जन–संसद्को पद हस्तान्तरण तथा सम्मान कार्यक्रम

काँकरभिट्टा / विगत १५ वर्षदेखि काँकरभिट्टाबाट प्रकाशित हुँदै आएको जन–संसद् दैनिकको सञ्चालक समितिको पद हस्तान्तरण तथा सम्मान कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

भानु साहित्यिक प्रतिष्ठानको सभाहलमा आयोजित सो कार्यक्रमको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले जनताको सूचना प्राप्तिको हकलाई अक्षरस पालना गर्न पत्रिकाले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

‘पत्रिका सूचनाको दस्तावेज हो, सूचनाको मर्म र भावनालाई आत्मसात् गर्न जरुरी छ’ उनले भने–‘पाठकलाई सदैव सजग र जागरुक बनाउने दायित्व मिडियाको हो, त्यसैले, समाचार सामग्रीलाई अझ व्यवस्थित र विश्वसनीय बनाउन आवश्यक छ ।’

जन–संसद् दैनिकका संस्थापक समेत रहेका उनले डेढ दशकदेखि नियमित रुपमा प्रकाशित हुँदै आएको पत्रिकाले नागरिकलाई सुसूचित गराउन भावी दिनमा अझ जिम्मेवार र संवेदशील बन्नुपर्नेमा जोड दिए ।

सो अवसरमा पत्रिकाका संस्थापक अध्यक्ष कृष्णप्रसाद उप्रेतीले नव निर्वाचित अध्यक्ष केशवराज पाण्डेलाई संस्थाको माइन्युट हस्तान्तरण गरेका थिए ।

पद हस्तान्तरण गर्दै संस्थापक अध्यक्ष उप्रेतीले जनताको संसद् अपहरणमा परेको विषम परिस्थितिमा संसद्को पुर्नवहालीका लागि दबाव सिर्जना गर्ने उद्देश्यले पत्रिकाले प्रकाशन यात्रा सुरु गरेको स्मरण गराउँदै १५ वर्षे यात्राका क्रममा विभिन्न कालखण्डको सामना गर्दै निरन्तर आवाज विहीनहरुको अभिभावकत्व बहन गर्न खेलेको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।

त्यस्तै, पदभार ग्रहण गर्दै नव निर्वाचित अध्यक्ष पाण्डेले पत्रकारिताको मूल्य मान्यतालाई स्थापित गर्न र पत्रिकालाई स्वतन्त्र एवं निष्पक्ष बनाउन सदैव सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । पाण्डेले निश्पक्ष र निडरताका साथ समाजमा भए÷गरेका सकारात्मक र नकारात्मक दुवै पक्षलाई मिहिन ढंगबाट केलाएर सूचना सम्प्रेषण गर्दै आम नागरिकको सूचनाको अधिकारलाई सम्बोधन गर्न सम्पादन पक्षलाई स्वतन्त्रता कायम राख्न आग्रह गरे ।

त्यसक्रममा नेपाली काँग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकीले भने–‘जुनबेला मुलुक संसद् विहीन थियो, संसद् सडकमा भएका बेला नेपालको पूर्वी सीमा झापाको मेचीनगरबाट जन–संसद् जन्मिएको हो, अहिले आम नागरिकको आवाज बनेको छ ।’

‘पत्रिकालाई अझ परिस्कृत र परिमार्जित गर्दै ग्रामिण भेगलाई समेत समेटेर सूचना प्रवाह गर्न आवश्यक छ’ उनले भने–‘जन–संसद्ले उठान गरेका विषयवस्तुमा निष्पक्षता कायम राखेकै कारण यो गरिमा अझ बढेर गएको छ, पत्रिकाको सबल पक्ष हो ।’

कार्यक्रममा समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङले सञ्चार संस्थाप्रति आम नागरिकको जनविश्वास गुम्न नदिन र समाचारजन्य सामग्रीलाई स्वतन्त्रतापूर्वक सम्प्रेषण गर्न अझ जिम्मेवार बन्न आग्रह गरे ।

त्यस्तै, अर्का वक्ता राप्रपाका मेचीनगर अध्यक्ष सुशील आचार्यले जन–संसद्ले प्रकाशन यात्राको वर्तमानमा आइपुग्दा आवाज विहीनको आवाजको प्रतिनिधित्व गर्दै आएको बताए ।

त्यसैगरी, लोकतन्त्र पोष्ट दैनिकका प्रधान सम्पादक झुलन रेग्मीले वर्तमानमा पत्रकारिता प्रविधिमैत्री र प्रतिष्पर्धात्मक बनेको विचार राख्दै जन–संसद्ले समयअनुकूल सूचनाको पहरेदारका रुपमा आफूलाई अझ सशक्त रुपमा उभ्याउनुमा जोड दिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले सूचना पाउने आम नागरिकको अधिकारलाई आत्मसात् गर्न आग्रह गरे । उनले प्रशासनले भए÷गरेका कार्यको सूचना सहतापूर्वक उपलब्ध गराउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा सशस्त्र प्रहरी नायव उपरीक्षक ज्ञानमणि पौडेल, प्रतिष्ठानका उपाध्यक्ष मेदनीप्रसाद खरेललगायतको आतिथ्यता थियो ।

सञ्चालक समितिका संस्थापक अध्यक्ष कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा स्वागत संस्थापक सदस्य विजय डालमिया र सञ्चालन सम्पादक मुक्ति पौडेलले गरेका थिए ।