२०८१ बैशाख १४ शुक्रबार

झापामा दिनहुँ आगलागीका घटना, दैनिक लाखौं रुपैयाँको धनमाल खरानी

झापा । झापामा आगलागीका घटना निरन्तर हुँदा दैनिक लाखौं रुपैयाँको धनमाल खरानी हुने गरेको छ । शुक्रबार मात्र कचनकवलमा भएको आगलागीबाट दुईवटा घर जलेर नष्ट भएका छन्।

शुक्रबार बिहान ८.३० बजे कचनकवल ३ का मनिर मिया र चैतु मियाको घरमा आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति भएको गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले जानकारी दिए।

आगलागीबाट २ लाख ४० हजार नगद, एउटा मोटरसाइकल, २ तोला सुन, चाँदी, खाद्यान्न, लत्ताकपडालगायत जलेर नष्ट भएको अध्यक्ष राजवंशीले बताए।

स्थानीयवासी र भद्रपुर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए। विद्युत सर्ट भइ आगलागी भएको जनाइएको छ।

बिहीबार पनि झापाको दुई ठाउँमा आगलागीका घटना भएका थिए। दिउँसो २.३० बजे झापा गाउँपालिका वडा नं २ सडकवाडीमा राम हेमरमको एक तले कच्चीघरमा बिजुली सर्ट भइ आगलागी हुँदा लत्ताकपडा, अन्नपात, काठ र अन्य सरसामान गरी ३ लाख ६० हजार बराबरको क्षति भएको थियो।

त्यस्तै, बिहीबार दिउँसो १.१० बजे बुद्धशान्ति ३ गैरीगाउँ सुब्बा टोलमा मनबहादुर आङदम्बेको घरनजिकै खेतमा राखिएको परालको कुन्यु र धानको कुन्युमा आगलागी हुँदा एक लाख पचास हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। देशसञ्चारबाट

२०८० मंसिर २, शनिबार प्रकाशित 0 Minutes 159 Views

ताजा समाचार