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारीको रकम हिनामिना प्रकरणमा छानबिन गर्न पुनः माग गरेको छ । आउँदो सदनको बैठकबाट छानविन समिति गठनको घोषणा गर्नुपर्ने कांग्रेसको माग छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले रवि लामिछानेले सहकारीको रकम हिनामिना गरेको प्रमाण छैन भन्ने प्रधानमन्त्री र प्रमाण छ भन्ने हामी प्रतिपक्ष भएकाले यसको छिनोफानो गर्न समिति गठन गर्नुपर्ने बताइन् ।

अन्यथा संसद अवरुद्ध हुने संकेत गर्दै उनले भनिन्, ‘आउँदो सदनमा सरकार पक्षले समिति बनाउन मानेन भने यो सदन हामीले होइन, उहाँहरुलाई चाहिएको रहेनछ, उहाँहरुलाई जनताको काम चाहिएको छैन भन्ने बुझ्ने छौं ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारको संसद बैठकमा रवि लामिछानेविरुद्ध प्रमाण नभएको ब्रिफिङ प्रहरीले गरेको जानकारी गराएका थिए ।

जीबी राई समूहले सञ्चालन गरेका सहकारी संस्थाहरुमा भएको अनियमिततालाई लिएर लामिछानेमाथि पनि प्रश्न उठ्दै आएको छ । पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुपि्रम लगायतका सहकारीमा बचतकर्ताले जम्मा गरेको करोडौं रकम अनियमितता गर्दै ग्यालेक्सी टीभीमा समेत खर्च गरेको पाइएको छ ।

राजनीतिमा आउनुअघि ग्यालेक्सी टीभीको प्रबन्ध निर्देशक रहेका रवि लामिछानेका नाममा समेत रकम निकालेको देखिएपछि उनमाथि निरन्तर प्रश्न उठ्दै आएको छ । कांग्रेसले यस विषयमा छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने र लामिछानेले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ ।

लामिछानेले भने आफूले रकम नलिएको र अनियमिततामा संलग्न नभएको जिकीर गर्दै आएका छन् । उनले आफूमाथि परेको सामान्य उजुरीमा संसदीय छानबिन र राजीनामा मागेर कांग्रेसले गलत अभ्यास सिकाउन खोजेको टिप्पणी गर्दै आएका छन् । अनलाइन खबरबाट

२०८० चैत्र ७, बुधबार प्रकाशित 0 Minutes 260 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।