बाहुनडाँगीले जित्यो जिल्लास्तरीय बि डिभिजन कप

मेचीनगर, पुस १४ । झापाको मेचीनगरस्थित काँकरभिट्टा माविको खेलमैदानमा सम्पन्न जिल्ला कप बि डिभिजन तथा प्रधानमन्त्री कपको छनोट प्रतियोगिताको उपाधि बाहुनडाँगी युवा क्लबले जितेको छ ।

आज सम्पन्न फाइनल खेलमा बाहुनडाँगीले भद्रपुर क्रिकेट क्लबलाई हराउँदै उपाधि रक्षा गरेको हो । टस जितेर पहिले फिल्डिङ रोजेको बाहुनडाँगीले भद्रपुरलाई ८९ रनले हराएको हो ।

प्रतियोगितामा बाहुनडाँगीले भद्रपुरलाई ३३ दशमलव २ ओभरमा अलआउट हुँदै २६३ रनको लक्ष्य दिएको थियो । भद्रपुरले २८ दशमलव ३ ओभरमा अलआउट हुँदै १७३ रन मात्र जोड्न सक्यो ।

बाहुनडाँगीका लागि विपिन कार्कीले ६० बलमा ८८ रन, विराट डाँगीले ५९ बलमा ७३ रन र रिन्कुस राईले २१ बलमा २९ रन जोडेका थिए । उसका लागि अभ्यास तिम्सिना र ऋतु दाहालले ३/३, प्रेम सिंहले २ कमल खत्रीले १ विकेट लिएका थिए ।

भद्रपुरका लागि अंकित सुवेदीले ३९ बलमा ५६ रन, सुमन भारतीले ६७ बलमा ५४ रनको योगदान दिएका थिए । भद्रपुरका सिद्धार्थ राजवंशीले ३ तथा विपिन महतो र प्रवेश कामतीले २/२ विकेट लिए ।

प्रतियोगितामा उत्कृष्ट फिल्डर दिपु भूजेल, उत्कृष्ट बलर प्रेम सिंह, उत्कृष्ट ब्याट्सम्यान विपिन कार्की भए । प्रतियोगिताका सर्वोकृष्ट खेलाडी भद्रपुरका अंकित सुवेदी भए ।

प्रतियोगितका विजेता तथा उपविजेता खेलाडीलाई आयोजक झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविण थापा, कार्यक्रममा प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल खेलकुद पत्रकार मञ्च झापाका निवर्तमान अध्यक्ष हिमाल खरेल, मेचीनगर २ का वडा अध्यक्ष दिपक बराल, ६ का वडा अध्यक्ष ललित तामाङ, संघका कोशी प्रदेश सचिव टिकाराम पुरी, लाक्पा लामालगायतले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

आउँदै गरेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितामा झापाका १२ वटा क्लबले सहभागिता जनाएका थिए ।

प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडी सम्मिलित झापा जिल्लाको टिम बनाइने आयोजक झापा जिल्ला क्रिकेट संघले जनाएको छ ।

२०८० पुष १४, शनिबार प्रकाशित 0 Minutes 357 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

https://www.cotillon-de-fete.fr/