नेपालमा चीनको प्रत्यक्ष हस्तक्षेप !

आरबी शर्मा
पछिल्लो समय चीनले नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप गर्न थालेको छ । नेपालको राजनीतिमा बलात हस्तक्षेप गर्नेदेखि नेपालको अन्य देशसँगको कुटनीतिक सम्वन्ध गिजोल्ने, सीमा अतिक्रमण गर्ने र अन्तर्राष्ट्रिय स्थापित मान्यता विपरित अघोषित नाकाबन्दी गर्नेसम्मका हर्कत चीनले गरिरहेको छ ।

पछिल्लो पटक सन् ०१५ देखि सस्पेन्स फिल्म जसरी अघि बढिरहेको अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपीपी) बाट नेपालले हात झिकेपछि अप्रत्यासित रुपमा चीन प्रफुल्लित भयो । चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले एसपीपीमा नरहने नेपालको निणर्य प्रशंसायोग्य भएको भन्दै खुसी ब्यक्त गरेका थिए ।

उसो त नेपालको आन्तरिक मामिलामा चीनले अनावश्यक चासो राखेको यो पहिलो घटना भने होइन । चीनले प्रत्यक्ष-अप्रत्यक्ष रुपमा यस्ता मामिलामा प्रतिक्रिया जनाउने गरेको छ । एमसीसीलाई नेपालको संसदमा लैजाने विषयमा विवाद जारी रहेका बेला पनि चीनको विदेश मन्त्रालयका प्रवक्ता वेनबीनले नै त्यतिबेला अमेरिका ‘बलजफ्ती कूटनीति’ गरिरहेको भन्दै त्यसको विरोध गर्ने जनाएका थिए ।

चीनले नेपालको राजनीतिमा पनि नाङ्गो हस्तक्षेप गरिरहेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता गरी नेकपा वनाउनेदेखि केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतका शीर्ष नेतामा देखिएको तिक्ततालाई घटाउने, नेकपा फुटको संघारमा पुगेपछि त्यसलाई भरथेग गर्ने र फुट्न नदिनेसम्मका प्रकृयामा चीनको प्रत्यक्ष हस्तक्षेप रह्यो ।

नेकपालाई जोगाउन नेपालका लागि चिनियाँ राजदुत होउ यान्छिले त प्रयास गरिन् नै, उनी असफल हुँदै गएपछि चिनियाँ कम्युनिष्ट पार्टीका नेताको नेपाल भ्रमण र उनीहरुको कसरत नेपाली जनताले देखेकै हुन् । तर, सर्वोच्च अदालतले नै नेकपाको वैधानिक्तामा पूणर्विराम लगाई दिएपछि चीनको प्रयत्न असफल भएको थियो ।

चीनले नेपालको आन्तरिक र कुटनीतिक मामिलामा मात्रै होइन, सीमा क्षेत्रको भूमिमासमेत हस्तक्षेप गरिरहेको छ । करिब चार महिना अघि मात्रै गोरखाको चुमनुब्री गाउँपालिका-१ को रुइला नाकामा चीनले तारबार लगाएको विषय बाहिरिएको थियो । स्थानीयका अनुसार त्यहाँ चीनले दशगजामै तारवार र भौतिक संरचना बनाएको छ । यसअघि चुमनुब्री गाउँपालिका-७ छेकम्पारस्थित ङुइला नाकामा पनि चीनले तारबार लगाएको थियो । तर, पछि त्यसलाई हटाइयो ।

चीनले अन्तर्राष्ट्रिय स्थापित मान्यता विपरित नेपालसँगका ब्यापारिक नाकामा अवरोध गरिरहेको छ । तातोपानी र रसुवा नाकामा वर्षाँैदेखि सामान आयात निर्यातमा समस्या छ । कोरोनाको वहानामा नाकामा दुःख दिने काम भइरहेको ब्यापारीहरु गुनासो गर्छन् ।

दैनिक १ सय भन्दा बढी कन्टेनर आउने तातोपानी र रसुवा नाकाबाट अहिले मुस्किलले ५/७ ओटा कन्टेनर नेपाल आइरहेका छन् । महिनौँ दिनसम्म सामान बोकेका कन्टेनर बाटोमा अलपत्र परेपछि ब्यापारीका सामान चोरी हुने, नष्ट हुने र एउटा सिजनको लागि मगाइएको सामान सिजन समाप्त भएपछि प्राप्त हुँदा उनीहरुको विचल्ली भएको छ ।

यसरी नेपालको हरेक क्षेत्रमा चीनले नाङ्गो हस्तक्षेप गर्दा पनि राष्ट्रवादी भनिएका कम्युनिस्ट नेताहरुले कुनै प्रतिक्रिया नजनाउनु आश्चर्यपूण रहेको छ । यही अवस्था रहँदै गए भोलिका दिनमा चीनले अझै सशक्त ढंगले नेपालमा आफ्नो प्रभुत्व स्थापित गर्न सक्ने देखिन्छ ।

मेचीनगर