
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. मेचीनगर-९ ले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा स्वास्थ्य र शिक्षा क्षेत्रका सहयोगीहरुलाई सम्मान गरेको छ । वार्षिकोत्सवको अवसरमा शनिबार कार्यालयमा आयोजित बिभिन्न कार्यक्रममा सहयोग गर्ने संघसंस्था तथा व्यक्तिलाई सम्मान गरिएको हो ।
वार्षिकोत्सव कार्यक्रममा संस्थाले निशा फार्मेसी मेचीनगर-८ का राम मगर, हरि हलेसी मेडिकल हल मेचीनगर-९, आदर्श माध्यमिक विद्यालय मेचीनगर-८ लाई सम्मान गरेको छ । यस्तै, उत्कृष्ट कर्मचारीको रुपमा निरु माझी, उत्कृष्ट बजार प्रतिनिधिका रुपमा खेमकुमारी (सुजता) श्रेष्ठलाई सम्मान गरेको छ । यस्तै, उच्च शिक्षाका लागि अमेरिका जान लागेका कर्मचारी निशाङ राईलाई प्रशंसा पत्रले सम्मान तथा विदाइ गरिएको छ ।

बिर्तामोड नगरपालिकाका सहकारी प्रमुख अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर बचत तथा ऋण सहकारी संस्था सदस्य शिवराज पोखरेल, पत्रकार झुलन रेग्मीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वार्षिकोत्सवको अवसर पारेर सहकारी संस्थाले निःशुल्क कोचिङ कक्षासहित निःशुल्क स्वास्थ्य परीक्षण शिविर, ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले धुलाबारी माध्यमिक विद्यालय, कवि शिरोमणि मावि र संस्थाका सेयर सदस्यहरुको छोराछोरीहरुलाई प्राथमिकतामा राखी कोचिङ कक्षा सञ्चालन गरिरहेको संस्थाका व्यवस्थापक सरोज मेहराले जानकारी दिए ।
कोचिङ कक्षामा ४० विद्यार्थीको सहभागिता रहेको छ । गणित र अंग्रेजी विषयमा दुईवटा सेसन विभाजन गरी बिहान र बेलुका कक्षा सञ्चालन भइरहेको छ । गृहलक्ष्मी साकोसको सभाहलमा सञ्चालन भइरहेको कोचिङ कक्षा गणित विषय सुमन बाँस्तोलाले र अंग्रेजी विषय भीम किसानले अध्यापन गराइरहेका छन् ।
सहकारीले १५ औं वार्षिकोत्सवको अवसरमा बिर्तामोड सेवा केन्द्रमार्फत आश्रममा बस्ने ज्येष्ठ नागरिकलाई पोषण कार्यक्रमसहित सम्मान, इटाभट्टा सेवा केन्द्रमार्फत निःशुल्क स्वास्थ्य शिविर, गाडागल्ली सेवाकेन्द्र मार्फत बच्चा र गाइनो सम्बन्धी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको थियो ।
गृहलक्ष्मी सहकारी संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाकी उपाध्यक्ष रेणुका डाँगीले गरेकी थिइन् भने सञ्चालन संस्थाका सदस्य राजु धिमालले गरेका थिए ।