२०८३ जेष्ठ २८ बिहीबार

एकै परिवारका चारको हत्या, ताला लगाएको आफ्नै घरभित्र शव

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–६ स्थित  मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक  छोरी मृतावस्थामा फेला परेका छन्।

मृतास्थामा फेला पर्नेमा छायानाथ रारा –६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज , ९ वर्षीया छोरी अप्सरा र  आठ महिनाका  छोरा रहर रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

उनले घटनाको खबर पाउनासाथ आज बिहान ११ बजे  घटनास्थलमा प्रहरी पुगेको बताए। घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ। हत्याको आशंका गरिएका चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगु ल्याइएको छ।

श्रीदेवी श्रीमान् वैदेशिक रोजगारीमा रहेका बताइएको छ। कसले के उद्देश्यले हत्या गर्‍यो  खुल्न सकेको छैन। घटनाको अनुसन्धान जारी रहेको प्रनाउ थापाले बताए।

प्रारम्भिक अनुसन्धानअनुसार  श्रीदेवी छोराछोरीसहित यही कात्तिक  ७ गते बिहान दशैँको टीका थाप्न सोही वडा स्थित कोटिल्ला माइती गाउँ गएकी थिइन। यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरुको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिइएको छ।

छिमेकीहरुले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए ।

१० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरुले फेरि श्रीदेवी माइती गए कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले आज बिहान १० बजेतिर ढोकाको ताला फोडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका जनाइएको छ।

२०८० कार्तिक १०, शुक्रबार प्रकाशित 0 Minutes 434 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।