
मेचीनगर । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डको निर्माण कार्य धमाधम भइरहेको छ । झापाको बाहुनडाँगीदेखि सुनसरीस्थित धरानको सर्दुखोलासम्मको एकसय ३१ किलोमिटर सडकखण्डमा पर्ने पुल निर्माण कार्य चलिरहेको हो ।
सो खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटा निर्माण भएका छन् । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी अधिकांश पुलको समेत मूल संरचनाको काम सकिएको छ । उनले निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर दूरीसम्मका रहेको जानकारी दिए ।
हालसम्म मोरङ, सुनसरी, झापा र इलामका खोलाका पुलको निर्माण सकिएको छ । डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयंग, तेली, बिजुवा, बुकुवा, रतुवालगायतका खोलाको पुल निर्माण सम्पन्न भएको उनले बताए ।
यसमध्ये सबैभन्दा लामो खुदुम खोलाको चार सय मिटर, तेली खोलाको तीन सय मिटर र सबैभन्दा छोटो डाले र बुकवा खोलाको ४० मिटर दूरीका पुल निर्माण भएका छन् ।
उनले कतिपय पुलको मूल संरचना सकिए पनि रूख कटान अनुमति लिने झन्झटिलो प्रक्रियाले एप्रोच सडक निर्माण गर्न समस्या भएको बताए । उनले भने, ‘सबै पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ, तर बजेट अभावमा कामले गति लिन सकेको छैन ।’ उनले १० अर्ब १३ करोड लागतमा एक सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइए पनि सम्झौता गरिएका अधिकांश योजनाको भुक्तानी गर्न अझै तीन अर्ब ५० करोड रुपैयाँ बाँकी रहेको बताए ।
सरकारले चालु आर्थिक वर्षमा ५० करोड मात्र सो राजमार्गका लागि बजेट विनियोजन गरेको छ । सो बजेटबमोजिमको निर्माण कार्य सकिएकाले हाल सरकारलाई थप बजेटका लागि पत्र पठाएर पहल गरिरहेको उनले बताए ।
