२०८१ बैशाख ८ शनिबार

पितृको सम्झनामा शतबीज छरेर मनाइयो बालाचतुर्दशी पर्व

अर्जुनधारा । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै झापाको अर्जुनधारा, पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदैछ ।

आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन अर्जुनधारा आउने गरेका छन् ।

छिमेकी राष्ट्र भारत र देशका विभिन्न भागबाट आएका श्रद्धालु भक्तजनको मार्गशीर्ष कृष्ण त्रयोदेशीको बिहानैदेखि अर्जुनधारा क्षेत्रमा भीड लाग्ने गर्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि भक्तजनको धाममा भीड लाग्ने गरेको छ । धाम क्षेत्रमा आइतबार बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति रहने गरी व्यवस्था मिलाइएको थियो ।
शतबीज भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ । हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार शतबीज भन्नाले धानका सय गेडा छर्नुपर्ने अरु अन्न होइन भन्नुहुन्छ धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम ।

“भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ”–उहाँले भन्नुभयो ।
चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड महादीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् ।

बाला चतुर्दशीसँग जोडिएको कथा
यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।

त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत् उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।

आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो ।

२०८० मंसिर २५, सोमबार प्रकाशित 1 Minute 95 Views

ताजा समाचार