
(प्रकाश उप्रेती) मेचीनगर । सार्वजनिक मन्दिरलाई चौतर्फी विकास गर्ने उद्देश्यले झापाको मेचीनगर-१२ सहरेडाँगीस्थित श्री पञ्चावटी वीरभद्र महाकाली धाम मन्दिरमा महापुराण लगाइने भएको छ ।आगामी मङ्सिर १५ गतेदेखि चर्चित भागवत वाचक राधिका दासीको प्रमुख कथा वाचकत्वमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धन-धान्यञ्चल महापुराण लगाइने भएको हो ।
मन्दिरको चौतर्फी विकासका लागि स्थानीय धार्मिक एवम् सामाजिक व्यक्तिहरूको भेलाले तिलकप्रसाद गिरीको अध्यक्षतामा २१ वटा उपसमिति रहने गरी महापुराण व्यवस्थापन समिति गठन भएको छ । समितिको उपसंयोजकमा भक्त खवास, रमेश भट्टराई, बोलप्रसाद कोइराला र निर्मला भण्डारी चयन भएका छन् । सचिवमा प्रेमराज घिमिरे र कोषाध्यक्षमा राजन चिमरियासहित ५०१ सदस्यीय महापुराण मूल आयोजक समिति रहेको गठन भएको छ ।

उक्त मन्दिरलाई धाम र सामाजिक कर्मका लागि गर्न तनमन र वचनले आर्थिक तथा जिन्सी सहयोग गर्ने धर्म अनुरागीलाई चर्चित कथा वाचीका राधिका दासीको बाहुलीबाट सम्मान एवम् अभिनन्दित गरिने कोषाध्यक्ष राजन चिमरियाले बताए । महायज्ञबाट १ करोड बढीको सहयोग जुटाउने अपेक्षा गरिएको महापुराण मूल व्यवस्थापन समितिका सचिव प्रेमराज घिमिरेले जानकारी दिए । हाल प्रवेशद्वार, पण्डाल निर्माण, मन्दिर रंगरोगन तथा प्रचारलगायतका व्यवस्थापनको काम तीव्र बनाइएको समितिले जनाएको छ ।
स्थानीय मेचीनगर-१२ का रवीन्द्र-गङ्गादेवी र लक्ष्मी प्रसाईँले २०७२ सालमा दान गरेको २ कट्ठा ३ धुरसहित मन्दिर निर्माण गरिदिएर समाजलाई हस्तान्तरण गरेका थिए । पुराणबाट सङ्कलित आर्थिक रकमले मन्दिरको जग्गा घेराबारा, सामुदायिक भवन निर्माण, अक्षयकोष स्थापना र ज्येष्ठ नागरिक चौतारी निर्माण गर्ने उद्देश्य रहेको महापुराण मूल आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए ।
विकास र संरक्षणको पर्खाइमा रहेको उक्त श्री पञ्चावटी वीरभद्र महाकाली धाम मन्दिरको चौतर्फी विकासका लागी महापुराण आयोजना गरिएको समितिका अध्यक्ष गिरीले बताए ।
२०७२ सालमा स्थानीयले दान गरेको जमिनसँगै स्थापना गरेको मन्दिरको भौतिक पूर्वाधार विकासका लागि सप्ताह महायज्ञ पुराणको आयोजना गरिने भएपछि मन्दिरको मुहार फेरिने भएको हो ।
समाजको विकास क्रमसँगै स्थानीयस्तरमा सार्वजनिक मठ-मन्दिरको आवश्यकता महसुस भएपछि स्थानीय समाजसेवी रवीन्द्र प्रसाईँले मन्दिरका लागि प्रदान गरेका थिए । मन्दिरको २ कट्ठा ३ धुर जमिनबाट दानवीरले दान गरेपछि हाल ४ कट्ठा जमिन मन्दिरको सम्पत्तिको रुपमा रहेको मन्दिर सञ्चालक समितिका अध्यक्ष इन्द्रमणि प्रसाईँले जानकारी दिए ।
जमिन भए पनि मन्दिरको चौतर्फी भौतिक पूर्वाधार विकास भने हुन सकेको थिएन । उक्त मन्दिरको पूर्वाधार विकास तथा संरक्षणका लागि चर्चित कथा बाचक राधिका दासीको प्रमुख कथा वाचकत्वमा लगाइने महापुराणका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेको अध्यक्ष प्रसाईँले बताए ।
श्री पञ्चावटी वीरभद्र महाकाली धाम मन्दिर कसरी निर्माण भयो ?
रवीन्द्र प्रसाईँ र उनका परिवार धार्मिक एवम् सामाजिक व्यक्तित्वका रुपमा परिचित छन् । प्रसाईँ परिवारका ७ भाइ छोराहरूको सामूहिक इच्छाले मन्दिर निर्माणार्थ २०७२ सालमा २ कट्टा ३ धुर जमिन सामा जलाई दान गरेका थिए । केही समयपछि १७ लाखको खर्चमा मन्दिर पनि आफैले बनाइदिए ।
स्व.यशोदा-अभिचन्द्र प्रसाईँका साइला छोरा रवीन्द्र हुन् । जेठा स्व.गजेन्द्र, माइला-बद्रीप्रसाद, काइँला-हरेन्द्र, अन्तरे-स्व.जयन्द्र र कान्छा रामचन्द्र प्रसाईँ रहेका छन् ।
मन्दिर बनाइदिएपछि आफै पुजारी बनेर मन्दिरलाई सम्हाल्दै आएको ८९ वर्षका रवीन्द्र प्रसाईँले बताए । म र मेरो परिवारले समाजका लागि दिएको यो योगदान समाजले नै बुझ्ने वृद्ध रबिन्द्रको भनाई छ। उमेरले पाको भएपनी समाजमा केही गरौँ भन्ने इच्छाशक्ति भने रहिरहेको छ, दायाँ हातले लट्ठी समात्दै उनले भने अझै पनि यो मन्दिरका लागि परिआए सहयोग गर्नेछौँ ।झ स्वास्थ्यमा तन्दुरुस्त रहेका वृद्ध रबिन्द्रलाई केही समयअघि पेट दुख्ने समस्याले सतायो ।
१९९२ साल चैत्र २८ गते जन्मिनु भएका रबिन्द्रको स्वास्थ्यमा असर परेयता खच्केको मन्दिरका अध्यक्ष रहेका छोरा इन्द्रमणिले जानकारी दिए । रवीन्द्रका ४ छोराहरू मोहन, मुकुन्द, इन्द्रमणि, प्रकाश छोरा र शारदा, सुशील, सविता, कल्पना र सृजना छोरीहरू छन् । हाल पनि रवीन्द्र आफैले मन्दिरमा पूजा अर्चना गर्दै आएका छन् । केही व्यक्तिले मन्दिरको चौतर्फी विकासका लागि जग्गा दान समेत गरेका छन् ।