
काँकरभिट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले यातायात क्षेत्रले यात्रु वर्गलाई प्रवाह गर्ने सेवाको गुणस्तर समग्रमा अझै उस्तै रहेको बताएका छन् ।
महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोष काँकरभिट्टाको २९ औं वार्षिक साधारण सभाको आइतवार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

“हिजो र आजमा कतिपय पक्षको अवस्था उस्तै छ, संस्थाले जुन गति लिनुपर्ने हो, त्यो लिईरहेको छैन, सेवाको गुणस्तर बढ्न सकिरहेको छैन”, कोषका पूर्वसचिव समेत रहेका बुढाथोकीले भने, “भावी दिनमा क्रमशः सुधार गर्दै जानुको विकल्प छैन ।”
स्थानीय क्षेत्रको यातायात व्यवस्थापनलाई अनुशासित, व्यवस्थित र मर्यादित बनाउन नगर कार्यपालिकाले छुट्टै कानून निर्माण गरेको जानकारी गराउँदै उनले साझा हितको निर्णय कार्यान्वयनमा सबैपक्षको साथ र सहयोग आवश्यक रहेको बताए ।
काँकरभिट्टा बजारको अस्तव्यस्ततालाई ख्याल गर्दै पार्किङस्थल र ग्यारेजको रुपमा प्रयोग गर्नेगरी प्यारिभिट्टामा बस पार्क व्यवस्थित गर्न खोजिएको स्पष्ट पार्दै पूर्व प्रदेश सांसदसमेत रहेका बुढाथोकीले अफवाहको पछि नलाग्नसमेत आग्रह गरे ।
“काँकरभिट्टासँग सिंगो देशको परिचय र प्रतिष्ठा गाँसिएको छ, आगन्तुकले यहाँ टेक्दै र देख्दै गर्दा देश बुझ्छन्, महसुस गर्छन्”, सभाको उद्घाटन सत्रमा उनले भने, “त्यसैले हाम्रो नगर के गर्दा व्यवस्थित हुन्छ, त्यतातिर ध्यान दिनुपर्छ ।”
त्यस्तै, कोशी प्रदेशका पूर्व सांसद एवं पूर्वमेची बस व्यवसायी प्रालिका संरक्षक श्रीप्रसाद मैनालीले सरकारले व्यवसायी संघलाई प्रालिमा रुपान्तरण गर्दा अधिकांश व्यवसायीहरु पलायन हुुनुपरेको बताए ।
“सरकारको कमजोरीले धेरै मजदूरको जागिर गयो, संगठनका तर्फबाट बारम्बार यो विषय उठिरहेको छ”, उनले भने, “व्यवसायीमैत्री कानून नहुँदा समस्या भइरहेको छ, हामी समाधानका लागि पहल गरिरहेका छौं ।”
यस्तै, मेचीनगर ६ का वडा अध्यक्ष ललित तामाङले कोष स्थापनापछि व्यवस्थित काउण्टर बनाएर टिकट काट्ने परिपाटि विकास भएसँगै यात्रु तानातानको अवस्थामा केही सुधार आएको बताए ।
त्यसैगरी, बस टर्मिनल, बस पार्क तथा यातायात व्यवस्थापन समिति मेचीनगरका अध्यक्ष डिल्लीराम घिमिरेले राज्यले मापदण्ड तोक्न नसक्दा र सडकको अवस्था ख्याल नगरी सवारीसाधन थपिईरहँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भइरहेको बताए ।
भद्रगोल परिस्थितिलाई साम्य पार्न प्यारिभिट्टामा थालिएको पार्किङ व्यवस्थापनको काम ९९ प्रतिशत पूरा भएको जानकारी गराउँदै उनले पार्किङका लागि प्यारिभिट्टामा बस लैजाँदा काँकरभिट्टा बजार कमजोर नहुने दाबी गरे ।
त्यसक्रममा पूर्वमेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषका पूर्वअध्यक्ष विष्णु गौतम, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष गोपाल श्रेष्ठ, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन मेचीनगरका अध्यक्ष राजकुमार सुवेदीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा कोषका संस्थापक अध्यक्ष रामानन्दन साह, संस्थापक शिव बराल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष राजेन्द्र रिजाल, पूर्व नेपाल यातायात व्यवसाय प्रालिका अध्यक्ष केशव गिरी, ई–रिक्सा टेम्पो यातायात प्रालि मेचीनगरका अध्यक्ष गणेश चौहानलगायतको आतिथ्यता थियो ।
सभामा कोषका अध्यक्ष मोहन रिजालले संस्थाको परिचय, सदस्यसँग कोषको सहभागिता, कोषको अन्य संघ संस्थासँग सहभागितालगायतका विषय समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषका उपाध्यक्ष बलिमान गुरुङले स्वागत गरेको सभाको उद्घाटन सत्रको सञ्चालन सदस्य दुर्गा खड्काले गरेका थिए ।