झापा-२ मा एमालेका देवराज घिमिरे निर्वाचित

झापा । झापा क्षेत्र नम्बर-२ को प्रतिनिधिसभाको सदस्यमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई २२९७ मतले पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन् । घिमिरेले २७ हजार ७७० मत ल्याउँदा नेपालले २५ हजार ४८३ मत ल्याएका छन् ।

त्यस्तै सत्तारुढ गठबन्धनकाबाट माओवादी केन्द्रका हरि रानाले १३ हजार ७१४ मत ल्याएर तेस्रो भए । चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरी आए । उनको मत सङ्ख्या ८ हजार ४२४ हो । झापा २ मा ८४ हजार ५८९ मत खसेको थियो । त्यस्तै ४ सय अस्थायी मतदाताले पनि मतदान गरेका थिए । जसमध्ये ५ हजार ४९६ मत बदर भएको निर्वाचन अधिकृत केशवप्रसाद पन्तले जानकारी दिए ।