झापा १ : गठबन्धनका उम्मेद्वार जिताउन अपिल

मेचीनगर । लोकतान्त्रिक बाम गठबन्धन झापा क्षेत्र नं १ ले चुनावी प्रचारलाई व्यापक बनाउन सम्पर्क कार्यालय स्थापना धमाधम गरिरहेको छ ।

यसै क्रममा आइतबार झापा क्षेत्र नं १ अन्तर्गत पर्ने भद्रपुर–९ को लक्ष्मी चोक र मेचीनगर–१५ को विचार्नी चोकमा गठबन्धनको संयुक्त सम्पर्क कार्याल उद्घाटन गरिएको छ । दुवै वडाको सम्पर्क कार्यालय नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का साझा उम्मेद्वार विश्वप्रकाश शर्माले गरे । कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेद्वार शर्माले निर्वाचनलाई स्वच्छ प्रतिष्पर्धाको रुपमा लिनुपर्ने बताए ।

कार्यक्रममा प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङ, समानुपातिक उम्मेद्वार बालाजीत राई, प्रतिनिधि सभाका समानुपातिक उम्मेद्वार टेकबहादुर लिम्बू, तारा रुचाल, प्रदेश सभाका समानुपातिक उम्मेद्वार कालु मेचे, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोमा भट्टराईलगायतले गठबन्धनका साझा उम्मेद्वारलाई विजयी गराउन अपिल गरे ।

यस्तै, मेचीनगर–१५ को विचार्नी चोकमा भएको कार्यक्रममा प्रतिनिधि सभाका उम्मेद्वार शर्मा, प्रदेश ‘क’ का उम्मेद्वार तामाङले मतदाताको अमूल्य मतलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डेले मेचीनगर– १५ सँग आफ्नो आत्मीय सम्बन्ध रहेको बताए । उनले गठबन्धनका उम्मेद्वारलाई विजयी गराई संसद पठाउन अपिल पनि गरे ।

सोही वडाका बासिन्दासमेत रहेका नेता पाण्डेले विश्वप्रकाश शर्मा जस्ता नेता भविष्यमा प्रधानमन्त्री बन्न सक्ने क्षमता राख्ने भएकाले सबै मिलेर उहाँहरुलाई जिताउन आवश्यक रहेको बताए ।