२०८३ जेष्ठ २१ बिहीबार

विमान दुर्घटना : बिहानैदेखि थालियो उद्धारकार्य, सीडीओ भन्छन्– कठिन छ

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धारकार्यलाई आज बिहानैदेखि निरन्तरता दिइएको छ । बिहान करिब साढे ६ बजदेखि नै उद्धारकार्य थालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार विमान निकै साँघुरो खोचमा खसेकाले उद्धारकार्यमा समस्या भएको छ । “निकै जटिल छ । एकदमै साँघुरो खोच छ । त्यसैले उद्धारमा कठिनाइ भएको छ,” प्रजिअ केसीले बाह्रखरीसित भने, “हिजो पनि रातिसम्म खोज्यौँ । अँध्यारो भयो । त्यसपछि खोज्न मुस्किल भएकाले रोकिएको थियो ।”

उनका अनुसार हालसम्म ६६ जनाको शव फेलापरेको छ । “६६ शव फेलापरेको छ । ६ जना मिसिङ छन्,” उनले भने ।

यता, नेपाल नागरिक उड्डयन प्राधिकरणले निकालेको विज्ञप्तिमा भने ६८ शव फेलापरिसकेको उल्लेख छ ।

हिजो बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो । हिजो दिनभरि नै उद्धारकार्य गरिएको थियो । रात परेपछि उद्धारकार्यमा कठिनाइ भएकाले आज बिहानदेखि थाल्ने गरी स्थगित गरिएको थियो ।

उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए ।

२०७९ माघ २, सोमबार प्रकाशित 0 Minutes 486 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।